• ८ मंसिर २०८१, शनिबार

सुर्तीको वातावरणीय चुनौती

blog

सुर्तीमा करिब सात हजार प्रकारका हानिकारक रासायनिक पदार्थ पाइन्छन् । तिनले सुर्तीसेवक मानिसलाई मात्र होइन कुनै पनि जीव, वातावरणको जैविक र अजैविक संसारलाई नै हानि गरिरहेको हुन्छ । संसारमा हरेक साल घटीमा ६० खर्ब वटा चुरोट उत्पादन गरेर बिक्री गरिन्छ एउटा पनि नबिकी रहँदैन । अन्य धुवाँरहित सुर्तीजन्य परिकार त कति बनिन्छ त्यसको हिसाब छैन । 

सुर्तीले मानव स्वास्थ्यलाई गर्ने नोक्सानी त छँदैछ यसले सामाजिक, आर्थिक मात्र होइन वातावरणलाई समेत असर गर्दोरहेछ । वैज्ञानिकहरूले वातावरणमा पर्ने असर फेला पार्न थालेपछि यस बारेमा सबैलाई सचेत गराउनुपर्ने आवश्यकता ठानी विश्व स्वास्थ्य सङ्गठनले यस वर्षको विश्व धूमपानरहित दिवसको नारा ‘सुर्तीको वातावरणलाई चुनौती’ भन्ने तय गरेको छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवस विश्वका करिब १२५ वटा देशले मनाउने गरेका छन् । 

सुर्तीको बिरुवा रोप्दा, हुर्काउँदा, भिœयाउँदा, यसलाई औद्योगिक प्रशोधन गर्दा, ढुवानी, बिक्रीवितरण गर्दा, सेवन गर्दा र टुक्रा वा फोहोरको उत्सर्जनपछि विसर्जन गर्दा वातावरणलाई कति असर पुग्दो हो ? निश्चय नै असर छ । अझै डराउनु पर्ने कुरा के भने उत्पादन, ढुवानी र बिक्रीमा जति कडाइ गरिए पनि सेवकको सङ्ख्या घटेको छैन ।

नेपाल स्टेप सर्भे सन् २०१९ का अनुसार नेपालमा युवा अवस्थाका मानिसमध्ये ३८ लाखले सुर्ती सेवन गर्छन् । तीमध्ये २८ लाखले धुवाँसहितको सुर्ती पिउने गर्छन् । संसारको तथ्याङ्क हेर्ने हो भने १५ वर्ष उमेरमाथिका एक अर्ब १० करोड मानिस सुर्ती खाने देखिन्छन् । धूमपान सेवनबाट हुने रोगका कारण हुने मृत्युको सङ्ख्या करिब ७७ लाख प्रतिवर्ष रहेको छ । 

सुर्तीको सेवनले मृत्युको तथ्याङ्कलाई कहालीलाग्दो बनाइदियो । यी अवस्थालाई न्यून गर्नका लागि देशीय र अन्तरदेशीय स्तरमा पहल नभएका होइनन् । आज पनि धूमपान हानिकारक छ भन्ने सन्देश रेडियो, पत्रिका, टेलिभिजनलगायतका सञ्चार माध्यममा हेर्ने, सुन्ने र बुझ्नेको सङ्ख्या राम्रै छ । नेपालमा १५ वर्ष उमेर कटेका ७० प्रतिशतले यस्ता विज्ञापन हेर्छन् र बुझ्छन् । सेवक सबैले खोलमै हेर्छन् तैपनि खान्छन् ।

सुर्तीको तर्फबाट वातावरणलाई पर्ने असर बयान गरी साध्य छैन । सुर्ती प्रशोधन गरी चुरोट वा खैनी बनाउने क्रममा सालिन्दा ८४ मेगाटन कार्बनडाइअक्साइड उत्सर्जन हुने गरेको एक तथ्याङ्क छ । विभिन्न माध्यमबाट वातावरणमा भेला हुने कार्बनडाइअक्साइडको यो शून्य दशमलव दुई प्रतिशत हुन आउँछ । यति ठूलो मात्राको कार्बनडाइअक्साइडले वातावरणमा असाध्यै ठूलो क्षति पु-याउँछ । त्यसैमाथि करिब ९० प्रतिशत चुरोट उद्योग अविकसित देशमा छन् । त्यसैले अविकसित देशबाट निस्कने उक्त ग्यासको आयतन पनि धेरै नै छ । 

