नेपाल विश्वका कम भूमि भएका देशमध्ये एक हो । खेतीयोग्य भूमि कम छ । जहाँ वर्षायाममा पहाडबाट बगेर आएको बलौटे माटो तराईको मलिला खेतीयोग्य जग्गामा जम्मा भई खाद्यान्न तथा अन्य बालीको उत्पादनमा नकारात्मक प्रभाव परेको छ । रासायनिक मलको अधिकतम प्रयोग, पिएच भ्यालु र पोटासमा देखिएको कमीले धेरै ठाउँको माटोको उर्वराशक्ति घट्दै गएको तथ्य यहाँको कृषि विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जसबाट यहाँका कृषि उपजको परिमाण भविष्यमा न्यून हुने सम्भावना छ ।
वस्तुलाई यहाँको खेतीयोग्य जग्गाको माटोको डिजिटल नक्साङ्कनमा खेतीयोग्य जमिनको ५०/५५ प्रतिशत माटो अम्लीय, चार/पाँच प्रतिशत क्षारीय र ४० प्रतिशत तटस्थ देखिन्छ । माटोको उर्वराशक्ति बर्सेनि क्षेय हुँदै जाँदा भविष्यमा यहाँको कृषि प्रणालीमा गम्भीर सङ्कट नआउला भन्न सकिँदैन । केही दशकअघिसम्म नेपालबाट अन्य देशमा खाद्यान्न आयात गरिन्थ्यो । परन्तु, केही वर्षयता यहाँ खाद्यान्नलगायत धेरै जसो कृषिजन्य वस्तु निरन्तर रूपले आयात गर्न थालिएको छ । जुन कृषि उत्पादनको कमीले गर्दा हो ।
नेपाल व्यापार एकीकृत रणनीतिमा यहाँका निर्यातयोग्य वस्तु अधिकांश कृषिजन्य छन् तर नेपाल सरकारले उक्त वस्तुहरूको स्वदेशमै उत्पादन गर्न उपयुक्त ध्यान नदिएकाले यहाँ खाद्यान्न तथा अन्य कृषि उपजहरूको उत्पादन अपेक्षित रूपमा बढ्न सकेन । आगामी दिनमा यहाँ खाद्यान्न तथा अन्य कृषि उपजको उत्पादन अभिवृद्धि गर्न रणनीति बनाई कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि एकतर्फ यहाँका कृषकलाई आवश्यक कर्जा प्रदान गर्न आवश्यक छ भने अर्कोतर्फ उनीहरूको विभिन्न बालीको विमा गर्न उत्तिकै जरुरी छ ।
नेपालका झन्डै दुई तिहाइ जनता कृषिमा आश्रित छन् । हालसम्म पनि यहाँ परम्परागत खेती प्रणाली अपनाउनाले माग अनुरूप कृषि उत्पादन गर्न सकिएको छैन । यो देश प्रत्येक वर्ष आयातमुखी बन्दै गएको छ । नेपालको समथर भूभागमा यान्त्रीकरण गर्न सकिन्छ । यसबाट श्रमको किफाइत भई कृषि उत्पादन पनि बढाउन सकिन्छ । यहाँको पहाडी र हिमाली क्षेत्रमा सुधारिएका कृषि औजार प्रयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ । यद्यपि, यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन सकेको छैन र नेपाल कृषि उत्पादनका लागि आत्मनिर्भर हुन सकेको छैन । नेपाल जलभण्डार हो । जसबाट जलविद्युत् र हाइड्रोजन ऊर्जा मात्र उत्पादन नभई युरिया पनि उत्पादन गर्न सकिन्छ । जसको उपयुक्त प्रयोगबाट कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन सकिन्छ ।
नेपालको विविध भूबनोट, जातजाति, भाषाभाषी, रहनसहन, धर्म र संस्कृति यहाँ विद्यमान कृषिसँग आबद्ध छन्, यहाँको झन्डै दुई तिहाइ जनसङ्ख्या उक्त क्षेत्रमा आश्रित भए पनि आवश्यकता अनुसार कृषि उत्पादन गर्न सकिएको छैन । फलतः यो देश दिनदिनै आयातमुखी हुँदै गएको छ । विगतमा नेपालको प्रमुख आयस्रोत बनेको कृषि पेसा हाल धरासायी हुने अवस्थामा छ । युवाको बढ्दो विदेश पलायन, कृषकलाई उत्साहित बनाउने किसिमका योजना निर्माण गरी कार्यान्वयन गर्न नसक्नु र विकट भूबनोटको कारण यहाँ यस्तो अवस्था सिर्जना भएको हो ।
नेपालमा कृषि उत्पादन वृद्धि, गरिबी न्यूनीकरण र कुल गार्हस्थ्य उत्पादन बढाउनुपर्ने धेरै आवश्यकता छ । परन्तु, यहाँको सीमित खेतीयोग्य भूमिको सदुपयोग गर्न नसकिएकाले उक्त आवश्यकता परिपूर्ति गर्न कठिन भएको छ । आज जलवायु परिवर्तनको कारण विश्वका अन्य देश जस्तै नेपालमा पनि विभिन्न बाली उत्पादन गर्न सकिने प्रकृतिको क्षमतामा ह्रास आएको छ । यसको सुधारका लागि विद्यमान कृषि प्रणालीमा परिवर्तन गर्न आवश्यक भए पनि त्यस्तो गर्न सकिएको छैन ।
विश्वमा जलवायु परिवर्तनको कारण कतै अतिवृष्टि र कतै अनावृष्टि हुनु, केही खेतीयोग्य जग्गा बाँझो मात्र नराखी खण्डीकरण गर्नु, धेरै जसो खेतीयोग्य जग्गामा उन्नत बिउबिजन, मल, कीटनाशक औषधी र सिचाइको कमी हुनु, युवामा कृषिप्रतिको अनाकर्षण बढ्दै जानु आदि कारणले कृषि क्षेत्र संवेदनशील बनेको छ । यति मात्र नभई बढ्दो बसाइँसराइको कारण कृषि कर्ममा आवश्यक जनशक्तिको कमी भई कृषि उत्पादनमा नकारात्मक प्रभाव परेको छ ।
कृषि विकासबिना यहाँको चौतर्फी विकास सम्भव छैन । पहिलो पञ्चवर्षीय योजनादेखि नै यहाँको कृषि विकासमा विशेष जोड दिन थालिएको हो । यहाँको कृषि विकासका लागि प्रधानमन्त्री कृषि आधुनिक प्रणाली कार्यक्रम सञ्चालन गरिएको छ । जसको सहयोग तथा अनुदान प्रवाहद्वारा निम्न वर्गीय कृषकको आर्थिक अवस्था सुधार्ने, उन्नत बिउ तथा विरुवाको प्रयोग अभिवृद्धि गर्ने, मुख्य बाली तथा वस्तुको उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य छ ।
कृषि विकासका लागि दिँदै आएका सहयोग तथा अनुदानको पुनरवलोकन गरी राष्ट्रिय कृषिक्षेत्र संरक्षण तथा सहुलियत नीति तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि कृषि क्षेत्रको वर्गीकरण गरी विपन्न सीमान्तकृत र महिला कृषकलाई थप सहयोग तथा अनुदानको व्यवस्था गर्न उत्तिकै जरुरी छ । विभिन्न जिल्लामा रहेका सहकारी संस्थालाई कृषि उत्पादन, भण्डारण, प्रशोधन, बजारीकरण र आपूर्तिको जिम्मा दिई भविष्यमा यहाँको कृषि क्षेत्रको उल्लेखनीय विकास गर्न नितान्त आवश्यक छ ।