• ९ मंसिर २०८१, आइतबार

आफ्नै गाउँको अन्तर्ध्वनि सुनेर

blog

जीवनाथ धमला 

सुदूर क्षितिजको डाँडाबाट घाम डुब्नै आँटेको थियो । म उभिएको भूमेथान डाँडाबाट आजको अन्तिम पाइला उठाउने तरखरमा थिए घामका किरण । साँझपखको नीलो तुँवालोले टाढाटाढाका बस्ती छोपिन थालेका थिए । उत्तरतिरका नीला डाँडाका टुप्पामा अलिकति चम्किलो, पहेँलो वस्त्र टाँसिएझैँ देखिन्थ्यो । ती डाँडामुनि बाक्लिँदै गएको नीलिमामय प्रशान्तभित्र धर्ती विश्राम गर्न लागिरहेको थियो । मेरा नजिकमा शताब्दीआँै पुरानो वरको रुखका हाँगामा कौवा भने अझै खेलिरहेका थिए । अन्यत्रबाट रुखतिर आउँदै गरेका अन्य चराका पखेटामा घामको प्रकाशले छुन छोडिसकेको थियो । पन्छीजगत्ले आफ्नो दिनचर्याबाट छुट्टी लिन अब धेरै बेर बाँकी थिएन । 

मैले आधी घण्टापहिले केतुकेतिर पुगेपछि नै चालकलाई भूमेथान डाँडामा पुगेर केही बेर गाडी रोक्नु है भनेको थिएँ । मेरो आग्रहमा सँगै गएका दाजुभाइको पनि सहमति थियो । चालक मनीषले विशालकाय वरको रुखभन्दा ४०÷५० मिटर पर पुगेर गाडी रोके । उनले गाडी रोकेको ठाउँ खुला थियो । त्यहाँबाट पारिपट्टिको गाउँ शिरदेखि पुछारसम्मै लमतन्न फैलिएर सुतेको झैँ देख्न सकिन्थ्यो । 

मेरा आँखाले बिहानैदेखि प्रतीक्षा गरिरहेको दृश्य त्यही गाउँको थियो । त्यो मेरो गाउँ थियो । त्यसै गाउँले मलाई जन्माएको थियो । त्यसै गाउँको माटोले मलाई लडिबुडी गर्दै खेल्न र उफ्रन अनि जीवनसँग झुत्ती खेल्दै हिँड्न सिकाएको थियो । 

२०७८ सालको फागुन १७ गते काठमाडौँको उकुसमुकुसबाट फुत्किएर केही दिनका लागि म आफ्नो गाउँ बेतिनीतिर लागेको थिएँ । साथमा ढकप्रसाद दाइ, कोमल, खिला, दीपकलगायत भाइहरू थिए । गाडीबाट ओर्लनेबित्तिकै आँखाहरू पारिको गाउँमा पुगेर ठोक्किए । अधिकांश घर जस्तापाताले छाइएछन् । हिउँदै भए पनि हरियाली निख्रिएको थिएन । बेँसीतिर खेतका गरा गहुँबालीले भरिएका देखिन्थे । पूर्वोत्तर ढल्केको दम्स्याइलो मोहडा भएको गाउँबाट घाम अस्ताइसकेको भए पनि गोधुलीको चमक निख्रिएको थिएन । आफ्नै घर र घरैछेउको पुण्यमाता स्कुलमा अलिक बेर आँखा अडिए । बिस्तारै पुछारदेखि सिरानसम्मै सबैतिर क–कसका घर भन्ने सम्झिँदै, पहिल्याउँदै अनेक फेर गाउँलाई आँखाले अनि मुटुले चुमेँ ।

