धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक १७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा चुनाव भयो भने भाग लिने बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमबार आयोजना गरिएको विद्यापति स्मृति पर्व २०८२ मा भाग लिन जनकपुरधाम आउनु भएका अध्यक्ष ठाकुरले सञ्चारकर्मी सँगको कुराकानीमा यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘चुनाव भयो भने नि भाग लिने हो । तर चुनाव हुन्छ भन्नेमा अहिले पनि संषय छ । जताततै लुटपाटको अवस्था छ,चुनावी वातावरण तयार भएको छैन । सिंहदरवार, सर्वोच अदालत जस्ता राष्ट्रिय सम्पतिहरु जलेको छ ।’
उहाँले न्याय दिने निकायले नै न्यायका लागि उजुरी लिएर प्रहरी कहाँ गएको छ भन्दै यस्तो अवस्थामा चुनाव कसरी हुने भनेर सञ्चारकर्मीलाईनै प्रश्न गर्नुभयो । उहाँले नेताहरु अहिले बाहिर निस्कने अवस्था नरहेको भन्दै नेताहरुको मुख थुनेर चुनाव हुन्छ भने परिकल्पना गर्नु गलत हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चुनाव भयो भने नेताहरुले नै आ—आफ्नो विचार राख्ने हो । त्यसैले सरकारले यसकालागि वातावरण तयार गर्नुपर्छ ।’ अध्यक्ष ठाकुरले लिगल बोडी अहिले पनि प्रतिनिधिसभानै रहेकोे भन्दै आफुहरु प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा रहेको बताउनुभयो ।
अध्यक्ष ठाकुरले आजै जनकपुरधाममा आयोजित विद्यापति स्मृति पर्व समारोहमा प्रमुख अतिथिकोे रुपमा सहभागि भई कार्यक्रमलाई सम्बोधन गर्दै महाकवि विद्यापति बहुआयामिक व्यत्तित्व भएको भन्दै विश्व साहित्यमा उहाँको स्थान महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले समाजका सवै वर्गले विद्यापतिलाई सम्मान गरेको भन्दै उहाँ हाम्रो हुनुमा हामीलाई गर्व रहेको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले कुनैपनि भाषाको सम्मान भएमा मात्रै सो भाषामा साहित्य सृजना गर्नेको सम्मान हुने भन्दै मैथली भाषाको सम्मानका लागि प्रदेश सरकारले कामकाज गर्ने बताउनुभयो ।
उहाँले मैथली भाषाको सम्मान भएमा महाकवी विद्यापतिको सम्मान अग्रस्थानमा रहने बताउनु भयो । कार्यक्रममा पुर्व प्रदेशसभा सदस्य परमेश्वर साहले विद्यापति महाकवि हुँदा पनि हाम्रो देशमा उहाँलाई अहिलेसम्म राष्ट्रिय विभुतिको सुचीमा नराख्नु दुःखद् भएको भन्दै मैथली भाषालाई मधेश प्रदेश सरकारले कामकाजी भाषाको मान्यता दिनु पर्नेमा जोड दिनु भयो ।
विद्यापति स्मृति पर्व समितिका त्रिदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका उपाध्यक्ष डा. अभाष लाभ, समाजसेवी चन्द्रमोहन चौधरी सहितकाले विद्यापतिको जिवनी र उहाँको साहित्य सृजनाको विषयमा कार्यक्रममा बोल्नुभएको थियो ।