अजय शाह
गौशाला (महोत्तरी), भदौ १२ गते । सीमावर्ती भारतसँग जोडिएको महोत्तरी पछिल्लो वर्षहरुमा लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको छ । महोत्तरीमा भारतीय सीमाक्षेत्रबाट लागुऔषध भित्रिने गरेको छ । महोत्तरीको लागुऔषधको ‘ट्राजिट प्वाइन्ट’कै रुपमा विकसित भइरहेको हुँदा सर्वत्र चिन्ता र चासो बढिरहेको छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको परम्परागत र आधुनिक लागु औषधजन्य बस्तुबाट पनि जिल्लामा लागुऔषध सेवनकर्ता तथा कारोबारीको अवस्था हेर्दा भयावह स्थिति देखिएको छ ।
अहिले लागुऔषध चरेस, गाजा, खैरो हिरोइन, अफिम, फेनागन, नाइट्रोभेट, रैक्सोजैसिकसहित सयौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता शैलेन्द्रकुमार भट्टका अनुसार तीन वर्षकोे अवधिमा विभिन्न प्रकृतिको लागुऔषधको १८६ मुद्दामा चार भारतीय नागरिकसहित २५२ जना पक्राउ परेका छन् ।
प्रवक्ता भट्टका अनुसार आर्थिक वर्ष ०७९/०८० मा १०४, ०८०/०८१ मा ७१ र ०८१/०८२ मा ७७ जना पक्राउ परेका छन् भने चालु आव ०८२/०८३ को साउन महिनासम्ममा एक महिला र पाँच पुरुष पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।
महोत्तरी प्रहरीले पछिल्लो तीन वर्षको अवधीमा क्रमशः गाजा ३० क्विन्टल ६७८ किलो १६४ ग्राम, खैरो हिरोइन तीन सय सात ग्राम, कोकिन चार ग्राम, नाइट्रोभेट ट्याबलेट २० हजार ४३३ थान, विभिन्न किसिमको झोल भएको दुई हजार ५१७ एम्पुलसहित विभिन्न किसिम अन्य लागुऔषध बरामद गरेको छ ।
यसैगरी, यस अवधिमा लागुऔषधमा प्रयोग गरिएको ५३ वाटा मोटरसाइकल, ८ ट्रक, दुई पिकअप भ्यान, स्कुटी एक, एम्बुलेन्स दुई, स्कारपिओ दुई, कार चार, अटोरिक्सा दुई थान बराममद गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
बर्दीबासस्थित लागुऔषध नियन्त्रण ब्युरो प्रमुख सरोज अधिकारीले पछिल्लो पटक लागुऔषध विरुद्धको अभियानलाई तीव्र पारेको बताउनुभयो । उहाँले यस ब्युरोको सक्रियतामा मात्रै यसबिच ४६ लाख ४३ हजार मूल्य बराबरको ५४९.८५ ग्राम खैरो हिरोइनसहित दुई थान आकस्मिक सेवाका एम्बुलेन्स, चार थान मोटरसाइक र ओसारपसारमा संलग्न ३९ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामध्ये दुई जनामहिला र दुई जना विदेशी रहेको ब्युरो प्रमुख अधिकारीले जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले लागुऔषध विरुद्धमा एकातिर मुद्दा अर्कातिर सचेतना कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । एसपी शर्माका अनुसार विद्यार्थीदेखि समुदायमा लागुऔषध निर्मूल गर्नका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । एसपी शर्माले प्रहरीको एकल प्रयासबाट लागुऔषध पूर्ण निर्मूल नहुने बताउँदै यसका लागि सिङ्गो समाज नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
बर्दिवास–३ स्थित जाँडरक्सी, लागुऔषध, मादक पदार्थ, मानसिक रोग उपचार तथा पुनःस्थापना केन्द्रका सञ्चालक रुद्र मग्रातीले लागुऔषध निर्मुल पार्नका लागि अभिभावकदेखि सरकारले सचेतनामूलकदेखि कार्बाहीका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुहुन्छ । लामो समयदेखि लागुऔषध मात्रै होइन धूमपान मद्यपान निषेधका क्षेत्रमा कार्यरत मग्रातीले एकसाथ सबै पक्षबाट लागुऔषध नियन्त्रणका कार्यक्रममा सहभागितादेखि कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।
“लागुऔषध मुक्त समाज निर्माणका लागि अब आम अभिभावकलाई नै सचेतना गराउनुपर्छ”, मग्रातीले भन्नुभयो, “कुलत लागु औषध नियन्त्रणका लागि पाठ्यक्रम नै बनाएर बालबालिकालाई सानै उमेरदेखि सचेत गराउनुपर्छ ।” यस केन्द्रमा हाल ३८ जना दुर्व्यवसनीहरुको उपचार भइरहेको बताउँदै उहाँले लागुऔषधका प्रयोगकर्ता मात्रै नभई तस्कर, व्यवसायीसम्मैको सञ्जाल भत्काएर कानुनी कारबाही गरेर केहीहदसम्म न्यूनीकरण हुने सुझाव दिनुभयो ।