काठमाडौँ, कात्तिक १८ गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३७९ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या चालु आव (साउन, भदौ र असोज) तीन महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझ धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट २३ करोड ९० लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् ।
बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा श्रमिकका परिवारले प्रतिमृतक श्रमिक बराबर १० लाख रुपियाँ आर्थिक सहायता दिँदै आएको छ । बोर्डबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेका श्रमिकको सङ्ख्या जोड्ने हो भने विदेशमा मृत्यु हुनेको सङ्ख्या अझ बढी छ । यसै गरी यस अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका २३६ श्रमिकलाई न्यूनतम एक लाखदेखि बढीमा १० लाख रुपियाँसम्म आर्थिक सहायता दिने गरेको जनाएको छ । बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको असोजसम्म विदेशमा १५ हजार २४१ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् ।
चालु आवको तीन महिनामा दुई लाख १० हजार युवा वैदेशिक रोजगारीमा जाँदा ३७९ नेपाली श्रमिकको विदेशी भूमिमा मृत्यु हुनु सामान्य मान्न सकिँदैन । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले स्थानीय तह र विदेशस्थित नेपाली दूतावासबाट वैदेशिक रोजगारीका क्रममा हुने घाइते वा अङ्गभङ्ग भएकाले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको सङ्ख्या पछिल्लो पटक बढेको बताउनुभयो ।
मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता लिनेको सङ्ख्या वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत गरेसँगै सेवाग्राहीको सङ्ख्या बढेर सहयोग रकम पनि बढेको छ ।
रोजगारीका लागि विदेश जाने १८ देखि ४५ वर्ष उमेर समूहको मृत्युदरलाई आधार मानेर नेपालमा सोही उमेर समूहका कति युवाको मृत्यु हुने गरेको छ भन्ने अध्ययन भएको छैन । नेपालमा रहँदा सो उमेर समूहमा हुने मृत्यु र विदेशमा हुने मृत्युको अध्ययन हुन सके विदेशमा हुने मृत्युको कारण र स्वास्थ्य परीक्षण मापदण्डका सम्बन्धमा जानकारी हुन सक्ने विज्ञले बताउँदै आएका छन् । श्रम तथा आप्रवासनविज्ञ रामेश्वर नेपालले हाल विदेशमा मृत्यु भएका श्रमिकको तथ्याङ्क स्वाभाविक नभएको बताउनुभयो ।
बोर्डले सार्वजनिक गरेको आव २०८१/८२ को प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीका सिलसिलामा एक हजार ५१७ नेपाली श्रमिकको मृत्यु भएको थियो । विगत तीन वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गएको बोर्डले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि भएको छ ।
वैदेशिक रोजगारीका क्रममा अधिकांश मृत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, कार्डियाक अरेस्ट, आत्महत्याको ठुलो सङ्ख्या छ । वैदेशिक रोजगारीमा जाने नेपाली र त्यहाँ मृत्यु हुनेको सङ्ख्या लामो समयदेखि घट्न सकेको छैन ।