एक सय चारबर्से जहानियाँ राणाशासन समाप्त पार्ने पुनित मनोकाङ्क्षाका साथ गठन भएको थियो प्रजा परिषद् । परिषद् ऐतिहासिक दृष्टिकोणले सुसङ्गठित प्रथम राजनीतिक दल थियो । यो नेपाली भूमिभित्र गठन भएकाले विशुद्ध रूपमा स्वदेशीबाटै सङ्गठित थियो । प्रजापरिषद्का अध्यक्ष टङ्कप्रसाद आचार्य, उपाध्यक्षमा दशरथ चन्द, महामन्त्रीमा रामहरि शर्मा र सदस्यमा धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह, जीवराज शर्मालगायत १८ जना भएको दल थियो । मुख्य ध्येय राणा शासनको अन्त्य थियो । पार्टीको उद्देश्यलाई दशरथ चन्दले लेखे–श्री ५ महाराजधिराजको संवैधानिक नेतृत्वमा नेपालमा बेलायतको जस्तै प्रजातन्त्र स्थापना गर्नु नेपाल प्रजापरिषद्को उद्देश्य रहने छ । तथापि यसभन्दाअघि ‘प्रचण्ड गोरखा’ नामक राजनीतिक दल गठन नभएको होइन, जुन सङ्गठित नहुँदै त्यसलाई जहानियाँ शासनले जरै उखेलेका थिए ।
नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद् मानिएको छ, जसको विसं १९९३ जेठ २० मा जन्म भयो । संस्थापक अध्यक्ष टङ्कप्रसाद आचार्य थिए । नेपाली राजनीतिक मञ्चका शिखर पुरुष टङ्कप्रसादलाई ‘जिउँदो सहिद’ मात्र नभएर राजनीतिज्ञमध्येका सबैभन्दा अग्रज ‘आदि राजनीतिज्ञ’ को समेत संज्ञा दिन सकिन्छ । १९६९ सालमा परासीमा जन्मेका उनले बाल्यकालदेखि नै अध्ययन, विचार र अनुशासनलाई आफ्नो जीवनको केन्द्र बनाए । राणाशासनको निरङ्कुश प्रवृत्तिले आचार्यको राजनीतिक चेतना तीव्र रूपमा विकास ग¥यो ।
देशमा स्वतन्त्रता, समानता र मानव अधिकारको अभावले उनले लेख, संवाद र बौद्धिक सहभागितामार्फत राजनीतिक परिवर्तनको पक्षमा आवाज उठाए । तत्कालीन समय संवेदनशील र जोखिमपूर्ण थियो, किनकि राणा सरकारविरुद्ध बोल्नु भनेको जेल, यातना र निगरानीको जीवन स्वीकार्नु थियो । आचार्यले यी सबै जोखिमलाई बेवास्ता गर्दै जनताको स्वतन्त्रताको पक्षमा अडान लिए । काराबासमा बिताएका वर्षले उनको राजनीतिक दृष्टि परिष्कृत भयो, जहाँ उनले विधिको शासन, नैतिक नेतृत्व र लोकतान्त्रिक संरचनाको अपरिहार्यता गहिरो साथ बुझे । टङ्कप्रसादको राजनीतिक विचार आधुनिक लोकतन्त्रको मूल सिद्धान्तसँग नजिक छन् । उनले राज्यसत्तालाई जनमुखी, उत्तरदायी र मर्यादित हुनु पर्छ भन्ने विश्वास गर्थे । नागरिक स्वतन्त्रता, संवैधानिकता र बहुदलीय प्रतिस्पर्धा लोकतान्त्रिक राज्यको आधार हुन् भन्ने उनी मान्थे ।
राजनीतिक दलप्रति टङ्कप्रसादको दृष्टि पनि आधुनिक र संस्थागत थियो । दलहरू जनताको सङ्गठनात्मक आवाज हुन्, दलभित्र लोकतन्त्रबिना राष्ट्रमा लोकतन्त्र टिक्न सक्दैन । व्यक्तिवाद वा वंशवादले दललाई कमजोर बनाउँछ भन्ने उनको धारणा आज पनि उत्तिकै सान्दर्भिक छ । उनी पार्टीभित्र संयम, अनुशासन र नीतिगत स्पष्टताका पक्षधर थिए, जुन कुरा अहिले नेपाली दलगत राजनीतिमा अभाव जस्तै देखिन्छ । उनको अर्को महìवपूर्ण पक्ष राजनीतिक नैतिकता हो । राजनीति नैतिकताविहीन भएपछि राष्ट्र कमजोर र अविश्वसनीय बन्छ भन्ने आचार्यको दृढ विश्वास थियो । उनी राजनीतिक पदलाई शक्ति वा व्यक्तिगत लाभको साधन होइन, जिम्मेवारी र सेवाको ठाउँ ठान्थे । निर्णय समयमा, विवेकका साथ र सार्वजनिक हितलाई केन्द्रमा राखेर गर्नु पर्छ भन्ने उनी मान्थे । उनको नेतृत्व शैलीमा शिष्टता, संयमता, विवेकशीलता र उत्तरदायित्वको गहिरो प्रभाव देखिन्थ्यो ।