“बल्ल तँलाई मेरो सम्झना आएछ । विगत १२ वर्षसम्म तैँले मलाई सम्झिनस् । सम्झेर पनि फूर्सद नभएको बहानामा तैँले मलाई बेवास्ता गरिस् । आज बल्ल फुर्सद पाइछस् । मैले तँ र तँजस्ता सन्तानलाई जन्माएँ र हुर्काएँ । तिमीहरू भने अनेक बहानाबाजी गरेर मबाट छुट्टिएर कहाँकहाँ हुत्तिन पुग्छौ ।” मेरो गाउँ मसँग एकतर्फी संवाद गर्न थाल्यो । ऊ भन्दै गयो, म सुन्दै गएँ, “मसँग छुट्टिएपछि हत्पति फर्कन जान्दैनौ तिमीहरू ! ठूला सहरमा घुस्रिएपछि उतै अल्मलिने उपाय खोजेर मेरो भुइँलाई चटक्क बिर्सन्छौ । तिमीहरूको चाला र चलन देखेर मलाई औधी पीर लागेको छ । यसपाला भने तँलाई बल्ल नियास्रो लागेछ । ल आइज, मेरो भुइँमा कुल्ची । तैँले कुल्चँदा म अलिकति सन्तुष्टिको न्यानो महसुस गर्नेछु ।” 

भूमेथान डाँडामा उभिएको देखेर मेरो गाउँ मलाई बोलाउँदै पो रहेछ । मेरो छातीभित्र सिरिङसिरिङ हुने गरी गाउँ मलाई डाक्दै पो रहेछ । गाउँको अन्तध्र्वनि मभित्र पसेर मलाई निचोर्न आँटिसकेको पो रहेछ । झल्याँस्स भएँ । कहाँ हो कहाँ, कोसाँै टाढा डाँडामाथिको आकाशबाट भर्खरै ओर्लिएका घामका किरणको चहकिलो मुस्लो टल्किरहेको थियो । “अब जाआँै” भन्दै दीपकले गाडीमा चढ्ने सङ्केत गरे । 

बोल्दाबोल्दै अवरुद्ध भएका डण्डिप्रसाद र शक्तिबल्लभ काकाका गलाबाट निस्कन नसकेका पुराना स्मृतिका मौन वाणीलाई सुनेँ र आँखा रसाए । ९० वर्ष पार गरिसक्नुभएकी वरमुनिकी आमैले धेरै बेरमा चिनेर आँसु झार्दै हालखबर सोध्नुभो । पारि सल्लेरीकी पण्डितनी भाउजूको स्नेहवर्षाबाट निथ्रुक्क भएर हाँसेँ । 

भूमेथान डाँडाबाट झन्डै २० मिनेटपछि माझगाउँमा रहेको बिसौनीमा पुगेर गाडी रोकियो । मैले गाउँको धुलोमा पैताला राखेँ १२ वर्षपछि । यतिका वर्षसम्म गाउँमा पैताला टेक्न आउन मलाई केले रोकेको थियो त ? बाध्यताले वा बहानाले ! अलिकति बाध्यता पनि होला, बढी त बहानाले नै हो । मजस्ता कङ्क्रिटको जङ्गलमा पुगेर हराउनेहरू धेरै जना बहाना गर्न सिपालु भएका हुन्छन् । मैले पनि त्यही सिको गरेर आफूलाई अर¥याएको रहेछु, अरिमठे बनाएको रहेछु । नत्र किन पहिल्यै नअन्मरिएर यतिका वर्षपछि बल्ल आज ढुन्मुनिएँ त ? आत्मग्लानिले छाती ढक्क फुले पनि म आइसकेको थिएँ । आफैँले खेलेको माटोमा आइपुगेकामा दिनभरिको गाडीको थच¥याइँलाई बिर्सेर पुलकित भइरहेको थिएँ । साँझ परिसकेको थियो । हामी आउँदैछौँ भन्ने थाहा पाएर केही दाजुभाइ त्यहाँ आएका रहेछन् । सामान्य कुराकानी भयो । म घरतिर ओर्लें । भाइबुहारीले स्वागत गरे । 

