• १७ कात्तिक २०८२, सोमबार

पालिकामै स्क्रब टाइफसको नि:शुल्क ल्याब परीक्षण

blog

त्रिवेणि स्वास्थ्य चौकी, लुहाम । तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, कात्तिक १७ गते ।
जिल्लामा स्क्रब टाइफसका बिरामिहरु बढ्दै गएपछि सल्यानको त्रिवेणी गाउँपालिकाले निःशुल्क ल्याब परीक्षण सेवा सुरु गरेको छ । स्क्रब टाइफसको शङ्का लागेका बिरामीहरूका लागि गाउँपालिकाको त्रिवेणि स्वास्थ्य चौकीबाट निःशुल्क ल्याब परीक्षण सेवाको व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले जानकारी दिनुभयो ।

सल्यानसहित हाल नेपालका धेरै जिल्लामा यो रोगको सङ्क्रमण फैलदै गएको र केही व्यक्तिहरूको मृत्यु समेत भइसकेको सन्दर्भमा त्रिवेणी गाउँपालिकाले अग्रिम सावधानीका रूपमा यो सेवा सुरु गरेको हो । स्वास्थ्य चौकीमार्फत उपलब्ध गराइएको यो निःशुल्क ल्याब परीक्षण सेवाबाट पालिकाभित्र बसोवास गर्ने नागरिकहरूले समयमै रोगको पहिचान गर्न सक्ने र उपचारको पहुँचमा ल्याउन सकिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठको भनाइ छ ।

स्वास्थ्य शाखाका अनुसार स्क्रब टाइफस रोगको सङ्क्रमण भएको करिब पाँचदेखि १४ दिनपछि लक्षण देखापर्न सक्छन । यसका मुख्य लक्षणहरूमा अचानक आउने उच्च ज्वरो, टाउको र शरीर दुख्ने, थकान तथा सुक्खा खोकी, छालामा रातो दाना वा दाग देखिनु, विशेष चिन्हको रुपमा टोकिएको स्थानमा सानो कालो दाग देखिनु रहेका छन् । गम्भीर अवस्थामा श्वास फेर्न गाह्रो हुने, कलेजो, मिर्गौला वा मस्तिष्कमा असर पुग्ने, रक्तचाप घट्ने र उपचार ढिलो हुँदा मृत्यु हुने जोखिम समेत रहन्छ ।

पालिकाले यस्ता लक्षण देखापरेका व्यक्तिहरूले ढिलाइ नगरी तुरुन्तै स्वास्थ्य चौकीमा पुगेर ल्याब परीक्षण गराउन सबै नागरिकलाई अनुरोध गरेको छ ।