• १२ भदौ २०८२, बिहिबार

तस्बिर आफैँ नबोल्न पनि सक्छ !

blog

  • फोटो पत्रकारितालाई स्थापित गर्न पनि यस पत्रिकाले विशेष योगदान पु‌र्‍याएको छ । यस तथ्यको थप पुस्ट्याइँका निम्ति विसं १९८४ वैशाख १३ मा प्रकाशित तस्बिरलाई सम्झनुपर्ने हुन्छ । यस दिन गोरखापत्रमा प्रकाशित फोटोको ऐतिहासिक महत्व विभिन्न कारणले छ । यस फोटोलाई गहन रूपमा विश्लेषण गर्ने हो भने नेपालमा फोटो पत्रकारिताको विकासको प्रारम्भ विन्दु मान्न सकिन्छ । 
  • तस्बिर र क्याप्सन एकअर्काका परिपूरक हुन् । पत्रकारितामा क्याप्सन भनेको दृश्यात्मक सन्देशलाई प्रस्ट्याउने माध्यम मात्र होइन, यसले पाठकलाई थप जानकारी खोज्न प्रेरित गर्ने ल्याकत पनि राख्छ । क्याप्सनले तस्बिरको सन्दर्भ र उद्देश्य स्पष्ट पार्छ । यसले पाठकलाई केवल हेर्न मात्र नभई सोच्न पनि बाध्य बनाउँछ । 

मानव सभ्यताको सुरुवातदेखि नै मानिसमा चित्रमा रुचि रहेको पाइन्छ । ढुङ्गेयुगदेखि नै मानिस गुफाका भित्तामा, ठुल्ठुला ढुङ्गामा चित्र कोर्ने गरेका तथ्य इतिहासले नै प्रमाणित गरिसकेका छन् । चित्र मानव सञ्चारको एउटा सशक्त माध्यम हो भन्नेमा सायदै कसैको दुईमत रहला । लिपिको विकास हुनुअगाडि मानिस चित्रका माध्यमबाट सूचना आदानप्रदान गर्दथे । प्रविधिको विकास सँगसँगै सूचना आदानप्रदानका माध्यम पनि परिमार्जन र विकसित हुँदै गए । प्रविधिमा भएको विकासले फोटोग्राफी सिर्जनामा रमाउनेका लागि सुन्दर उपहार हो । फोटोग्राफीको विकासपछि रेखाचित्रका माध्यमबाट गरिने सूचनाको आदानप्रदानमा नयाँ आयाम थपियो जसले गर्दा दृश्यमा आधारित सञ्चार छिटोछरितो हुनुका साथै अझ प्रभावकारी साबित भयो । 

हुन त आजको दिनसम्म आइपुग्न फोटोग्राफीको विकासमा दशकौँको मिहिनेत लाग्यो । सन् १८२७ मा जोसेफ निसेफोर निप्सले आठ घण्टा लगाएर आफ्नो काम गर्ने कोठाबाट देखिएको दृश्यलाई स्थायी प्रतिविम्बमा उतार्न सफल भएयता फोटोग्राफीले विकासको गति लिन थाल्यो र अझ तीव्र रूपमा खोज अन्वेषणले गति लियो, झन् १९९० को दशकपछि कम्प्युटर प्रविधिको विकास भएसँगै फोटोग्राफीले पनि डिजिटल युगमा प्रवेश गर्‍यो र विगतको तुलनामा सहज भएबाट फोटोग्राफी सबैको पहुँचमा पुग्यो । सुरुका दिनमा फोटोग्राफी आममान्छेको पहुँचभन्दा बाहिरको कुरा थियो । फोटोग्राफी सम्भ्रान्त हुनुको एक प्रतीक हुनुका साथै विलासीको विषय थियो । नेपालकै सन्दर्भमा पनि फोटोग्राफी राणापरिवार र दरबारभन्दा बाहिर पहुँचको विषय थिएन । 