भोलिपल्ट पारिवारिक भेटघाटमै समय बित्यो । गाउँका अरू दाजुभाइसँग भेटघाट गरेर दिन बित्यो । नियास्रो मेटियो । सुखदुःखका बात मारियो । दाँवाल पुस्ताका दाजुभाइसँग पहिलेपहिले गाउँबेँसी गर्दाका सम्झना आदानप्रदान भए । सबैभन्दा बलवान् त समय नै रहेछ । समयले सबैलाई जीवनका लहलहाउँदा, कल्कलाउँदा क्षणबाट बिस्तारै किनारातिर धकेल्न थालेछ । धेरैजसो उनीहरू काखमा खेलिरहेका नातिनातिनीका खिल्खिलाइरहेका अनुहार सुम्सुम्याउँदै आफ्ना विगतका कथाव्यथा भुल्न खोजिरहेथे । वार्धक्यमा रमाउने सबैभन्दा प्यारो आश्रय सन्ततिको मुस्कानमा लुकेको हुँदो रहेछ । कतिका छोरा विदेशतिर गएका रहेछन् । 

अर्को दिन बिहानै म अलि पर पश्चिमतर्फ रहेको आफ्नै पहिलेको पाखोपखेरोेतिर हेर्न गएँ । गाउँकै पुण्यमाता माविमा शिक्षकसमेत रहेका भाइ युवराज मसँगै गएका थिए । सानैमा घरगोठ गर्ने गरेका बाटामा गाउँले प्रायः हिँड्न छाडिसकेका रहेछन् । पाखाबारीमा लहरैजसो गाईभैँसीका गोठ हुन्थे, अहिले तिनको नामनिशान रै’नछ । जङ्गलमा दाउरा, घाँस गर्नेहरू पाइलापाइलामा भेटिन्थे, यतिबेला कोही पनि भेटिएनन् । बारीका कान्लाका रुखमा वर्षाका लागि ढोड र नल साँचेर राखिएका देखिन्थे, ती केही देखिएनन् । हिउँदै भए पनि बारी, कान्ला रसिला देखिन्थे, यतिबेला फुङ्ग उडेका नियास्रा र सुक्खा देखिए । युवराज भाइले भने, “विकासे मल सधँै हाल्ने गरेकाले बारी रुखो बन्यो, वर्षाको पानीले भिजेको जमिन वर्षा सकिनेबित्तिकै सुक्खाग्रस्त हुन थाल्यो, अलि गहिरो सेपिलो कुनाकानीमा जरुवा पानी सधैँ हुन्थ्यो, त्यो पनि सुक्यो । आजकल बारीमा पहिलेजस्तै केही अन्नबाली हुँदैन,” उनको बुझाइमा सत्यता रहेको महसुस मैले गरेँ । 

हामी अलि पर खरबारीसम्म पुगेर फर्कने क्रममा गाउँको सिरानतिर जाने अर्कै बाटो भएर फक्र्यौं । तेर्सो गोरेटो निकै लम्बिएको छ । गाउँ पुग्नुपहिले एक÷दुई ठाउँमा बिसाउँदै पारितिरका सुन्दर ग्रामीण दृश्य नियाल्दै फक्र्यौं । परपरका पूर्वी मोहडाका पाखा बस्तीमा भर्खरै घामका किरण पोतिन थालेका थिए । हामी झन्डै गाउँको सिरानमा पुग्यौँ । २०३५ सालमा गाउँबाट बाहिरिएपछि बेलाबेलामा घर जाँदा पनि म त्यहाँ पुगेकै थिइनँ । युवराजले त्यतातिरका घर क–कसका भन्ने एकएक गर्दै चिनाए । घर वरिपरि प्रायः सफा र छेउमा नजिक नजिकै खानेपानीका धारा रहेछन् । बस्तुभाउ पाल्ने क्रममा कमी आएछ । घर वरिपरि बस्तुभाउका गोठ त्यति देखिएनन् । काम गर्ने मान्छे घरमा कोही बस्दैन, अनि कसले बस्तुभाउ पाल्ने ! एउटा दुइटा भैँसी वा गोरु घरैछेउ बाँध्दा भइगयो, कसले गोठको झन्झट गरिराख्छ र ! भेटिएका दाजुभाइसँग उनीहरूकै कुरा सुन्दै घरतिर ओरालो लाग्यौँ हामी । 

