प्रनिश गिरी
कुश्मा-पर्वत, फागुन २८ गते । पर्वतको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिकाका कृषकहरु बाझो जग्गामा ओखर खेती लगाउन आकर्षित भएका छन् । परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नपाइने र गाउँघरमा खेतला पाइन छोडेपछि किसानहरुले वैकल्पिक नगदे बालीका रुपमा ओखर खेतीतर्फ ध्यान दिन थालेका हुन् ।
कृषि विकास कार्यालय पर्वतका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीका अनुसार पहाडी भेगको १८ सय माथिको उचाइको चिसो हावापानी, ढल्केको जमिन र उपयु्क्त माटोका कारण ओखर खेतीका लागि पर्वतको उत्तरी क्षेत्र लगायत आसपासका क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विस्तार गर्न सकिन्छ ।
पछिल्लो समय स्थानीय तह तथा गण्डकी प्रदेश सरकारको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले बाझो जग्गाको सदुपयोग गर्न प्रोत्साहन कार्यक्रम संचालन गरेपछि किसानहरु थप उत्साहित भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य बताउनुुहुन्छ । जलजला ९ बनौंका कृषक तम बहादुर पुनले १५ वर्ष पहिले गाउँको १८ रोपनी जग्गा किन्नु भएको थियो ।
कृषक पुनले भन्नुहुन्छ, "गाउँमा किनेको जग्गामा पहिले नै लगाइ राखेको दाते ओखरको रुख थियो । केही वर्षपछि बोटमा ओखर राम्रै गरी फल्यो । यसपाली पुरानो एक बोटमा १ सय ५० केजी फलेको मध्ये छिमेकीलाई बाँडेर बाँकी रहेको २५ केजी ओखर प्रति केजी ३ सयमा विक्री गरे । बारीमा भएको एक बोटमा फलेको ओखरका कारण पनि ओखर खेतीमा राम्रो हुन्छ भन्ने लागेको छ ।"
कृषक पुनसँग पहिलेको १८ रोपनीमा लगाएको र यसपालीको २० रोपनीमा रोपिएका समेत गरी ३८ रोपनी क्षेत्रफलमा ३ सय बढी दाते ओखरका बेर्नाहरु छन् । गाउँकै विद्यालयमा ३३ वर्ष पढाएर अवकाश लिनुभएका वडा ५ लेखफाँट घर भएका शिक्षक हिरा बहादुर जिसीले जिसी फलफूल तथा कृषि फर्म सञ्चालन गर्दै आउनुभएको छ । कृषक जिसीले आफ्ना दाजुभाईहरु गाउँको जग्गा छोडेर बसाइसराई गरी जाँदा जग्गा बाँझो परेपछि ओखरखेती गर्न थाल्नुभएको हो ।
कृषक जिसी भन्नुहुन्छ, "गाउँमा मकै, कोदो जस्ता अन्नबाली लगाइने जग्गा बाझै पल्टिएका थिए । जग्गा कमाउने जिसी दाजुभाई गाउँ छोडेर गएपछि खेती गर्ने कोही भएनन् । जग्गालाई बाझो छोड्न मन लागेको थिएन । खेती गरौ भने पनि ज्यालादारीमा खेतीको काम गर्ने युवाहरु गाउँमा छैनन् । पानीको मुहान नजिकका खेती योग्य जग्गा समेत बाझो परेका थिए । ती सवै जग्गामा ओखरका विरुवा लगाउदा आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ ।"
गाउँकै अगुवा ७० वर्षे कृषक पिरमलाल सुवेदीले पनि जीवनको उत्तरार्धमा आएर आफूले सधै मकै र धानबाली लगाउँदै आएको २० रोपनी बढी जग्गामा दाते ओखरखेती शुरु गर्नुभएको छ । ओखर खेतीमा लाग्दै गर्नुभएका कृषक सुवेदीले भन्नुभयोर्–घरमा हात लगाइदिने कोही छैनन् । उमेरले पनि नेटो काट्न थाल्यो । पाँच छोरी र त्यसपछि भएका दुई भाई छोरा पनि गाउँबाट बाहिर लागिसके । जग्गा बाँझो राख्न भन्दा ओखरखेतीले आयआर्जन बढाउन सकिएला कि भन्ने लागेको छ । एकपटक लगाएपछि वर्षौसम्म फल खान पाइने भइयो ।’ कृषकहरुका अनुसार घर वरिपरि रहेको दाते ओखर लगाएको खेतबारीमा घुसुवा बाली जस्तो हदेलो, लसुन, प्याज, मूला, अदुवा समेत लगाउन सकिन्छ ।
कृषि प्राविधिक मनिषा दर्जीका अनुसार परियोजनाले ओखर खेती विस्तारका लागि अनुदानमा विरुवा वितरण, प्राविधिक तालिम तथा बगैचा व्यवस्थापन सम्वन्धी परामर्श दिदै आएको छ । कृषकहरुले दाते ओखरका बेर्नाहरु जुम्ला र मुस्ताङको मार्फादेखि ल्याएको बताएका छन् । यही फागुनको पहिलो हप्ता लगाएको दाते ओखरको बेर्नाले अबको ५ वर्षपछि फल दिन सुरु गर्दछ ।