पत्रकारिताको सन्दर्भमा कुरा गर्दा फोटोको प्रयोग छपाइ र फोटोग्राफीको प्रविधिमा आएको विकाससँगै अगाडि बढेको छ । अझ भन्नु पर्दा छपाइ प्रविधिमा हाल्फटोन र फोटोग्राफीको सन्दर्भमा ३५ मिमिको पोर्टेबल क्यामराको विकास भएपछि व्यापकता लिएको हो भन्दा फरक नपर्ला । त्यसभन्दा पहिले चित्रकारले कोरेका चित्रलाई टिन वा काठका ब्लकमा उतारेर छापिन्थ्यो । पत्रकारिताको जग नै सूचना, तथ्य र सत्यका आधारमा राखिएको हुन्छ । समाचारले पाठक, दर्शक र श्रोताबिचको सम्बन्ध स्थापित गर्दा शब्द र तस्बिरको संयोजनले विशेष भूमिका खेल्छ । तस्बिर पत्रकारितामा एक यस्तो शक्तिशाली माध्यम हो, जसले कुनै घटना, परिस्थिति वा भावना तुरुन्तै दृश्यात्मक रूपमा प्रस्तुत गर्न सक्छ । तस्बिरले केवल दृश्य सामग्री प्रदान गर्दैन, यसले पाठकको मस्तिष्क र हृदयमा तत्काल प्रभाव पार्छ । 

तस्बिरले पाठक तथा दर्शकको मस्तिष्क र हृदयमा पार्ने प्रभाव सँगसँगै ऐतिहासिक घटनाको दस्ताबेजीकरण गर्ने फोटोग्राफीको क्षमताले फोटो पत्रकारिताको विकासबारे उल्लेख गरेका-भएका विभिन्न तथ्य हामीले भेटाउन सक्छौँ । विशेषतः रोजर फेन्टनले खिचेका १८५० को दशकमा भएको क्राइमियन युद्धका फोटो ओल्ड वाटरकलर ग्यालरीमा सेप्टेम्बर १८५५ मा र माथ्यु ब्रेडीका अमेरिकी गृहयुद्धका फोटो ‘युद्धको न्युयोर्क स्टुडियो’ मा १८६२ मा प्रदर्शनी गरिएको थियो । सो प्रदर्शनीबारे फेन्टनको लन्डनबाट प्रकाशित हुने ‘दी इलस्ट्रेटेड लन्डन न्युज’ र ब्रेडीको ‘न्युयोर्क टाइम्स’ मा प्रकाशित भएको थियो । फोटो प्रदर्शनी र सोबारे पत्रिकामा प्रकाशन भएपछि युद्धका वास्तविकताबारे आममानिसको ध्यान केन्द्रित गर्नमा सहयोग गर्नुका साथै फोटोले आममानिसमा पारेको प्रभावको प्रारम्भिक उदाहरण थियो । तस्बिरले मस्तिष्क तथा हृदयमा गहिरो प्रभाव पार्न सक्ने भएकाले ‘एउटा तस्बिरले हजार शब्द व्यक्त गर्छ’, ‘तस्बिर आफैँ बोल्छ’ भनिएको हुनु पर्छ । यी भनाइ वास्तवमा पत्रकारिताभन्दा विज्ञापनमा तस्बिरको उपयोगिता र त्यसको प्रभावको सन्दर्भमा प्रयोगमा आएको हो तर यी आहानको प्रसङ्ग जोडिरहँदा एउटा तस्बिरले सधैँ आफैँ नबोल्न सक्छ, हजार शब्द पनि नबोल्न सक्छ ।

त्यसैले तस्बिरले उत्थान गर्न खोजेको विषयवस्तुलाई अझ प्रभावकारी र बढी सन्देश वा सूचनामूलक बनाउन केही शब्दको आवश्यक पर्छ जसलाई पत्रकारिताको भाषामा ‘क्याप्सन’ (तस्बिर परिचय) भनिन्छ । तस्बिरको अर्थ पूर्ण रूपमा बुझाउन र यसको सन्देशलाई सही दिशामा मार्गनिर्देशन गर्न क्याप्सन अनिवार्य हुन्छ । तस्बिर र शब्द एकअर्काका परिपूरक हुन् । तस्बिरले शब्दभन्दा परको कथा भन्न सक्छ । तस्बिरले पाठकलाई घटनास्थलमा भौतिक रूपमा उपस्थित भएको जस्तो अनुभूत गराउन सक्छ । तथापि तस्बिर आफैँमा अर्थपूर्ण हुनका लागि यसको सन्दर्भ आवश्यक पर्छ । यही सन्दर्भलाई प्रस्ट पार्न र तस्बिरलाई प्रभावकारी बनाउन क्याप्सन अनिवार्य हुन्छ ।

