इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर २० गते । जिल्लाको रामपुरमा जारी दोस्रो भम्बक युनाईटेड कपको उपाधिका लागि आयोजक भम्बक युनाईटेड क्लव र एनवाईसी नरेठाँटी गल्कोटबिच प्रतिस्पर्धा हुने भएको छ । क्लव स्तरीय आमन्त्रित भलिबल प्रतियोगिताको उपाधीका लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।
रामपुर नगरपालिका–५, भम्बकमा जारी दोस्रो भम्बक युनाईटेड कपअन्तर्गत भएको प्रतियोगिताको सेमिफाईनल खेलमा जित निकाल्दै दुवै टिमले फाइनलको यात्रा तय गरेको हो । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भम्बक युनाईटेड, पाल्पा भलिबल संघलाई ३–२ सेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
खेलमा पहिलो र दोस्रो सेट पाल्पा भलिबल संघले २५–२२ र २९–२७ अङ्कसहित जित्न सफल भएको थियो । अन्तत तेस्रो, चौथो र पाँचौं सेट २५–१८, २५–१५, १५–०६ अङ्कसहित हात पार्दै भम्बकले फाइनलमा पुग्न सफल भएको हो ।
दोस्रो सेमिफाइनल खेल एनवाईसी नरेठाँटी गल्कोट बागलुङ र ठकुरी समाज शुक्लागण्डकी तनहुँबिच भएको थियो । एनवाईसीले ३–१ सेट अन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो । पहिलो, दोस्रो र चौथो सेट एनवाईसीले २५–१९, २५–१७ र २५–१४ अङ्कसहित जित्न सफल भएको थियो । तेस्रो सेट ठकुरी समाजले २५–१९ अङ्कसहित हात पारेको थियो ।
फाइनल खेल दिउँसो १ बजे हुने खेल संयोजक अनुप मल्लले जानकारी दिनुभयो । त्यस्तै, तृतीय स्थानका लागि पाल्पा भलिबल संघ र ठकुरी समाजले बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ ।
भम्बक युनाईटेड युथ क्लवको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद दुई लाख, एक लाख, ५० हजार र ३० हजार रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । भम्बक खेल मैदानमा भइरहेको प्रतियोगितामा पाँच वटा क्लवहरुको सहभागीता रहेको छ ।