राधा लुइटेल
फिदिम, कात्तिक १८ गते । श्रम संकृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रम संस्कृतिको व्यापकताबाट मात्रै देशमा समृद्वि सम्भव हुने बताउनु भएको छ ।
आइतबार निर्वाचत आगोगबाट दल दर्ताको प्रमाण पत्र लिनुभएका साम्पाङले मङ्गलबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
भ्रष्टाचार, ढिलासुस्ती र अनियमिततासँगै पुराना दलको कार्य शैलीका कारण देशमा भनेजस्तो विकास हुन नसकेको भन्दै उहाँले आफूले सुरुवात गरेको श्रम संस्कृतिले पछिल्लो समय व्यापकता पाएको बताउनुभयो ।
‘देशमा फुर्सद भएका मानिसको संख्या धेरै छ, त्यसैले यहाँ विभेद छ, अन्याय छ, अत्याचार छ अनि भ्रष्टाचार पनि छ । मेरो नेतृत्वको संघठनले यी सबै विकृतिको नष्ट गर्ने अभियान थालेको छ । तपाईँ सबैलाई यो अभियानमा जोडिन आह्वान गर्छु’, कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले भन्नुभयो ।
दुई दिन अघि निर्वाचन आयोजमा दल दर्ताको प्रमाण पत्र पाएपछि साम्पाङले पहिलो पटक फिदिममा आमसभालाई सम्बोधन गर्नुभएको हो । फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा अध्यक्ष साम्पाङलाई सुन्न र गर्न गाउँगाउँदेखि नागरिक सदरमुकाम आएका थिए ।