तस्बिर र क्याप्सन एकअर्काका परिपूरक हुन् । पत्रकारितामा क्याप्सन भनेको दृश्यात्मक सन्देशलाई प्रस्ट्याउने माध्यम मात्र होइन, यसले पाठकलाई थप जानकारी खोज्न प्रेरित गर्ने ल्याकत पनि राख्छ । क्याप्सनले तस्बिरको सन्दर्भ र उद्देश्य स्पष्ट पार्छ । यसले पाठकलाई केवल हेर्न मात्र नभई सोच्न पनि बाध्य बनाउँछ । क्याप्सन लेखन एउटा कलात्मक र सटिक काम हो, जसले शब्दको छोटो प्रयोगमार्फत घटनाको गहिराइमा पु‌¥याउन सक्छ । क्याप्सनले तस्बिरमा देखिएको घटनाको समय, स्थान, व्यक्ति र सन्दर्भ स्पष्ट पार्छ, पृष्ठभूमि र उद्देश्य बुझ्न सघाउँछ । क्याप्सनले समाचारको मुख्य विन्दुलाई तस्बिरमार्फत जोड दिन्छ । पत्रिकामा प्रकाशित तस्बिरले देशका ठुला घटनालाई चित्रण गर्दछ भने अर्कोतर्फ ऐतिहासिक घटनाको दस्ताबेजीकरण गर्दछ । 

गोरखापत्रको ऐतिहासिक कदम

नेपालको सन्दर्भमा पनि गोरखापत्रले राणाकालदेखि हालसम्म भएका राजनीतिक, सामाजिक, धार्मिक तथा आर्थिक परिवर्तनलगायतका घटनालाई दस्ताबेजीकरण गरेको छ । इतिहासको साक्षी रहेको छ । नेपाली पत्रकारिताको इतिहासमा गोरखापत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विसं १९५८ वैशाख २४ गते साप्ताहिक रूपमा प्रकाशन सुरु भएको यो छापा माध्यमको पहिलो नेपाली भाषाको समाचारपत्र हो । गोरखापत्रले नेपाली साहित्य, कला, धर्म, संस्कृतिको विकासमा विशिष्ट योगदान पुर्‍याएको छ http://ecs.com.np/features/gorkhapatra-a-living-relic .

फोटो पत्रकारितालाई स्थापित गर्न पनि यस पत्रिकाले विशेष योगदान पु‌¥याएको छ । यस तथ्यको थप पुस्ट्याइँका निम्ति विसं १९८४ वैशाख १३ मा प्रकाशित तस्बिरलाई सम्झनुपर्ने हुन्छ । यस दिन गोरखापत्रमा प्रकाशित फोटोको ऐतिहासिक महत्व विभिन्न कारणले छ । यस फोटोलाई गहन रूपमा विश्लेषण गर्ने हो भने नेपालमा फोटो पत्रकारिताको विकासको प्रारम्भ विन्दु मान्न सकिन्छ । यो फोटोले नेपालमा फोटो पत्रकारिताको सुरुवातको सङ्केत ग¥यो, जसले समाचार सम्प्रेषणमा ‘रिपोर्टिङ’ अर्थात् शब्द वर्णनमा आधारित परम्परालाई बदलेर तस्बिर र शब्दको संयोजनबाट समाचार सम्प्रेषणको नयाँ आयाम र परिभाषा स्थापित ग‍र्‍याे । नेपाली पत्रकारितामा यो एक महत्वपूर्ण घटना हुन पुग्यो जसले पाठकलाई तस्बिर र शब्दको संयोजनमार्फत समाचारको गहिराइमा पुगी बुझ्ने वातावरण सिर्जना गर्‍याे, जुन शब्दले मात्र व्यक्त गर्न सक्दैनन् । 