गाउँका स्कुलको स्तरोन्नति भएर मावि बन्यो । तुलनात्मक रूपमा गाउँ शिक्षितजस्तो देखिएको छ । अन्यत्रै गएर स्नातक गर्नेहरू पनि निकै छन् । अहिले १२ कक्षासम्म गाउँमै पढाइ हुन्छ । सोचनीय कुरा १२ कक्षा पास गरेपछि गाउँमा प्रायः कसैका छोराछोरी बस्दैनन् । तिनीहरू सहरतिर लाग्छन् । गाउँमा अर्थोपार्जनको स्रोत भनेको खेतीपाती र त्यसमै जोडिएको बस्तुपालन हो, त्यसमा रुचि हराउँदै गएको छ । प्राङ्गारिक अन्नबाली तथा तरकारी वा फलफूल, उन्नत पशुपालन र आधुनिक खेतीतर्फको आकर्षण पनि घट्दो छ । गाउँ प्रायः युवाविहीन हुँदै गएको छ । गाउँले कतिपयले बजारतिर दूध बेच्न लैजाँदा रहेछन् । केही दोकान पनि राखिएछन् । तिनमा स्थानीयलाई चाहिने वस्तुका अतिरिक्त मधेसतिरबाट ढुवानी गरिएका चामलका बोरा अनि हल्का र अन्य पेय पदार्थ राखिएका रहेछन् । खाद्यान्नमा, गाईभैँसीपालनमा गाउँ जिल्लाकै अग्रणी थियो, यसबेला बाहिरबाट आयात गर्न थालिएछ । बिजुलीबत्ती पुगेको रहेछ, कुटानी पिसानीका लागि ससाना मिल पनि राखिएछन् । 

बिजुली र मोटरबाटोका कारण गाउँको श्रमशील जनजीवनमा केही सजिलोपन आएछ । “जति नै मेहनत गरे पनि पहिलेजस्तो खेतीपाती नै हुँदैन,” बारीमा आफँै खनजोत गरिरहेका दाजुभाइ भन्थे; “खेती गर्ने मान्छे नै छैन, आफूले गर्न र सक्न छोडियो, छोरा घर बसेनन्, स्कुल भएर के गर्नु, १२ पास गरेपछि गाउँमा कोही बस्दैन ।” मलाई लाग्यो, विकासका आधारभूत सुविधा पुगेर पनि त्यसको उपयोग गर्ने जनशक्ति भएन भने गाउँ झन् विपन्नतातर्फ उन्मुख हुँदै जान सक्ने रहेछ । यस्तो हुनुको मूल कारण गाउँमै स्वरोजगारी सिर्जना गर्न प्रेरित गर्ने शिक्षाकै अभाव हुनु रहेछ । त्यस्तो अभाव हुन नदिन प्रतिबद्ध र दूरदर्शी स्थानीय निकायको नेतृत्वको खाँचो गाउँमा रहेको मैले अनुभव गरेँ । अहिलेकै स्थितिले निरन्तरता पाउने हो भने चाँडै नै गाउँका खेतबारी पूरै बाँझिनेछ र मधेसतिरबाट लगेका अन्नले मात्र गाउँको प्राण धान्नेछ । 