आजको राजनीतिक संस्कृति जहाँ प्रस्तुतिमूलकता, व्यक्तिगत लाभ र आन्तरिक द्वन्द्व प्रमुख समस्याका रूपमा देखिन्छन्, त्यहाँ टङ्कप्रसाद जस्ता व्यक्तिको स्मरण अझ महìवपूर्ण बन्छ । विसं २०१२ मा नेपालमा टङ्कप्रसाद प्रधानमन्त्री बने । उनको कार्यकाल लामो नहोला तर प्रभावशाली थियो । उनले राजनीतिक जीवनमा राष्ट्रहित, पारदर्शिता र सेवा भावनालाई महìव दिए । उनका कदम तीव्र, नाटकीय वा व्रmान्तिकारी थिएनन् तर स्थायी र संस्थागत सुधारको दिशामा केन्द्रित थिए ।
प्रशासनलाई विधिसम्मत बनाउन, कूटनीतिक सम्बन्ध विस्तार गर्न, प्रेस स्वतन्त्रतालाई सम्मान गर्न र राजनीतिक संवादलाई प्रोत्साहन गर्न उनले महìवपूर्ण पहल गरे । विशेषतः बहुदलीय प्रतिस्पर्धा, खुला अभिव्यक्ति र नीतिनिर्माणमा संस्थागत प्रव्रिmयाको महìवलाई उनले व्यवहारमै लागु गरे । देशको राजनीतिक परिवेश फेरिन थालेको अवस्थामा उनका यी पहल प्रजातान्त्रिक अभ्यासको आधार निर्माण गर्ने कार्यका रूपमा स्मरण गरिन्छ । टङ्कप्रसादको योगदान केवल उनको पदावधिसँग सीमित छैन; उनी नेपालको राजनीतिक संस्कृतिमा आदर्श, अनुशासन र विवेकको स्थायी छाप छोडेर जान सफल भएका छन् । नेपालमा राजनीतिक अस्थिरता, पार्टीभित्रको अव्यवस्था, नैतिक सङ्कट र अविश्वासपूर्ण वातावरण देखिँदा उनको विचार आज पनि पर्याप्त सान्दर्भिक देखिन्छ । दलभित्र लोकतान्त्रिक अभ्यास, नीतिमूलक प्रतिस्पर्धा, जनउत्तरदायित्व, पारदर्शिता र राजनीतिक नैतिकता– यी सबै कुरा समाजले अहिले महसुस गरिरहेको आवश्यकता हो । अतः टङ्कप्रसादका विशेषतालाई यस प्रकारले व्याख्या गर्न सकिन्छ ।
लोकतन्त्रका अग्रणी नायक
साहित्यमा हामीले जसरी नेपाली साहित्यको आदिकवि भनी मानेका छौँ, त्यसै गरी राजनीति क्षेत्रमा देशमा प्रजातन्त्र स्थापनार्थ सङ्गठित भई आफ्नो जीवनको पर्वाह नगरी प्रजा परिषद्को माध्यमबाट व्रmान्तिको आरम्भ गरियो । राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापना गर्ने अग्रणी नायकको रूपमा टङ्कप्रसादलाई लिन सकिन्छ । पछि उनको मार्ग पछ्याउँदै नेपाली कांग्रेसको नेतृत्वमा सिङ्गो जनसमुदायको प्रयासले २००७ सालमा प्रजातन्त्रको स्थापना भयो ।
पञ्चायतभरि नै उनले राष्ट्रवादी प्रजातान्त्रिक संयुक्त जनआन्दोलनको आवश्यकता आँैल्याए र सोही मार्गदर्शनबाट सफलता पनि प्राप्त भएकै हो ।
आधुनिक प्रशासनिक व्यवस्थाका जनक
टङ्कप्रसाद प्रधानमन्त्री भएको समयमा आधुनिक प्रशासन व्यवस्थाको सूत्रपात गरियो । २०१३ सालमा निजामती सेवाको स्थापना भयो, जसबाट देशको आधुनिक प्रशासनिक निकायले आधारशिला प्राप्त गरे । तसर्थ उनलाई नेपालको आधुनिक प्रशासनिक व्यवस्थाको जनक सम्बोधन गर्दा अतिशयोक्ति नहोला ।
राष्ट्रवादी छवि