यो तस्बिरमा एक साधारण व्यक्तिको चित्रण गरिएको थियो, जो देशको शक्ति र शासनको केन्द्रविन्दुभन्दा पर वीरगन्जकी १२ वर्षीय बालिका सूर्यमती श्रेष्ठनी, जसले चन्द्र कामधेनु चर्खा चलाउँदै थिइन् । यसले साधारण मानिसको दैनिक जीवन र दिनचर्यालाई उजागर गर्दै समाचारलाई थप सान्दर्भिक बनायो र तत्कालीन समयको सांस्कृतिक अभ्यासलाई आमपाठकमाझ उजागर गर्‍याे । जुन गोरखापत्रको कालखण्डमा ऐतिहासिक कदम थियो । राणापरिवार र दरबारको सेरोफेरोभन्दा बाहिर गएर समाचार प्रकाशन गर्‍याे । यसै ऐतिहासिक कदमको स्मरण गर्दै फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले २०६० सालदेखि आधिकारिक रूपमा वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गर्‍याे । जुन आजको मितिसम्म पनि निरन्तरता पाइरहेको छ । यस घटनाबाट पनि यो पुष्टि हुन्छ कि फोटो र शब्दको संयोजन समाचार सम्प्रेषणमा निकै महत्वपूर्ण विषय हो भन्ने । 

इतिहासले फोटो क्याप्सनको महत्व प्रस्ट्याइसकेको भए तापनि क्याप्सन लेखनलाई बढी महत्व दिइएको पाइँदैन । रोयटर्स, एपी, एएफपी जस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाले क्याप्सन लेखनको सन्दर्भमा ‘फोर डब्ल्यु’ को उत्तरलाई अनिवार्य दर्साएको छ तर नेपाली पत्रकारिताको अभ्यासलाई नियाल्ने हो भने मुस्किलले ‘टु डब्ल्यु’ उत्तर समेटिएको भेट्छौँ । अनलाइन पत्रकारिताको उदयसँगै नेपाली मिडियामा झन् क्याप्सन लेख्ने चलन बढिरहेको छ । 

तस्बिर भनेको दृश्यात्मक माध्यम हो, जसले कुनै घटनालाई प्रस्ट्याउने शक्ति राख्छ । यद्यपि तस्बिरको सन्देश सधैँ प्रस्ट हुन्छ भन्ने छैन जसले गर्दा पाठक वा दर्शकले भिन्न भिन्न ढङ्गले व्याख्या र बुझ्न सक्छन् । यस्तै स्थितिमा क्याप्सनले मुख्य भूमिका खेल्छ । क्याप्सनले तस्बिरको अर्थलाई केन्द्रित गर्दै सन्दर्भ प्रदान गर्छ । यसले पाठकलाई सही दिशा दिँदै तस्बिरको वास्तविक उद्देश्य बुझ्न सहयोग पुर्‍याउँछ ।

एकै तस्बिरलाई दुई फरक व्यक्तिले हेर्दा फरक दृष्टिकोणबाट व्याख्या गर्न सक्छन् । यसले तस्बिरको अर्थ स्पष्ट नहुँदा गलत सन्देश जाने सम्भावना बढ्छ । विशेष गरी पत्रकारितामा यसलाई अझ गम्भीर रूपमा हेर्नु पर्छ, तस्बिरको बहुअर्थले गलत सन्देश प्रवाह गर्न सक्छ । जुन पत्रकारिताको मूल मर्मभन्दा बाहिर रहन जान्छ । 

क्याप्सनले तस्बिरमा भएका भिन्न भिन्न सम्भावित व्याख्यामध्ये एउटा निश्चित व्याख्यालाई केन्द्रित गर्छ । यसले तस्बिरको मूल सन्देशलाई स्पष्ट पार्छ र पाठकलाई सही दिशामा सोच्न प्रेरित गर्छ । तस्बिरले सन्देश पुर्‍याउन महत्वपूर्ण भूमिका खेले पनि तिनलाई अर्थपूर्ण बनाउने काम क्याप्सनमार्फत हुन्छ । यसैले क्याप्सनलाई केवल विवरण दिने माध्यम मात्र होइन, समाचार सामग्रीको अभिन्न अंशका रूपमा हेर्न आवश्यक छ ।

तस्बिर क्याप्सनले समाचार पत्रकारितामा मात्र नभई, मानव संवेदना, सन्देश प्रवाह र शक्ति संरचनामा पनि गहिरो प्रभाव पार्छ । यसलाई विभिन्न सिद्धान्त र दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । 

रोलान बार्थले आफ्नो पुस्तक क्यामेरा लुसिदा (Camera Lucida) मा पक्टम सिद्धान्त (Roland Barthes' Punctum Theory) मार्फत तस्बिरको दुई मुख्य पक्षको चर्चा गरेका छन् । 

