• २८ वैशाख २०८१, शुक्रबार

शान्ति सेनामा नेपालको ६४ वर्ष

blog

संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना पठाउनेमा नेपाल दोस्रो स्थानमा छ । नेपालसहित हाल १२१ देशका ७५ हजार ५१६ जना सैनिक गृहयुद्धमा फसेका मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् । नेपालले हाल ११ वटा द्वन्द्वरत मुलुकमा २९५ महिलासहित पाँच हजार ५७० सुरक्षाकर्मी परिचालन गरेको छ । सङ्ख्याका रूपमा नेपाल शान्ति स्थापनार्थ सुरक्षाकर्मी पठाउनेमा विश्वमा दोस्रो स्थानमा पर्छ । बङ्गलादेशले सबैभन्दा बढी छ हजार ७१० जना सैनिक शान्ति सेनामा खटाएको छ । 

नेपाल सरकारले शान्ति सेनामा हाल रहेको सङ्ख्यालाई झन्डै दोब्बर अर्थात् १० हजार पु¥याउने लक्ष्य राखेको छ । सन् १९५८ मा राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेवनानमा पाँचजना नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । शान्ति सेनामा खटाएको ६४ वर्षमा नेपालले विभिन्न ४३ वटा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि एक हजार ८४७ महिला सैनिकसहित एक लाख ४० हजार ३५४ सैनिक खटिइसकेका छन् ।

नेपाली सेनाले शान्ति सेनामा जाने सैनिकलाई विशेष तालिम दिने उद्देश्यले काभ्रेपलान्चोक पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र स्थानना गरेको थियो । सरकारले शान्ति सेनामा थप सैनिक पठाउने गरेसँगै उक्त तालिम केन्द्रलाई थप आधुनिक तथा सुविधा सम्पन्न बनाउँदै लगेको छ । उक्त तालिम केन्द्रको क्षमता विस्तार गरी विशिष्टिकृत तालिमसँगै विशेष अनुसन्धान तथा अध्ययन केन्द्र ‘सेन्टर फर एक्सिलेन्स’ को अवधारणाअनुरूप विस्तार गरिएको सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले वीरेन्द्र कार्य शान्ति तालिम केन्द्रमार्फत शान्ति स्थापनार्थ खटिने नेपालीलगायत विदेशी सैनिकलाई समेत तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो । सिलवालका अनुसार हालसम्म एक हजार ४८२ जना विदेशी सैनिकले सो तालिम केन्द्रबाट विशेष प्रशिक्षण लिई युद्धग्रस्त क्षेत्रमा खटिएका छन् ।


प्रवक्ता सिलवालले वीरेन्द्र कार्य शान्ति तालिम केन्द्रलाई ‘सेन्टर फर एक्सिलेन्स’ को अवधारणा अनुरूप विकास गरी विदेशी सैनिकलाई समेत तालिम प्रदान गर्नेगरी पूर्वाधार तथा प्रविधिको विकासमा नेपाली सेनाले उच्च प्राथमिकता दिएको समेत जानकारी दिनुभयो । वीरेन्द्र सैनिक तालिम केन्द्रलाई पूर्व तैनाथी तालिमको साथै अनुसन्धान केन्द्रको रूपमा विकास गरी शान्ति सेनामा जाने विदेशी सेनालाई समेत विशेष खालको (मिसन अनुसारको) प्रि–डिप्लोयमेन्ट ट्रेनिङ सञ्चालन गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ । 

सन् १९८६ मा सेनाले शान्ति मिसनमा जाने सेनाको प्रि–डिप्लोयमेन्ट (पूर्व तैनाथी) का लागि काभ्रेको पञ्चकालीमा ‘शान्ति सुरक्षा प्रशिक्षण शिविर’ स्थापना ग¥यो । सन् २००० मा सो शिविरलाई विस्तार गरी वीरेन्द्र कार्य शान्ति तालिम केन्द्र स्थापना गरेको थियो । तालिम केन्द्रको क्षमता तीन हजारबाट बढाएर छ हजार पु¥याइएको छ । 

द्वन्द्वरत मुलुकमा शान्ति स्थापना नेपाली सेनाले प्रस्तुत गर्दै आएको कार्यकुशलता र व्यावसायिक दक्षताको राष्ट्रसङ्घले प्रशंसा गर्दै आएको छ । नेपाललगायत विश्वका धेरै मुलुकले शान्ति स्थापनार्थ विभिन्न द्वन्द्वग्रस्त मुलुकमा आफ्ना सेना पठाउन चाहन्छन् । अनुभव, दक्षता कार्यकुशलता र प्रशिक्षणको दृष्टिले अब्बल रहेका मुलुकका सेना मात्र यसमा सहभागी हुँदै आएका छन् । 

