• २१ मङ्सिर २०८२, आइतबार

विस्ताराधीन पूर्व–पश्चिम राजमार्ग : यात्रु र जनावरमैत्री संरचना

blog

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमकखण्डमा निर्माणको काम हुँदै ।

काठमाडौँ, मङ्सिर २१ गते । एसियाली विकास बैङ्कको ऋण सहयोगमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली छिचोल्ने पूर्व–पश्चिम राजमार्ग विभिन्न छ खण्डमा विस्तार भइरहेको छ । एसियाली राजमार्गको मापदण्ड (स्ट्यान्डर्ड) मा विस्तार भइरहेको यो राजमार्गको काँकडभिट्टा–लौकही (९३ किलोमिटर) र कञ्चनपुर–कमला खण्ड (८६.८३ किलोमिटर) मा दस वटा ‘भेहिकल अन्डरपास’ र नौ वटा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेका छन् । त्यसै गरी पैदलयात्रीका लागि चार वटा आकासेपुल (ओभर हेड ब्रिज) समेत निर्माण भइरहेका छन् ।

काँकडभिट्टा–लौकही खण्डमा तीन वटा सवारीसाधन गुड्ने ‘भेहिकल अन्डरपास’ र एउटा जनावर हिँड्ने बाटो (एनिमल अन्डरपास) निर्माण भइरहेका छन् भने राजमार्गको कमला–कञ्चनपुर खण्डमा सात वटा ‘भेहिकल अन्डरपास’ र आठ वटा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेका छन् । यसै खण्डमा पैदल यात्रीका लागि चार वटा आकासेपुल (ओभर हेड ब्रिज) निर्माण भइरहेका छन् ।

काँकडभिट्टा–लौकही खण्डका आयोजना प्रमुख सुनीलबाबु पन्तले यस खण्डमा सवारीसाधन गुड्ने ‘भेहिकल अन्डरपास’ तीन वटा र जनावर हिँड्ने बाटो (एनिमल अन्डरपास) एउटा निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार झापाको चारआली, चारपाने र विर्तामोड चोकमा ‘अन्डरपास’ निर्माण भइरहेको छ । त्यसै गरी चारआलीको जङ्गल क्षेत्रमा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेको छ ।

उहाँले भन्नुभयो, “चारपानेमा ‘भेहिकल अन्डरपास’ निर्माण भइरहेको छ । चारआलीमा पैदल यात्रुका लागि ‘पेडिस्ट्रियन अन्डरपास’ को काम सम्पन्न भइसकेको छ । अब ‘भेहिकल अन्डरपास’ को काम सुरु हुन्छ ।” उहाँका अनुसार एउटा ‘भेहिकल अन्डरपास’ मा दुई वटा ‘पेडिस्ट्रियन अन्डरपास’ निर्माण भइरहेको छ । यसमा सवारीसाधन माथि भएर जान्छ र पैदलयात्री तलबाट वारपार गर्ने गरी निर्माण भइरहेको छ ।

उहाँले भन्नुभयो, “चारपानेमा ‘भेहिकल अन्डरपास’ को काम भइरहेको छ । चारआलीमा अब सुरु हुन्छ । विर्तामोड चोकमा ‘भेहिकल अन्डरपास’ र ‘पेडिस्ट्रियन अन्डरपास’ को काम सुरु हुन सकेको छैन । अब सुरुमा चारआलीको र त्यसपछि विर्तामोडको काम सुरु हुन्छ ।”

दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत एसियाली राजमार्गको मापदण्डमा विस्तार भइरहेको यस खण्डको निर्माणका लागि २०८० कात्तिक २ गते ठेक्का सम्झौता भएको थियो । यो आयोजना २०८३ माघ १८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको कुल लागत ३४ अर्ब ९१ करोड रुपियाँ रहेकोमा छ अर्ब ६८ करोड रुपियाँ खर्च भइसकेको छ ।

त्यसै गरी विस्तार भइरहेको राजमार्गको कमला–कञ्चनपुर खण्डमा सात वटा ‘भेहिकल अन्डरपास’ र आठ वटा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेको सो खण्डका आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार सात वटा ‘भेहिकल अन्डरपास’ मा १४ वटा ‘पेडिस्ट्रियन अन्डरपास’ निर्माण भइरहेका छन् । 

