• २१ माघ २०८१, सोमबार

सिंहदरबारमा मेलम्चीको पानी,पाइपलाइन जोड्न आनाकानी

blog

काठमाडौँ, माघ २१ गते । काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको चार वर्ष पुग्न लाग्दासमेत सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतका मन्त्रालय, विभिन्न सरकारी कार्यालयमा अहिलेसम्म मेलम्ची खानेपानी आयोजनाको पाइप जडान गरिएको छैन । यी कार्यालयमा बोरिङ, ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको छ । २०७७ साल चैत २० गते पहिलो पटक काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता प्रेमप्रसाद आचार्यले यस कार्यालयमा पनि अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान हुन नसकेको बताउनुभयो । उहाँले कार्यालयमा बोरिङको पानीका साथै खरिद गरिएको जारको पानी प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पानी प्रयोजनका लागि ‘डिप बोरिङ’ जडान गरिएको छ ।

उहाँका अनुसार मेलम्ची खानेपानी आयोजनाको पाइप सिंहदरबार परिसरमा आइसकेको छ । विभिन्न मन्त्रालय र कार्यालय जोड्ने प्रक्रियामा छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ट्याङ्कर र बोतलको पानी बन्द गरिएको छ । पिउनका लागि जारको पानी प्रयोग गरिएको छ । अन्य प्रयोजनका लागि बोरिङको पानी प्रयोग गरिएको छ ।

मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले सिंहदरबार परिसरमा मेलम्चीको पानी वितरणका लागि अनामनगर भण्डारण केन्द्रबाट दुई सय एमएमको पाइप सिंहदरबार परिसरमा पुर्‍याइएको जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयले सरकारी कार्यालय र संस्थानलाई सिधै पाइप जडान गर्न नमिल्ने बताउँदै उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ग्राहक बनेर आएको अवस्थामा मात्र यस एकाइले पाइप जडान गर्न सक्ने स्पष्ट पार्नुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का योजना, डिजाइन तथा कार्यान्वयन शाखाका प्रमुख विजयकुमार विश्वकर्माले मेलम्चीको पानी वितरणका लागि सिंहदरबारपरिसरमा थोक वितरण प्रणालीको पाइप पुर्‍याइए पनि त्यहाँका विभिन्न मन्त्रालय र कार्यालयमा पानी वितरण पाइप जडान हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी वितरणका लागि नेटवर्क विस्तार गर्न मन्त्रालय र कार्यालयलाई बजेट तथा कार्यक्रममा राख्न पटक पटक भने पनि त्यसलाई अगाडि बढाउने पक्षमा कोही पनि देखिएको छैन । खोइ किन हो ? पटक पटक प्रस्ताव गरिए पनि काम अगाडि बढ्न सकेको छैन ।” 

सम्बन्धित निकाय नै किनेर खान्छन् पानी 

मेलम्ची खानेपानी आयोजनालगायत मेलम्चीको पानी वितरण व्यवस्थापनको जिम्मा पाएका कार्यालयमा समेत अहिलेसम्म मेलम्चीको पाइप जडान हुन सकेको छैन । यी कार्यालयले आफैँ ट्याङ्कर, जार र बोतलको पानी किनेर खाने गरेका छन् । मेलम्ची खानेपानी आयोजना कार्यालय, मेलम्चीको पानी वितरण तथा पाइप जडानको जिम्मेवारी पाएका मेलम्ची खानेपानी आयोजना कार्यान्वयन एकाइ कार्यालय, पानी वितरणको जिम्मेवारी पाएका काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालयले नै ट्याङ्कर, जार र बोतलको पानी किनेर खाने गरेको पाइएको छ ।