नेपाली सेनाले आफूले प्राप्त गरेको अनुभव, कार्यकुशलतालाई उक्त तालिम केन्द्रमार्फत विदेशी सैनिकलाई समेत प्रशिक्षण दिने तयारी गरेको छ । शान्ति सेना सहभागी हुने कतिपय देशका सेनाको पूर्व तैनाथी तालिम कमजोर बनेका कारण ती मुलुकका सेना राष्ट्रसङ्घले कटौतीसमेत गर्दै गरेको छ । नेपाली सेनाको सङ्ख्या भने क्रमिक रूपमा वृद्धि भइरहेको छ । सेनाले आफूले प्राप्त गरेको विशिष्टकृत तालिम र सो तालिम केन्द्रबाट सञ्चालन गरी दक्षिण एसियाबाट सहभागी हुने सैनिकलाई प्रदान गर्ने लक्ष्य राखेको छ । सेनाले विश्व शान्तिमा पु¥याएको योगदान र अनुभवलाई थप उजागर गरी अध्ययन तथा अनुसन्धान गर्ने विशेष केन्द्रको रूपमा सेनाले तालिम केन्द्रलाई ‘सेन्टर फर एक्सिलेन्स’ अवधारणाअनुरूप विकास गर्न लागेको जनाएको छ ।

द्वन्द्वग्रस्त मुलुकको समस्या, सुरक्षा अवस्था, चुनौती तथा भौगोलिक वस्तुस्थितिबारे विशेष प्रशिक्षण तथा रणनीतिबारे सेनाले सो तालिम केन्द्रबाट विदेशी सैनिकलाई समेत तालिम सञ्चालन गर्ने तथा उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई विशेष अनुसन्धान गर्ने सुविधा उपलब्ध गराउने लक्ष्य लिएको सेनाले जनाएको छ । 

नेपाली सेनालगायत अन्य सुरक्षाकर्मीका लागि शान्ति सेनामा जानुलाई विशेष अवसरका रूपमा लिने गरिन्छ । शान्ति सेनामा सहभागी हुन सैनिक पठाउँदा सम्बन्धित देशले प्राप्त गर्ने विदेशी मुद्रा तथा सहभागी सैनिकले पाउने तलब तथा विदेशी भूमिमा खटिँदा पाएको अनुभवलाई अवसरका रूपमा लिने गरिन्छ ।

शान्ति सेनामा खटिएर जिम्मेवारी पूरा गरी सकुशल स्वदेश फर्किनु आफैँमा चुनौती छ । गृहयुद्धमा फसेका मुलुकमा विद्रोहीले प्रयोग गर्ने हतियार तथा द्वन्द्वका सिद्धान्तविपरीत शान्ति सेनामाथि हुने आक्रमणमा धेरै सैनिकले ज्यान गुमाउनुको साथै अङ्गभङ्गसमेत हुने गरेका छन् । नेपालबाट शान्ति स्थापनार्थ विभिन्न देशमा खटिने क्रममा हालसम्म एक महिलासहित ७० जना नेपाली सैनिकले विदेशी भूमिमा ज्यान गुमाएका, त्यस्तै ६६ जना सैनिक घाइते भएका छन् । हाल नेपाली सेना कङ्गो, दक्षिण सुडान, पश्चिम साहारा, इजरायल, लेवनान, माली, सिरिया, अफ्रिकन रिपब्लिक लिविया र इराकमा गरी ११ देशका १२ वटा मिसनमा नेपाली सेनालाई शान्ति स्थापनार्थ खटाइएको छ । सेनाले तालिम केन्द्रबाट सञ्चालन गरेका दुइटा तालिमलाई राष्ट्रसङ्घले मान्यता प्रदान गरेको छ । सेनाले दिने प्रि–डिप्लोइमेन्ट ट्रेनिङअन्तर्गत ‘स्टाफ अफिसर्स कोर्स’ र ‘कन्टिजेन्ट प्रि–डिप्लोयमेन्ट ट्रेनिङ’ लाई राष्ट्रसङ्घले उत्कृष्ट तालिम घोषणा गरिसकेको छ । अन्य तालिमलाई समेत सेनाले थप उत्कृष्ट बनाउँदै लगेको छ 

पूर्व तैनाथीका झन्डै एक दर्जनभन्दा बढी तालिम सेनाले सञ्चालन गर्दै आएको छ । ती तालिमलाई समेत राष्ट्रसङ्घको मान्यता पाउने गरी सेनाले गृहकार्य अघि बढाएको जनाएको छ । सेन्टर फर एक्सिलेन्सको अवधारणा कार्यान्वयन भए सेनाको महìव थप वृद्धि भई देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । 

तालिम केन्द्रले हालसम्म तीनवटा अन्तर्राष्ट्रिय संयुक्त सैन्य अभ्यास (एम्स शान्ति प्रयास– १, २, ३) सम्पन्न गरिसकेको छ । यसबाहेक ३५ वटा सैन्य अभ्यासमा देश विदेशका गरी एक हजार ४८२ सैनिकले सहभागिता जनाइसकेका छन । नेपाली सेना र अमेरिकी सेनाको ‘युएस प्यासिफिक कमाण्ड’ को समन्वयमा सन् २००० मा पहिलो पटक एम्स शान्ति प्रयास–१ सम्पन्न भएको थियो । केन्द्रबाट प्रि– डिप्लोयमेन्ट तालिम पूरा गरी एक हजार ९२० जना सैनिकलाई द्वन्द्वग्रस्त मुलुकमा जाने तयारीमा रहेको समेत सेनाले जनाएको छ ।