काठमाडौँ, माघ २२ गते । काठमाडौँ महानगरपालिका वडा नं. ६, बौद्ध बस्ने जस्मा न्यौपानेले कोभिड–१९ महामारीका बेला घर खर्च र पसल चलाउन स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम जम्मा गर्न सुरु गर्नुभयो ।
धादिङबाट काठमाडौँ आएर व्यापार व्यवसाय थालेकी न्यौपानेलाई सहकारीमा बचत गर्दा भैपरी आउने सङ्कट टर्छ भन्ने लाग्यो । आर्थिक समस्या पर्दा सहकारीमा जम्मा गरेको रकमले आमा, पति, दुई छोराछोरीका लागि खर्च गर्न सहजै थियो ।
तर बचत रकम बढ्दै जाँदा सहकारीमा समस्या भएको गाइँगुइँ चल्न थाल्यो । उहाँले भन्नुभयो, “हो रहेछ, एकाएक स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाको आर्थिक कारोबार धराशायी भएको कुरा आयो । हामी जस्ता थोरै थोरै पैसा जम्मा गर्नेलाई ठुलै बित्यास आइलाग्यो ।”
उहाँसँग स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारीमा आठ लाख ३० हजार रुपियाँ जम्मा गरेको बचत खाता र भौचर छ तर पैसा कहिले फिर्ता हुन्छ भन्ने कुनै टुङ्गो छैन । उहाँले भन्नुभयो, “अहिले उपचार गर्न पनि ऋण खोज्नुपर्ने बाध्यता छ । पसल चलाउँदाको ऋण र ब्याज बढेको बढ्यै छ तर बचत फिर्ता हुने नहुने केही थाहा छैन ।”
न्यौपाने मात्रै होइन, स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाकै बचतकर्ता लक्ष्मी परियार पनि आर्थिक सङ्कटले घेरिनुभएको छ । उहाँले हेटौँडामा भएको जग्गा बेचेर ल्याएको र आफ्नो परिवारका सदस्यको जागिरबाट आउने तलबसहित ९१ लाख रुपियाँ स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारीमा जम्मा गरेको बचत खाता र भौचर छ । उहाँले भन्नुभयो, “सहकारीको खातामा पैसा जम्मा गरेको प्रमाण छ तर पैसा आएको छैन । आउने टुङ्गो पनि छैन ।”
आकर्षक अफर दिई ठगी
‘दिनको दुई हजार बचत गर्नुस्, एक वर्षपछि आठ लाख रुपियाँ पाउनुस् ।’ स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाको बचतकर्तालाई लोभ्याउने यो योजना सुन्दा राम्रै लाग्छ ।
सहकारीपीडित न्यौपानेले भन्नुभयो, “पसल चलाइरहेकी थिएँ । सहकारीले बोनस खाता खोलेर एक दिनमा दुई हजार रुपियाँ बचत गरे एक वर्षमा आठ लाख पाउने भनेपछि त्यही खातामा पैसा जम्मा गर्न थालेँ । महामारी र अरू ऋण तिर्न पनि पुग्ला भन्ने नै लागेको थियो तर अहिले सहकारीले डुबायो ।”
स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारीबाट झन्डै १३ हजार बचतकर्ता पीडित छन् । उक्त सहकारीका सञ्चालकले दुई अर्ब ७४ करोड रुपियाँ हिनामिना गरेको खुलेको छ ।
स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारीपीडित सङ्घर्ष समितिका संयोजकद्वय नन्दुकुमार तण्डुकार र सुमन खनालको नेतृत्वमा सहकारीका बचतकर्ता आन्दोलित छन् । संयोजक तण्डुकारका अनुसार २०८० वैशाखमा बचतकर्ताका उजुरी परेको थियो । उहाँले भन्नुभयो, “२०८१ वैशाखसम्म सहकारीका कर्मचारीलाई तलब दिइरहेको देखिन्छ । त्यसपछि सहकारीमा ताला लागेको छ । आन्दोलन भइरहेको छ । स्वर्णलक्ष्मी सहकारीले धेरै मान्छेलाई सडकमै पुर्यायो । मेहनत गरेर, श्रम गरेर जम्मा गरेको पैसा फिर्ता हुने छाँटकाँट छैन ।”
सञ्चालकविरुद्ध २१ दिने म्याद
स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालक, व्यवस्थापकसहित उच्च तहका कर्मचारीविरुद्ध २१ दिने म्याद जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले जुजुकृष्ण धुंजु श्रेष्ठको जाहेरीमा उक्त आदेश जारी भएको हो । अदालतले स्वर्णलक्ष्मी सहकारीका सञ्चालकविरुद्ध बचत रकम फिर्ता दिलाइ भराइ पाऊँ भनी दायर मुद्दामा २०८१ वैशाख १७ गते र २०८१ पुस २२ गतेको आदेश अनुसार आफूसँग भएको सबुद प्रमाणसहित आफैँ वा प्रतिनिधिमार्फत अदालतमा प्रतिउत्तरपत्र लिई हाजिर हुन भनिएको छ ।
काठमाडौँ कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी), उपाध्यक्ष ललितपुरको धापाखेल बस्ने देवेन्द्रबाबु राई, कोषाध्यक्ष ललितपुरको गोदावरी बस्ने कुमार रम्तेल, सचिव पासाङ दोर्जे लामा, सहसचिव कविता तामाङ र व्यवस्थापक भूपेन्द्र राईविरुद्ध अदालतले २१ दिने म्याद जारी गरेको हो ।