काठमाडौँ, कात्तिक २८ गते । नवनियुक्त ३३ औँ प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले पद तथा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित विशेष समारोहमा सचिव दङ्गालले नवनियुक्त आइजिपी कार्कीलाई शुभकामना तथा निर्देशन सम्बोधन गर्दै प्रहरी सङ्गठनले एउटा अब्बल नेतृत्व पाएको बताउनुभयो ।
उहाँले आइजिपी कार्कीलाई सङ्गठनमा सबैको साझा कमान्डर भएर र सबैलाई मिलाएर नेतृत्व अघि बढाउन सुझाव दिँदै मुलुकको परिवर्तित अवस्थाको ख्याल गर्दै प्रहरी सङ्गठनलाई उच्च मनोबल र सङ्गठनभित्र मेरिट, विधि र पद्धति अनुरूप अघि बढाउन निर्देशन दिनुभयो । सचिव दङ्गालले मुलुक चुनावउन्मुख रहेकाले प्रहरी सङ्गठनलाई चुस्तदुरुस्त राख्न र आवश्यक पर्ने स्रोतसाधन, भौतिक पूर्वाधार, हातहतियार र सवारीसाधन जस्ता आवश्यक वस्तु व्यवस्थापन गर्न मन्त्रालय संवेदनशील र कटिबद्ध रहेको बताउनुभयो । सो अवसरमा नवनियुक्त महानिरीक्षक कार्कीले आफूले सङ्गठनप्रति देखाएको सेवाभाव, निष्ठा र प्रतिबद्धताको कदर स्वरूप सरकारले प्रहरीको नेतृत्व सुम्पिनुका साथै पदको लायक र जिम्मेवार ठह¥याएकोमा आभार व्यक्त गर्नुभयो ।
उहाँले लोकतान्त्रिक राज्य निर्माणमा प्रहरी सङ्गठनको समेत महत्वपूर्ण भूमिका रहने बताउँदै सरकारले घोषणा गरेको आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरीका सम्पूर्ण सकलदर्जाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । विसं २०५४ चैत १९ गते नेपाल प्रहरीको निरीक्षकमा भर्ना हुनुभएका कार्कीले
३० बर्से सेवा अवधिको प्रावधान अनुसार आगामी विसं २०८४ चैत १८ गतेसम्म प्रहरी सङ्गठनको नेतृत्व समाल्नुहुने छ । आइजिपी कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सइ) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गर्नुभएको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यभार समाल्दै उहाँले पहिलो निर्णयको रूपमा सहुलियत कर्जा बढाउने निर्णय गर्नुभएको हो । पदभार ग्रहणलगत्तै बसेको पिसिसी (पोलिसी कोअर्डिनेसन कमिटी) बाट यो निर्णय पारितसमेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबी नारायणले जानकारी दिनुभयो ।