• १२ असार २०८१, बुधबार

६६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप

blog

खोप लगाएपछि खोपकार्ड देखाउँदै बालबालिका ।

नवीन शिशिर विक
बागलुङ, जेठ ९ गते ।
बागलुङका ६६ हजार ९२५ जना बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले १० स्थानीय तहका १५ देखि २३ महिनासम्मका तीन हजार ५४ र दुई वर्षदेखि १५  वर्षसम्मका ६३ हजार ९२५ जना बालबालिकालाई खोप लगाएको हो ।

गत चैत २५ गतेदेखि बैशाख ७ गतेभित्र दुई चरणमा गरी खोप लगाइएको थियो । नेपाल सरकारले देशव्यापी रुपमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । 

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीका अनुसार पहिलो चरणमा चैत २५ देखि ३० गतेसम्म बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिका लगाइएको थियो ।

दोस्रो चरण वैशाख २ गतेदेखि ७ गतेसम्म ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका अन्तर्गतका खोप केन्द्रमा खोप अभियान सञ्चालन गरिएको थियो ।

खोप अभियानले ९७ प्रतिशत बालबालिका समेटेको खोप सुपरभाइजर खत्रीले बताउनुभयो । खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोपमा समावेश गरेर लगाइने छ । नेपालमा प्रयोग हुने टाइफाइड कन्ज्युगेट भ्याक्सिन विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको खोप हो । यसको प्रभावकारिता करिब ९७ प्रतिशत रहेको खोप सुपरभाइजर खत्रीले बताउनुभयो ।

पानी तथा खानाजन्य माध्यमबाट सर्ने सङ्क्रमण रोगमध्ये टाइफाइड जिल्लाको दोस्रो स्थानमा सूचीकृत छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार धौलागिरि अस्पतालमा गत आर्थिक वर्ष २०७७/०७८ मा आएका बिरामीमध्ये ६ हजार ९६० जना टाइफाइडका बिरामी थिए ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार यो सङ्ख्या समस्याको रुपमा मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले प्रति एक लाखमा एक सय बढी बिरामी भएमा सङ्क्रमणदर उच्च भएको मान्छ । जिल्लाको स्थिति हेर्दा टाइफाइड सङ्क्रमणको दर उच्च भएको कार्यालय प्रमुख गुरौले बताउनुभयो ।

सङ्क्रमितमध्ये अधिकांश बालबालिका छन् । स्वास्थ्य अनुसन्धानको क्रममा प्रति एक लाख जनसङ्ख्यामा १५ वर्षमाथिका बिरामी एक हजार ६२ र १५ वर्षमुनिका बालबालिकाप्रति एक लाखमा १० हजार ९६० जना सङ्क्रमित पाइएको छ । पाको उमेरका व्यक्तिभन्दा बालबालिकामा ११ गुणबढी सङ्क्रमण हुने जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।

टाइफाइडबाट बढी सङ्ख्यामा बालबालिका सङ्क्रमित भएको हुँदा पहिलो चरणमा बालबालिका प्राथमिकतामा परेको घिमिरेको भनाइ छ । टाइफाइड पानी र खानेकुराबाट सर्ने रोगमध्ये नेपालमा तेस्रो स्थानमा पर्छ ।