मैले पनि प्राथमिक तहसम्मको आधारभूत शिक्षा गाउँकै पुण्यमाता स्कुलमा प्राप्त गरेको हुँ । मलाई अक्षर चिनाउने उसबेलाको पुण्यमाता प्राइमरी स्कुल (हालको पुण्यमाता मावि)ले साठीऔँ वसन्त पूरा गरिसकेको छ । उतिबेला पाँच कक्षा त्यहाँ पढेपछि माथिल्ला तहमा पढ्न सदरमुकाम र कलेज पढ्न त झन् जिल्लाबाहिरै जानुपथ्र्यो । त्यसैले म पनि गाउँबाट एक किसिमले बाहिरिएको झन्डै ५० वर्ष भइसकेछ । स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा व्यवस्थापन समितिले स्कुलको हीरक महोत्सवको आयोजना गर्ने तय गरी पूर्वविद्यार्थीलगायत सम्बद्ध सबैलाई निमन्त्रणा गरेको थियो । स्मारिका प्रकाशन गरी स्कुलका ऐतिहासिक सन्दर्भलाई अभिलेखीकरण पनि गरिएको रहेछ । हीरक महोत्सवले स्कुललाई मात्र नभई गाउँलाई नै नयाँ उत्साह थपेको मैले अनुभूत गरेँ । 

समय क्रममा देखिँदै जाने परिवर्तनको गति निरन्तर रहन्छ । मानिसले विशेष प्रयास नगरेरै पनि त्यस्तो परिवर्तन समयको एउटा अन्तरालमा देखिन्छ नै । मानिसमा आएको चेतनाको विकास र त्यसबाट निःसृत प्रभाव र परिणामले सामाजिक, सांस्कृतिक उन्नयनका लागि स्थायी रूपमा योगदान पु¥याउन सकेको छ कि छैन, यो भने महìवपूर्ण कुरा हो । गाउँमा रहुञ्जेल मैले माटोको महकलाई अनुभूत गरिरहनु स्वाभाविक थियो । केटाकेटीमा हाम्फाल्दै दौडेका कोल्चौर, आँघे र गैरीखेतका कान्लालाई नजिकैबाट नियालेर हेरेँ । उसबेला बिसाउने गरेको वरको फेदमा बिसाएर थकाइ मारेँ । उसबेला पारि गहतेतिर मादल बजेको सुनिन्थ्यो, यसबेला सुनिएन, मादल बजाउनेहरू गाउँबाट अन्तै गएछन् कि क्या हो !

बोल्दाबोल्दै अवरुद्ध भएका डण्डिप्रसाद र शक्तिबल्लभ काकाका गलाबाट निस्कन नसकेका पुराना स्मृतिका मौन वाणीलाई सुनेँ र आँखा रसाए । ९० वर्ष पार गरिसक्नुभएकी वरमुनिकी आमैले धेरै बेरमा चिनेर आँसु झार्दै हालखबर सोध्नुभो । पारि सल्लेरीकी पण्डितनी भाउजूको स्नेहवर्षाबाट निथ्रुक्क भएर हाँसेँ । सगरमाथा माध्यमिक स्कुल ओखलढुङ्गामा मलाई एसएलसीसम्म पढाउने गुरु उसबेलाका प्रअ नारायणबहादुर सैँजूको आत्मीयतालाई मुटुमा साँचेर रमाएँ । अरू पनि निकै जना श्रद्धेय र आत्मीय जनका निकटमा पुगेँ र उहाँहरूका आँखालाई पढेँ । बसाहा डाँडातिरको गुराँसघारीमा पुग्न भने सकिनँ, काफलका रुख र ऐँसेलुका झाङ चहार्दै कति हिँडिन्थ्यो उसबेला । टाढैबाट हेरेर चित्त बुझाएँ । बरु कुइरोभित्र लुकामारी खेलिरहेको हिमालसामुको पात्ताले डाँडामा उभिएर अन्तहीन प्राकृतिक सौन्दर्यसँग केहीबेर खित्खिताएँ । गाउँमा सुस्केरा गरैपिच्छे छन् तर हृदय सुकेको छैन । म गाउँको अन्तध्र्वनि सुन्दै एक हप्ता बसेँ र फेरि आउने वाचा गर्दै फर्कें ।