हरिकृष्ण ऐडी
मुगु, फागुन २८ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगुमा परिचालन गरिएका ६ सय २६ जना निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ । निर्वाचनको सुरक्षाका लागि खटिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुले एक कार्यक्रमका बीच बिदाइ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवीन्द्र थपलियाका अनुसार निर्वाचन अवधिभर जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न निर्वाचन प्रहरी र अन्य सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिएको थियो । मतदानका दिनदेखि मतगणनाको अन्तिम चरणसम्म सुरक्षा व्यवस्था चुस्त बनाइएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो ।
निर्वाचनमा खटिएका प्रहरीले जिम्मेवारीका साथ आफ्नो कार्यसम्पादन गरेको र उनीहरूलाई प्राप्त सेवा सुविधा उपलब्ध गराएर बिदाइ गरिएको कार्यालयले जनाएको छ ।