सुर्तीको उत्पादन र प्रशोधनमा पानीको औधि प्रयोग हुन्छ । एउटा मानिसले उसको जीवनमा पिउने चुरोटबाट उडेको धुवाँले हावामा पु-याउने क्षतिको पूर्ति गर्न हरेक वर्ष १३२ वटा बिरुवा रोपेर हुर्काउनुपर्छ, १० वर्षसम्म । इम्पेरियल कलेज लण्डनको एक प्रकाशनले भनेको छ– त्यो मानिसले पिउने चुरोट बनाउनका लागि एक हजार तीन सय ५५ क्युबिक मिटर पानी र डेढ टन इन्धन खर्च हुन्छ । आजको विश्वमा चुरोट उद्योगले मात्र ६२ दशमलव दुई गिगाजुल ऊर्जा प्रयोग गर्छन् । यसबाट वातावरणीय क्षति कति हुने, यसको गणित लामो छ । अनुसन्धानको परिणामले देखाएको छ कि संसारमा ५३ लाख हेक्टर जमिनमा सुर्तीको खेती गरिन्छ र यो बाली भिœयाउन्जेलमा २२ अर्ब टन पानी खपत हुन्छ । यसबाट तीन करोड २४ लाख मेट्रिक टन कच्चा सुर्ती उत्पादन हुन्छ । 

सुर्तीले माटोलाई पूर्णतः रुख्याइदिन्छ । यसलाई अन्य बालीभन्दा छ गुणा बढी पोटासियम चाहिन्छ । सुर्ती खेती गरिने जति जमिनमा खाद्यान्न बाली लगाउने हो भने दुई करोड मानिसलाई एक वर्षसम्म खान पुग्ने उब्जिन्छ । सुर्ती आफैँमा एक विषादीप्रदायक वनस्पति हो यद्यपि यो कीराबाट अति असुरक्षित वनस्पतिको वर्गमा पर्छ । त्यसैले निरन्तर रूपमा केही भयानक विषादी प्रयोग नगरे सुर्तीको उत्पादन हात लाग्दैन । सुर्ती जोगाउन इमिडाक्लोप्रिड, क्लोपिरीफोस, एल्डिक्राब, मिथाइल ब्रोमाइड आदि विषादी प्रयोग हुने गरेको पाइन्छ । 

विश्व स्वास्थ्य सङ्गठनले भन्छ कच्चा सुर्तीलाई गुम्स्याउन र उद्योग लैजानअघिको प्रक्रिया पूरा गर्न करिब एक करोड १४ लाख मेट्रिक टन रुख चाहिन्छ । यसको पूर्ति गर्न ६० करोड वटा रुख कटान गर्नुपर्छ । यी तथ्य द ल्यान्सेट भन्ने अनुसन्धानमूलक विज्ञान जर्नलमा उल्लिखित हुन् । उही संस्थाका अनुसार विश्वमा १२४ वटा देशमा सुर्तीको खेती हुन्छ र करिब पाँच सय ६० वटा चुरोट उद्योग सञ्चालनमा छन् । सुर्तीजन्य पदार्थ खैनी र गुट्खाको हिसाब यहाँ समावेश छैन । 

सुर्तीमा भएका हानिकारक रसायनहरू अन्ततः वातावरणमै फर्कने हुन् जसका कारण अन्य जीवलाई समेत हानि गरी पारिस्थितिक प्रणालीलाई क्षतविक्षत पार्छ । एक बट्टा चुरोटलाई २४ घण्टा पानीको पोखरीमा छोडिदिने हो भने यसबाट पानीमा घुलेका रसायनले ९६ घण्टामा सो पोखरीका आधाजसो माछालाई मृत्युको मुखमा लैजान्छन् । सुर्तीमा लिड, क्याडमियम, मर्करीजस्ता गह्रौँ धातुहरू र साइनाइडजस्ता तुरुन्त मृत्यु गराउने रसायन हुन्छन्, जसले जैविक संसारमा प्रवेश गरी सबैलाई हानि गरिदिन्छन् ।

सन् २०१५ को एउटा प्रतिवेदन छ कि अमेरिकाका सुर्ती उद्योगले मात्र १३ लाख पाउन्ड हानिकारक पदार्थ फोहोरको रूपमा उत्सर्जन गरेका थिए । सबै चुरोट उद्योगबाट सालिन्दा २५ मेगाटन ठोस फोहोर र ५५ मेगाटन फोहोर पानी वातावरणमा मिसाइदिन्छन् । एक अर्को अध्ययनले देखाएको छ–सडकका छेउछाउ जहाँ मानिसले चुरोटका ठुटाहरू फ्याँक्छन् ती ठाउँको माटो परीक्षण गर्दा अन्य ठाउँको भन्दा फरक रसायन पाइयो । त्यहाँ धेरै मात्रामा हाइड्रोकार्बन रहेछ जुन सुर्तीमा हुन्छ । 

चुरोटको खोल बनाउन पनि रुखबिरुवा नै मास्नुपर्ने स्थिति छ । १५ वटा प्याकेट बनाउन एउटा बिरुवा चाहिन्छ । यस हिसाबले कति रुख खतम हुँदा हुन् ! फेरि खोल (प्याकेट) यति बलियो, लेमिनेसन भएको र ओस नपस्ने गरी बनाइएको हुनुप-यो, जसका कारण यो प्लाष्टिकजस्तै हत्तपत्त नगल्ने हुन्छ । खोलमा सेलुलोज एसिटेट, पोलिमर, एसिटिक एनहाइड्राइड, एसिटिक एसिट र प्लाष्टिजरजस्ता पदार्थहरू मिसिएका हुन्छन् ।

संयुक्त राज्य अमेरिकाको वातावरण संरक्षण संस्था (युएसइपिए) ले जनाएअनुसार सुर्ती र चुरोटको खोलमा भएका हजारौँ रसायनमध्ये १६ वटालाई वातावरण प्रदूषकको अति प्राथमिकताको सूचीमा राखिएको छ । तसर्थ खोलको व्यवस्थापन ठूलो चुनौती छ जसले वातावरणीय क्षति गरिहेको छ । 

ट्रुथ इनिसियटिभस् भन्ने एजेन्सीका अनुसार, सन् २०१९ मा मात्र समुद्रमा अडेको र नदीमा बहेको पानीमा ४२ लाख ११ हजार ९६२ वटा खोल भेटिएको थियो । पानीमा यस्ता खोल भेटिनुले सिङ्गो जलबासस्थान र जलीय जीवलाई धेरै नै नोक्सानी छ भन्ने बुझिन्छ । यी तथ्यहरूले बताइरहेका छन् सुर्तीको प्रयोगले वातावरणका मुख्य अवयव हावा, पानी, माटो र जीव सबैलाई असर गरिरहेका छन् ।

सुर्तीको खेती, उत्पादन, बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने पहलकदमीहरू विश्वव्यापी रूपमा भएका छन् । कानुनी बाटोबाट, कर उठ्तीको बाटोबाट, स्वास्थ्य हानिको बाटोबाट यसलाई प्रोत्साहित गरिएको छैन । तथापि सुर्तीको लुकीछिपी हुने खेती र खुलमखुला गरिने सेवनले मानव स्वास्थ्य मात्र नभई पूरापूर वातावरण दूषित भइरहेको छ ।

यही तथ्यलाई दृष्टितगत गरी यस वर्ष यतातिर नजर सबैको परोस्, ध्यान खिचियोस् भनेर नारा तय गरिएको हो । त्यसैले प्रत्येक व्यक्तिले यसतर्फ चासो दिएर सुर्तीलाई दुरुत्साहित गरेर वातावरण संरक्षणमा योगदान दिएमा दिवसको औचित्य पुष्टि हुनेछ । 

Author

रामचन्द्र अधिकारी