स्टुडियम (Studium) : तस्बिरको सामान्य पक्ष, जसले यसको ऐतिहासिक, सांस्कृतिक र समाचार मूल्यलाई प्रतिनिधित्व गर्छ ।

पक्टम (Punctum) : तस्बिरको व्यक्तिगत, भावनात्मक पक्ष, जसले दर्शकको हृदयलाई छुन्छ । उनका अनुसार क्याप्सनले तस्बिरको ‘पक्टम’ अर्थात् गहिराइमा पुर्‍याउन मद्दत गर्छ । क्याप्सनले पाठकलाई तस्बिरको मूल भावसम्म पुग्न सचेत गराउँछ, जुन सहजै तस्बिरको अवलोकनले मात्र ध्यानमा पर्दैन ।

सुजन सोनट्यागले आफ्नो प्रसिद्ध पुस्तक ‘अन फोटोग्राफी (On Photography) मा तस्बिरले मानव संवेदनालाई कसरी प्रभावित गर्छ भन्ने विषयमा गहिरो चर्चा गरेकी छिन् । उनका मुख्य तर्क :

तस्बिरले संवेदना उत्पन्न गर्छन् । तस्बिरले मानिसलाई सोच्न र महसुस गर्न बाध्य पार्छ ।

दुरी र निकटताको सम्बन्ध तस्बिरले घटनालाई निकट महसुस गराउँछ तर पाठकले सही ढङ्गबाट बुझ्न नसक्दा दुरी पनि सिर्जना गर्न सक्छ । सोनट्यागको दृष्टिकोण अनुसार क्याप्सनबिना तस्बिरले सिर्जना गरेको संवेदनाले स्पष्ट उद्देश्य पाउँदैन । तसर्थ क्याप्सनले तस्बिरको भावको गहिराइमा पुर्‍याउन मद्दत गर्छ । त्यसै गरी मिसेल फुकोको शक्ति र ज्ञानको सिद्धान्त (Michel Foucault's Theory of Power and Knowledge) का आधारमा विश्लेषण गर्ने हो भने तस्बिरले कुनै बेला वास्तविकता नदर्साई केवल सतही र शक्तिको प्रतिनिधित्व मात्र दर्साउन सक्छ, त्यसैले क्याप्सनले तस्बिरको सन्देशलाई सन्दर्भ प्रदान गरेर सत्यतथ्य सम्प्रेषण गर्न मद्दत पु¥याउँछ ।

यी सिद्धान्तले तस्बिर र क्याप्सनको सम्बन्धलाई गहिरो रूपमा प्रस्ट्याउँछ । क्याप्सनले तस्बिरलाई सन्दर्भ, सन्देश र संवेदनाको माध्यममा रूपान्तरण गर्छ । तस्बिर क्याप्सन पत्रकारितामा केवल जानकारीको साधन मात्र नभई, समाजमा सोच, शक्ति र संवेदनाको प्रवाह गर्ने एक सशक्त माध्यम हो । क्याप्सन फोटोको अभिन्न हिस्सा बनेको छ । यो केवल तस्बिरलाई परिभाषित गर्ने माध्यम मात्र नभई सन्देशलाई गहिरो बनाउने उपकरण हो ।

क्याप्सनले तस्बिरलाई अर्थ मात्र होइन, शक्ति पनि दिन्छ । तस्बिरले दृश्यात्मक प्रभाव पार्छ भने क्याप्सनले त्यसलाई गहिरो भावनात्मक र सन्दर्भगत दृष्टिकोण प्रदान गर्छ । सुसान सोँटागले भने झैँ “तस्बिरले घटनाको प्रतिनिधित्व गर्छ तर क्याप्सनले त्यसलाई व्यक्तित्व दिन्छ ।” नेपाली पत्रकारितामा क्याप्सन लेखनको सुधारले समाचारलाई थप सशक्त र सन्देशमूलक बनाउने छ । यो पत्रकारिताको मात्र नभई समाजको सामूहिक चेतना र जिम्मेवारीको सूचक पनि हो । तसर्थ क्याप्सन लेखनमा सुधार ल्याउनु भनेको पत्रकारिताको गुणस्तरलाई उचाइमा पुर्‍याउनु हो । 

लेखक फोटो पत्रकार हुनुहुन्छ ।

प्रस्तुत आलेख ‘ तस्बिर आफैँ नबोल्न पनि सक्छ ! ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।


Author

सुनील सी. वज्राचार्य