राम थापा
गण्डकी, मङ्सिर २० गते । इँटा र काष्ठकलाले सजिएको फल्चा । सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार । साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो ।
पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित फल्चामा उक्त साँझ अघिपछिको भन्दा बेग्लै चहलपहल थियो । ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमले मानिसहरुलाई फल्चामा जुटाएको थियो । मौलिक लोकबाजासहित बालकलाकारको प्रस्तुति सुन्न र हेर्न दर्शकहरु लालयित देखिन्थे ।
स्वरसम्राट नारायणगोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त साङ्गीतिक साँझको आयोजना गरिएको थियो । बर्सेनि मङ्सिर १९ गते नारायणगोपाल र मङ्सिर ६ गते झकलमानको स्मृति दिवस मनाउने गरिन्छ । पोखराको रेडियो अन्नपूर्णले झलकमान गन्धर्व सारङ्गी पाठशालासँगको सहकार्यमा मौलिक स्वरुपमा यो कार्यक्रम गरेको हो । पाठशालाका बालकलाकारले खचाखच दर्शकमाझ नारायणगोपाल र झलकमानका गीत सुनाए । उनीहरुको गायन र वाद्यवादन कला हेरेर दर्शकदीर्घाले ताली र हौँसला दिएका थिए ।
सारङ्गी र मादलको धुनमा स्वरस्रमाट नारायणगोपालका गीत पृथक सुनिएका थिए । उनीहरुले नारायणगोपालका ‘केही मिठो बात गर...’लगायत चर्चित गीत सुनाए । ‘आमाले सोध्लिन् नि...’बाट गाउन सुरु गरेका बालकलाकारले झलकमानका ‘रामराम राम गए वनैमा...’, ‘राधा पियारीको...’को आदि गाए । बालकलाकार अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले प्रस्तुती राखेको पाठशालाका प्रशिक्षक समिर गायकले जानकारी दिनुभयो ।
नेपाली सङ्गीत जगत्का दुई मुध्र्यन्य प्रतिभाको स्मृति दिवससँगै रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले बताउनुभयो । कार्यक्रमको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो ।
सारङ्गी पाठशालाका प्रतिभाको सम्मानसहित थप अवसर सिर्जना गर्ने प्रयास स्वरुप कार्यक्रममा वडा कार्यालयले पनि सहकार्य गरेको वडाध्यक्ष मर्सानीले बताउनुभयो । उहाँले कला, सङ्गीत र साहित्यको श्रीवृद्धिका लागि हातेमालो गर्न महानगरपालिका र वडा कार्यालय सँधै तयार रहेको बताउनुभयो । कवि एवं संस्कृतिकर्मी श्रेष्ठले गायक नारायणगोपाल र झलकमानको व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा कला तथा सङ्गीतप्रेमी दर्शकको बाक्लो उपस्थिति थियो ।
रेडियो अन्नपूर्णले बर्सेनि नारायणगोपालको स्मृतिमा ‘नारायण गोपाल साँझ’ आयोजना गर्दै आएको छ । रजत वर्षका अवसरमा यस अगाडि रेडियोले पोखरा महानगरपालिका–१४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, विभिन्न बहसमूलक कार्यक्रम, ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय, कास्कीमा स्टेशनरी सामग्री वितरण गरेको थियो ।
यस्तै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोग लगायतका कार्यक्रम गरिसकेको छ । ‘स्मृतिमा झलकमान र नारायणगोपाल साँझ’ कार्यक्रमको मुख्य प्रवद्र्धक पोखरा महानगरपालिका–९ कार्यालय रहेको थियो । रासस