• २२ मङ्सिर २०८२, सोमबार

पोखराको टुँडिखेलमा ल्होछार महोत्सव हुने

blog

पत्रकार सम्मेलनमा तमु ल्होछार महोत्सव २०८२ बारे जानकारी दिइँदै । ।

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर २१ गते । पुस १५ ताका दुई संवत फेरिन्छन् । इस्वीसंवत् २०२६ सँगसँगै गुरुङहरुको नयाँ वर्ष अर्थात् तमु ल्होसार पनि पर्छ । 

अङ्ग्रेजी नयाँ वर्षमा साढे दुई दशकदेखि महोत्सव गर्दैआएको पोखरामा यस वर्षबाट अर्काे महोत्सव हुने भएको छ । गुरुङ (तमु) समुदायको महान् पर्व ल्होछारको अवसरमा पोखरामा तीन दिने तमु ल्होछार महोत्सव २०८२ हुने भएको हो । 

महोत्सव आयोजक तमुधीं नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी पुस १४, १५ र १६ गते पोखरा १ बगरको पुरानो टुँडिखेलमा महोत्सव गर्ने जानकारी दिएको छ ।  

पुस १५ बाट सप्री ल्हो (सर्प वर्ग) को बिदाइ र त ल्हो (घोडा वर्ग) को आगमनको हुन्छ । सो अवसरमा हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको तमुधीं नेपालका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक हुमबहादुर गुरुङले जानकारी दिनुभयो । 

“हामी आफ्नै साँघुरो घेराभित्र रमायौं होला” अध्यक्ष गुरुङले भन्नुभयो, “राष्ट्रिय चाडपर्व अब तमुको मात्र नभइ हामी सबैको भएकाले एकता, सद्भाव, सांस्कृतिक एवं राष्ट्रियता सुदृढ गर्ने पर्वको रूपमा पोखराको ऐतिहासिक पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सवको रूपमा मनाउन लागिएको हो ।” 

महोत्सवमा तमु समुदायको मौलिक परम्परा, संस्कृति र भेषभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ भने खेलकुद प्रतियोगिता, लोकदोहोरी तथा कन्सर्ट जस्ता कार्यक्रम पनि हुनेछन् । महोत्सव ३० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा हुने तमु ल्होछार भलिबल कपको विजेताले एक लाख ५० हजार, उपविजेताले ८० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमलाई समान २५ हजार प्रदान गरिने भलिबल खेल संयोजक अमृत गुरुङले बताउनुभयो । 

पुरुषतर्फको खुला छेलो प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपियाँ, द्वितीयले २५ हजार रुपियाँ र तृतीयले १० हजार रुपियाँ पाउने छन् । सामूहिक खुला लोकनृत्य प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार रुपियाँ, द्वितीयले ५० हजार रुपियाँ, तृतीयले २५ हजार रुपियाँ र सान्त्वना हुनेले १५ हजार पुरस्कार पाउने छन् । 

महोत्सव गर्न अध्यक्ष हुमबहादुर गुरुङको संयोजकत्वमा दुई सय सदस्यीय मूल आयोजक समिति र विभिन्न २६ उपसमिति गठन भएका छन् । महोत्सव गर्न ३७ लाख १० हजार खर्च हुने अनुमान छ ।