धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक १८ गते । जनकपुरधामका उद्योगी व्यवसायीले मंगलबार जनकपुर बजार बन्द गर्दै प्रदर्शन गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई केही दिन अघि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाको विरोधमा व्यवसायीले प्रदर्शन गरेका हुन् ।
गत असोज ३१ गते जनकपुरधामको एक सुन चाँदी पसलमा छापा मार्न गएका प्रहरीसँग सोधखोज गर्न गएका अध्यक्ष भण्डारीलाई प्रहरीले कुटपिट गरेपछि उहाँ घाइते हुनुहुन्छ । सोही घटनाको विरोधमा मंगलबार उद्योगी व्यवसायीले दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो ।
नगर क्षेत्रमा प्रदर्शन गरी जनकपुरधामको जनक चोकमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्षले व्यापारीले राज्यलाई कर तिर्दा पनि सुरक्षाको अनुभूति नरहेको आत्ति जनाए ।