राजनीतिक दलको निर्माण व्रिmयाकलाप, आन्दोलन र व्रmान्ति आफ्नै बलबुताले राष्ट्रभित्रबाटै हुनु पर्छ भन्ने उहाँको तर्क थियो । मुलुकभन्दा बाहिर गएर राजनीति गर्दा जुन देशबाट राजनीति गरिन्छ, त्यस राष्ट्रले हामीलाई प्रभाव पार्छ भन्ने उनको निक्र्योल थियो । टङ्कप्रसादको कार्यकालमा नेपालले पञ्चशीलको आधारित असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको हो । हाम्रो जस्तो जटिल भूराजनीतिक परिस्थितिमा रहेको देशको सार्वभौमसत्ता र सुरक्षाका लागि सञ्जीवनी बुटीको कार्य गर्छ भन्ने मान्यता राखिएको थियो, जुन समकालीन विश्व परिस्थितिमा पनि उपयुक्त छ । नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारतर्फ उनले सुरु गरेको प्रयास पनि उल्लेखनीय छ । भारतसँगको सम्बन्धलाई प्राविधिक, आर्थिक र कूटनीतिक रूपमा व्यवस्थित गर्न, तथा अन्य देशसँग पनि नेपाललाई विश्वसामु चिनाउन उनले आधार तयार गरे । यो कूटनीतिक सोचले नेपाललाई आन्तरिक राजनीतिक परिवर्तनसँगै बाह्य सम्बन्धमा पनि आधुनिक संवेदनशीलतामा प्रवेश गरायो ।
हक्की स्वभाव
टङ्कप्रसादम दृढ इच्छाशक्तिका साथै हक्की स्वभाव पनि रहेको पाइन्छ । राणा शासन अन्त्यका लागि चालिएका पर्चा अभियान तथा सिंहदरबारमा मुद्दा चलाउने र केलाउनेलाई दिएको बयान हक्की स्वभावको परिचायक थियो । जति बेला मौलिक हकको चर्चा गर्दा मात्रै पनि अपराध मानिन्थ्यो, उतिखेर राणा शासन निर्मूल गर्न राजनीतिक सङ्गठन खोली अहोरात्र लागिपर्नाले नै प्रस्ट हुन्छ, उहाँको यही गुणबाट प्रभावित भएर २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्दा टङ्कप्रसादलाई नै अध्यक्ष बनाइएको थियो । स्मरणीय के छ भने राष्ट्रिय कांग्रेसको स्थापना कलाकत्तामा भएको थियो र टङ्कप्रसाद जेलमा थिए ।
उत्साहित राणाविरोधी युवाको कलकत्ताको जमघटमा गणेशमान पनि थिए । टङ्कप्रसादको नेतृत्व क्षमतालाई आँकेर नेपाली सचेत युवाले छनोट गरेका थिए ।
सहिदप्रति इमानदार
उनी राष्ट्रप्रति मात्र नभएर मुलुकमा प्रजातन्त्रको स्थापनार्थ आफ्नो प्राणको आहुति दिने सहिदप्रति पनि इमानदार थिए । टङ्कप्रसादका प्रत्येक आलेख, भाषण र वक्तव्यमा सहिदहरूप्रति समर्पित भावना छल्किन्छन् । सहिदको सपना साकार पार्न नसकिएको र सहिदको सपना पूरा गर्नु हामी सबैको दायित्व हो भन्ने उनको सद्भावना थियो ।
नेपाल र नेपालीलाई लोकतन्त्र र मानव अधिकारका लागि १९९३ सालमा नै सङ्गठित मुखरित गर्ने अग्रणी राजनेता भनेर मात्र टङ्कप्रसादलाई सीमित गर्न सकिँदैन अपितु, नेपालको निजामती प्रशासनिक व्यवस्था, नेपाल राष्ट्र बैङ्क, त्रिभुवन विश्वविद्यालय, प्रज्ञा–प्रतिष्ठान, योजनाबद्ध विकासको थालनी, भूमिसुधार योजना, लोक सेवा आयोगको स्थापना उनकै कार्यकालमा भएको थियो । २०४९ सालमा टङ्कप्रसादको देहावसान भए पनि नेपाल र नेपालीलाई उनका सत्कर्मले स्मरण गराउने छ । उनको नाम, मूल्य र राजनीतिक विरासत आज पनि जीवित छ । टङ्कप्रसादले नेपालको राजनीतिक चेतना, लोकतान्त्रिक अभ्यास र सुसंस्कृत नेतृत्वलाई मार्गदर्शन गर्ने बाटो देखाएका थिए । उनी विवेकशील, नैतिक र जनहित–केन्द्रित नेतृत्वको प्रतीक हुन् । नेपालको राजनीतिक यात्रामा उनले राखेका इमान, नैतिकता र संस्थागत सोचका मूल्य भविष्यका पुस्ताका लागि पनि प्रेरणादायी रहिरहने छन् ।