काठमाडौँ, मङ्सिर ११ गते । काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विदेशी चर्चित खेलाडीसमेत खेलाएर नेपाली क्रिकेट क्लब प्रतिस्पर्धामा उत्रिँदा क्रिकेटप्रेमी रमाइरहेका छन् तर यो प्रतिस्पर्धालाई अवैध कमाइको अवसर बनाउन खोज्नेको धन्दाले नियामक र नियन्त्रक निकायको टाउको दुखाएको छ ।
एनपिएलमा ‘म्याच फिक्सिङ’ को योजनासहित भारतबाट आएका दुई जना खेल सुरु भएको दोस्रो दिनै पक्राउ परे । प्रहरीको विशेष टोलीले लाजिम्पाटबाट मङ्सिर २ गते पक्राउ गरेका भारत हरियाणाका दिलप्रित सिंह र बर्दिया घर भई भारत चण्डीगढमा बस्ने रेविका सिंह ठकुरीमाथि प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
सिंहद्वयले आइपिएलमा सहभागी केही खेलाडीसम्म ह्वाट्सएप र इन्स्टाग्राममार्फत पहुँच पु¥याई एक करोडदेखि १० करोड रुपियाँसम्मको प्रलोभन देखाई ‘म्याच फिक्सिङ’ गर्ने योजनासाथ नेपाल आएको पाइएको छ । एनपिएल खेल खेलमैदानमै बसेर सट्टेबाजी चलाइरहेका थप आठ जना भारतीय नागरिक गत आइतबार पक्राउ परे । पक्राउ पर्ने भारत आन्ध्रप्रदेशका राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साइकुमार तम्मिसेट्टी र सेखचन्द बसल छन् । उनीहरूका साथबाट बरामद विद्युतीय उपकरण र बैङ्किङ कारोबार अनुसन्धान गर्दा ‘बेटाकुलर लाइभ’ बेटिङ साइटमार्फत झन्डै दुई करोड रुपियाँको सट्टेबाजी कारोबार गरेको खुलेको छ ।
यी केही प्रतिनिधि घटना हुन् । एनपिएल खेलमा हुन सक्ने अवैध सट्टेबाजी नियन्त्रणका लागि नेपाल प्रहरीले सूक्ष्म निगरानी बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालयले विज्ञसहितको टोली परिचालन गरेको छ । साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सम्भावित घटनासँग विशेष सूचना सङ्कलन गरिरहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख रमेश थापाले आइपिएल खेलमा हुन सक्ने अवैध ‘म्याच फिक्सिङ’ र सट्टेबाजीका घटनामाथि सबै प्रकारका सुरक्षा निगरानी बढाइएको बताउनुभयो । खेलमैदानलगायत भर्चुअल रूपमा हुन सक्ने अवैध आर्थिक प्रलोभन र लेनदेनमाथि आवश्यक निगरानी भइरहेको बताउँदै प्रमुख थापाले भन्नुभयो, “एनपिएल खेलमा अवैध आर्थिक कारोबार रोक्न नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको समन्वयमा विशेष प्राविधिक टोली खटिएका छन् । जसकारण खेल सुरु हुनासाथ केही व्यक्ति पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।”
थापाका अनुसार हालसम्म पक्राउ परेका १० जनामाथि अनुसन्धान भइरहेको छ र अन्यमाथि पनि निगरानी बढाइएको छ । सट्टेबाजी चलाउने गिरोहले विभिन्न दलालमार्फत खेलाडीसम्म पहुँच पु¥याई खेल नै पूर्वनिर्धारित ‘फिक्सिङ’ गर्ने र सोही आधारमा सट्टेबाजीमार्फत ठुलो आर्थिक लाभ लिने गरेको पाइन्छ ।
अन्तर्राष्ट्रिय खेलमा देखिने यस्तो अवैध क्रियाकलापमाथि क्रिकेटको अन्तर्राष्ट्रिय नियमनकारी निकाय आइसिसीले समेत निगरानी गर्ने गरेको छ । एनपिएल खेलमा यस्तो घटना नहोस् भनेर प्रत्येक टोलीसँग प्रहरीका फरक फरक सम्पर्क व्यक्ति नै खटाइएको छ । प्रहरीले क्यान र आइसिसीको ‘एन्टिकरप्सन’ टोलीबाट प्राप्त सूचनाका आधारमा समेत विशेष निगरानी बढाएको छ ।
विद्युतीय माध्यमबाट हुने यस्ता अवैध गतिविधि रोक्ने प्रहरीका विशेष प्राविधिक जनशक्ति र सादा पोसाकमा निगरानी टोली खटाइएको छ । यो विशेष टोलीले एनपिएलमा सहभागी आठ वटा क्रिकेट टिमसँग निरन्तर सम्पर्क र समन्वयमा गरिरहेको छ । ‘स्पट फिक्सिङ’ मार्फत खेलाडीलाई प्रलोभनमा पार्ने र सट्टेबाजीका लागि प्रयोग गर्ने माध्यमबारे पनि निगरानी बढाइएको छ । अपराध संहिताको दफा १२५ मा जुवा तथा सट्टेबाजीलाई गैरकानुनी ठहर गरी यस्तो कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था छ ।