• ९ कात्तिक २०८२, आइतबार

रेन्जर धिताल र पत्रकार शाही कुटिए

blog

बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ९ गते । बाघको आक्रमण पटक–पटक भइरहँदा पनि बेवास्ता गर्नेगरेको जनाउँदै बाँके राष्ट्रिय निकुञ्जप्रति राप्ती सोनारी गाउँपालिकाका स्थानीय आक्रोशित भएका छन् । 

राप्तीसोनारी –९ बुच्चापुरका स्थानीयले आक्रोेशित हुँदै बाँके राष्ट्रिय निकुञ्जका रेन्जरलाई कुटपिट गरेका हुन् । सो क्रममा समाचार संकलनमा गएका एकजना पत्रकारमाथि कुटपिट भएको छ ।  

बाघले मान्छेको ज्यान जानेगरि आक्रमण गर्दा समेत बेवास्ता गरेको भन्दै निकुञ्जका रेन्जर जयहरी धिताललाई स्थानीयले कुटपिट गरेको मध्यवर्ती सामूदायिक वनका अध्यक्ष दलबहादुर खड्काले बताउनुभयो । उहाँले आफूमाथि पनि हातपात  गरिएको बताउनुभयो । 

रिम्ना सामुदायिक वनमा घाँस दाउरा गर्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएका राप्तीसोनारी गाउँपालिका –९ गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको शव शनिवार विहान फेला परेको थियो । उहाँ शुक्रवार दिउँसोबाट बेपत्ता हुनुभएको थियो । 

बाघको आक्रमणपछि बाँके राष्ट्रिय निकुञ्जले बेवास्ता गरेको भन्दै मृतकका आफन्त र स्थानीय आक्रोशित भएका थिए । सोही क्रममा उनीहरुले रेन्जर धिताललाई कुटपिट गरेका हुन् ।

सो घट्नाको समाचार संकलन गर्न गएका कोहलपुर टुडेका सम्पादक प्रकाशक डिल्ली शाहीमाथि कुटपिट गरिएको पत्रकार शाहीले बताउनुभयो । उहाँले स्थानीयले उहाँको भिडियो समेत बलजफ्ती डिलिट गर्न लगाएको बताउनुभयो । 

पत्रकार शाहीमाथि गरिएको कुटपिटको निन्दा गर्दै प्रेस युनियन बाँके, प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँकेले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गरेर आक्रमण र कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरिएको छ ।