उहाँका अनुसार ‘भेहिकल अन्डरपास’ मै ‘पेडिस्ट्रियन अन्डरपास’ निर्माण गर्ने गरी डिजाइन गरिएको छ । ‘भेहिकल अन्डरपास’ को दायाँबायाँ ‘पेडिस्ट्रियन अन्डरपास’ निर्माण गरिने छ । एक सेटमै एउटा ‘भेहिकल अन्डरपास’ र दुई वटा ‘पेडिस्ट्रियन अन्डरपास’ निर्माण हुने छ ।

आयोजना प्रमुख प्रजापतिले भन्नुभयो, “अहिले ‘भेहिकल अन्डरपास’ दुई वटा र ‘पेडिस्ट्रियन अन्डरपास’ चार वटा निर्माण भइरहेका छन् । आठ वटा ‘एनिमल अन्डरपास’ मध्ये सात वटाको निर्माण सम्पन्न भइसकेको छ । यसै खण्डमा पैदलयात्रीका लागि निर्माण गरिने चार वटा आकासेपुल (ओभर हेड ब्रिज) निर्माण सुरु हुन लागेको छ ।” उहाँका अनुसार दमकमा तीन वटा, इटहरी क्षेत्रमा चार वटा ‘भेहिकल अन्डरपास’ निर्माण भइरहेका छन् । त्यसै गरी पथरी र बेलबारीको जङ्गल क्षेत्रमा ‘एनिमल अन्डरपास’ हरू निर्माण गरिएका छन् ।

कञ्चनपुर–कमला खण्डको विस्तार तथा स्तरोन्नतिका लागि नेपाल सरकार र निर्माण कम्पनीबिच २०७७ असार ११ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० कात्तिक ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा अहिले म्याद थप गरेर आयोजनाको म्याद २०८३ पुस १६ गतेसम्म थप गरिएको छ । १५ अर्ब ६६ करोड रुपियाँ लागतमा यस खण्डमा विस्तार भइरहेको छ ।

‘अन्डरपास’ राजमार्ग विस्तार अन्तर्गत नै आयोजना प्रमुख प्रजापतिले राजमार्ग विस्तार कार्यक्रम र ठेक्का अन्तर्गत नै ‘अन्डरपास’ र आकासेपुलहरू निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले ‘अन्डरपास’ र आकासेपुलका लागि अतिरिक्त ठेक्का वा रकम नछुट्याइएको स्पष्ट पार्नुभयो । दुई लेन चौडाइ भएको सो राजमार्ग अहिले सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र वन जङ्गल तथा सवारी चाप कम भएको क्षेत्रमा चार लेनमा विस्तार भइरहेको छ । 

मुलुककै यातायातको ‘लाइफ लाइन’ का रूपमा रहेको यो राजमार्ग विस्तार भएपछि तराई/मधेशसहित देशका आधाभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने विश्वास गरिएको छ । यस राजमार्गको कुल लम्बाइ एक हजार २७ किलोमिटर रहेको छ ।

‘एसियन हाइवे’ अन्तर्गत दुई राजमार्ग

नेपालको पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछ । पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार ‘एसियन हाइवे’ को विभिन्न स्ट्यान्डर्डहरू हुन्छन् । अहिले ‘एसियन हाइवे’ मा परेका नेपालका दुई राजमार्ग ‘सी क्लास’ अन्तर्गत पर्छन् । यी दुई राजमार्गलाई चारलेनमा विस्तार गरी मापदण्डहरू पूरा गरेपछि ‘ए क्लास’ मा स्तरोन्नति हुन्छ ।”

‘एसियन हाइवे’ को रुट–२ थाइल्यान्डको बैङ्ककबाट सुरु भई म्यानमार, बङ्गालादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर वनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ । त्यसै गरी ‘एसियन हाइवे’ को रुट–४२ अन्तर्गत भारतको रक्सौल हुँदै नेपालको वीरगन्ज, नारायणघाट, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ ।