पुष्कर भण्डारी
डडेल्धुरा, कात्तिक १७ गते । जिल्ला सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दूरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थाई मुकाम वडा ४ बगरकोटमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण गरिएको छ । सात करोड बढी रुपियाँ लागतमा निर्माण गरिएको भवनबाट सेवा सुचारु भए सेवा प्रवाहमा निकै सहज हुने भागेश्वर गाउँपालिकाका स्वास्थ्य कर्मीको अपेक्षा छ ।
यसअघि यहाँ निर्माण गरिएको स्वास्थ्य चौकीको भवनको छत चुहिने भइसकेको थियो । पर्याप्त कोठाहरु नहुँदा सेवा प्रवाहमा असहजता हुँदा सेवाग्राहीले पनि समस्या मोल्नु परेको स्वास्थ्य शाखा अधिकृत मान बहादुर शाहुले बताउनुभयो । उहाँका अनुसार दुई तले भवनमको पहिलो तलामा नौ वटा कोठा र माथिल्लो तलामा २४ घण्टा सेवा दिने स्वास्थ्यकर्मीका लागि दुई कोटा आवासका कोठा छन् । विरामीहरुका लागि तल्लो तलाको छेउमा शैचालयसंगै फाहोर व्यवस्थापनको लागि डम्पििङ साईटसमेत निर्माण गरिएको छ ।
नवनिर्मित भवनबाट सेवा प्रारम्भ भए स्वास्थ्य चौकीबाट दिइने प्रतिकारात्मक, प्रबद्र्धनात्मक र उपचारात्मक सेवा २४ सै घण्टा पाउनुकासाथै फराकिलो र सफा भवन भित्रका अलग अलग कक्षहरुबाट सेवा सेवाग्राहीले सेवा पाउने उहाँले बताउनुभायो । यससंगै चुहिने घरको साँघुरा र अपुग कक्षबाट सेवा दिनु पर्ने बाध्यताको अन्त्य हुने उहाँको अपेक्षा छ ।
यस स्वास्थ्य चौकीबाट वार्षिक सरदरमा तीन हजार बिरामीले सेवा लिने गरेका छन । उहाँले भन्नुभयो, सिमिति स्रोत साधनमा सक्दो गुणस्तरिय सेवा प्रवा गर्ने कोशिस गरिरहेका हुन्छौं । गाउँपालिकाले वार्षिक ३८ लाख रुपियाँसम्म बजेट स्वास्थ्य शाखाका लागि छुट्याउने गरेको छ । शिविरहरु आयोजना भए थप रकम उपलब्ध हुने गरेको छ ।
भागेश्वर गाउँपालिकामा गत वर्ष सरकारले उपलब्ध गराउने स्वास्थ्य उपचार खर्च उपभोग गर्ने ११ जना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्यान्सर, मृगौला प्रत्यारोपण, डायलासिसलगायत दिर्घ रोगीलाई सरकारले मासिक रुपमा उपलब्ध गराउने पाँच हजार रुपियाँ पाउनेहरु ११ जना छन् । गाउँपालिकाले गत वर्ष शल्यक्रियासहित आँखा शिविर, स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।
यस वर्ष विद्यालयहरुमा एकिकृत स्वास्थ्य शिविरको आयोजना गर्ने कार्यक्रमहरु रहेको उहाँले जानकारी दिनुभयो । पालिकाले विनियोजन गर्ने रकमबाट औषधी खरिदसँगै गर्भवती आमाहरु लाई कोसेली, खोप ढुवानी, शिविरको आयोजना, स्वास्थ्य कर्मीहरुको बैठक भत्ता, सञ्चारलगायतमा खर्च हुने गरेको छ ।
जर्मन विकास बैंक केएफडब्लुको अनुदान भ्याट रकमसहित सात करोड १७ लाख ६२ हजार रुपियाँ लागतमा आधुनिक भवन निर्माण गरिएको भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिनुभयो । उहाँका अनुसार जर्मन प्रबिधिबाटै स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । ग्रामिण क्षेत्रमा शिशु स्याहार र मातृत्व सुधारका लागि स्वास्थ्य चौकीको भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार भागेश्वरको ग्रमिण क्षेत्र रुपालमा पनि १० शैय्याको अस्पताल निर्माणको काम जारी छ । भागेश्वर गाउँपालिका वडा नं. २ मा पर्ने रुपाल क्षेत्र भारतिय सिमाना काली नदीसँग जोडिएको क्षेत्र हो । बगारकोटसम्म सडक कालोपत्रे भएपनि त्यस उता साँघुरो ग्रामिण कच्चिसडक छ । रुपालबाट जिल्ला सदरमुकाम पुग्न करिब पाँच घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । भागेश्वर गाउँपालिकाको रुपाल, वडा नं. ३ को बोगटा र बगरकोटमा गरि हाल तीन वटा स्वास्थ्य चौकीहरु रहेको उहाँले बताउनुभयो ।