• १८ कात्तिक २०८२, मङ्गलबार

सडक निर्माणमा अनियमितता आरोपमा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

फाइल तस्बिर

विनय कर्ण

कल्याणपुर, कात्तिक १८ गते। सप्तरीको महदेवा गाउँपालिकामा कृषि सडक निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कम्पनीसहित सात जना उपर विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।

गाउँपालिकाको वडा नम्बर २ स्थित दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता भएको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झा, कृषि अर्थ विज्ञ योजना प्रमुख विकास कुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी उपर आरोपपत्र दायर गरिएको हो।

यसैगरी कृषि सडक निर्माण उपभोक्ता समिति महादेवा वडा नम्बर २, कजौली, सप्तरीका अध्यक्ष हरिनारायण यादव, सचिव गगांराम यादव र कोषाध्यक्ष सावित्री देवी यादव, कृषि  विकास  निर्देशनालय, नक्टाझिज, धनुषाका  परामर्शदाता किरु इन्जिनियरिङ्ग  कन्सल्टेन्ट प्रालि र सो प्रालिका  प्रोप्राइटर  हरिशकुमार सिंह उपर आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले विज्ञप्तिमार्फत् जनाउनुभएको हो।

आर्थिक वर्ष २०७७–०७८ मा कृषि सडक निर्माणका लागि कृषि विकास निर्देशनालय धनुषाको नेपाल सरकारबाट प्राप्त २३ लाख ५२ हजार स्वीकृत भएको र  सम्झौताको शर्त र मापदण्ड अनुसार काम नभए पनि प्राविधिकको प्रतिवेदन, नापी किताब, रनिङ्ग विल, कार्य सम्पन्न प्रतिवेदनको आधारमा कृषि विकास निर्देशनालय धनुषाले उपभोक्ता समितिको नाममा मिति २०७८ असार २१ गतेमा १८ लाख २२ हजार छ सय एक रुपियाँ भुक्तानी दिएको थियो।

अख्तियारको प्राविधिक टोलीले सो कृषि सडक निर्माण आयोजनाको स्थलगत नापजाँच  गर्दा ६ लाख ९० हजार छ सय ५७ रुपियाँ पाँच पैसा  बराबरको रकम प्रतिवादीको मिलोमतो र संलग्नतामा कृषि विकास निर्देशनालयलाई गैरकानुनी हानिनोक्सानी पुर्‍याएकाले जनही जनही ६ लाख ९० हजार छ सय ५७ रुपियाँ पाँच पैसाको दरले भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो तथा बिगो बमोजिमको जरिवाना असुल उपरको मागदाबी सहित आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।