रामकृष्ण बोहरा
बागलुङ, फागुन २८ गते । विरशाली पन्त स्मृति कोषले तेस्रो संस्करणको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार वितरण गरेको छ । बागलुङ नगरपालिकामा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका-७ निवासी मेघराज पाण्डेयलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पूर्व शिक्षक तथा साहित्यकार र निरन्तर खोजी तथा अनुसन्धानात्मक लेख प्रकाशित गर्दै आउनुभएका पाण्डेयलाई बिहिबार २५ हजार नगदसहित पुरस्कार प्रदान गरिएको हो । पाण्डेयले उक्त पुरस्कार ग्रहण गर्दै अक्षयकोषमा जम्मा नै गरिदिनुभएको छ ।
बागलुङ नगरपालिकाले ५ लाख रुपियाँ अक्षयकोष बनाइ तीन वर्षदेखि यो पुरस्कार दिन थालेको कोषका अध्यक्ष प्रेम छोटाले जानकारी दिनुभयो । पहिलो पटक पर्वत घर भइ संस्कृत साहित्यमा निपुण जगन्नाथ रेग्मीलाई प्रदान गरिएको थियो । दोश्रो पुरस्कार धौलागिरि बहुमुखी क्यामपसका प्राध्यापक डा. दिनबहादुर थापालाई प्रदान गरिएको थियो ।
कोष सञ्चालनका लागि व्यवस्थापन समिति समेत छ । प्रेम छोटाको अध्यक्षतामा रहेको कोषको बैठकले पाण्डेयलाई पुरस्कार दिने निर्णय यसअघिनै गरेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले जिल्लाका शिक्षा, स्वास्थ्य, साहित्य र संस्कृतिका धरोहरहरुको खोजी बढाउनुपर्ने र उनीहरुलाई यस्ता कोषबाट प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । विरशाली पन्तले बागलुङमा जन्मेर गरेको कामलाई नेपालकै इतिहासमा जोड्न पनि पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।
झण्डै ३ सय १२ वर्षअघि बागलुङको ढीकीचौरमा जन्मनुभएका पन्तले नेपाली साहित्यमा योगदान दिएको चर्चा छ । आदिकवी भानुभक्त समेत यहाँ संस्कृत पढ्न आएको किंवदन्तीले उहाँ साहित्य र शिक्षामा अग्रणी हुनुहुन्थ्यो भन्ने पाइएको सरोकारवाला बताउनुहुन्छ ।
कोषका अध्यक्ष प्रेम छोटाको अध्यक्षता, उपाध्यक्ष काजी गाउँले श्रेष्ठको स्वागत र सदस्य सचिव हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको कार्यक्रममा बागलुङ नगरपालिकाका पूर्व प्रमुख जनकराज पौडेल, धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख डा. सुर्दशन सिलवाल, क्याम्पसका अध्यक्ष प्राध्यापक दिनबहादुर थापातले मन्तव्य व्यक्त गर्नुभएको थियो ।