ललितपुर, पुस २६ गते । ललितपुरको ग्वार्को क्षेत्रको यातायात सहजीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथमा निर्माणाधीन भौतिक संरचना ‘फ्लाई ओभर’ नभई ‘ओभर पास’ रहेको खुलासा भएको छ । गाडी गुड्ने नेपालको पहिलो ‘फ्लाई ओभर’ भन्दै ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको सो संरचना अन्ततः ‘ओभर पास’ रहेको सम्बन्धित प्राविधिकले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. केशवकुमार शर्माले ग्वार्कोमा निर्माणाधीन भौतिक संरचनालाई बोलचालको भाषामा ‘फ्लाई ओभर’ भन्ने गरिए पनि प्राविधिक रूपले त्यो ‘ओभर पास’ भएको स्पष्ट पार्नुभयो ।
‘फ्लाई ओभर’ र ‘ओभर पास’ को संरचना फरक हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सुरुदेखि नै त्यसको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ‘ओभर पास’ का रूपमा नै तयार गरिएको छ । ठेक्का सम्झौता पनि ‘ओभर पास’ निर्माणका लागि गरिएको हो । त्यसैले ‘फ्लाई ओभर’ र ‘ओभर पास’ को विषयमा दुविधामा पर्नु आवश्यक छैन ।” ट्राफिक व्यवस्थापनका लागि कलङ्कीमा ‘अन्डर पास’ निर्माण गरिए झैँ ग्वार्कोमा ‘ओभर पास’ निर्माण भइरहेको उहाँको भनाइ छ ।
पूर्वसहसचिव ई. राजेन्द्रप्रसाद शर्माले ग्वार्कोमा निर्माणाधीन संरचना इन्जिनियरिङ दृष्टिकोणले ‘ओभर पास’ नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै एउटा सडकलाई दुवैतिरबाट एउटा निश्चित उचाइमा उठाएर निर्माण गरिन्छ भने त्यसलाई ‘ओभर पास’ भनिन्छ । जसरी चक्रपथलाई सातदोबाटो र कोटेश्वरतर्फबाट ग्वार्को चोकसम्म उठाएर लगिँदै छ । ‘ओभर पास’ निर्माणमा एउटै सडक सिधा दिशामा गएको हुन्छ ।”
उहाँले थप्नुभयो, “तर ‘फ्लाई ओभर’ विभिन्न दिशामा गएको हुन्छ । यसमा विभिन्न दिशामा रहेको सडकलाई जोडिने गरी संरचना निर्माण गरिन्छ । विभिन्न दिशाबाट आएको सवारीसाधन ओहोरदोहोर गर्छ । यसको संरचना घुमाउरो र मोडिएको हुन्छ ।” नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत बलम्बुमा निर्माण भइरहेको संरचना ‘फ्लाई ओभर’ रहेको ई. शर्माले स्पष्ट पार्नुभयो । ग्वार्कोमा ‘ओभर पास’ निर्माण गर्ने गरी नै अध्ययन र डिजाइन गरिएको उहाँले जानकारी दिनुभयो ।
भौतिक प्रगति ८० प्रतिशत
सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाले ग्वार्कोमा निर्माण भइरहेको आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ४५.५४ प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँले यसै वर्षको चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो ।
ठेक्का सम्झौता अनुसार २०८० फागुन ११ गतेसम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने थियो । २०७८ फागुन १२ गतेदेखि आयोजनाको ठेक्का सुरु भएको थियो ।
निर्धारित समयमा काम सम्पन्न नहुँदा पहिलो पटक २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो तर थप गरिएको म्यादभित्रसमेत काम सम्पन्न गर्न नसक्दा अहिले ठेकेदार कम्पनीसँग जरिबाना तिराउँदै आयोजनाको काम भइरहेको निर्देशक झाले जानकारी दिनुभयो । आयोजनाको सम्झौता रकम १७ करोड छ लाख ८८ हजार रुपियाँ रहेको छ ।
चक्रपथमा बढ्दै गइरहेको सवारी चापलाई व्यवस्थापन गर्न सरकारको नीति तथा कार्यक्रम अन्तर्गत यस ‘ओभर पास’ को निर्माण भइरहेको छ । ‘ओभर पास’ निर्माणबाट सम्पूर्ण चक्रपथ, ललितपुरको मङ्गलबजार–इमाडोल–लुभु सडकखण्डमा सवारीसाधनको आवागमन सहज हुनुका साथै यस क्षेत्रकै ट्राफिक व्यवस्थापनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।