• १८ कात्तिक २०८२, मङ्गलबार

नवलपरासीबाट आएको गिद्ध मर्‍यो

blog

बाजुराको बडीमालिकामा अन्तिम पटक देखिएको सानो खैरो गिद्ध ।

अविनाश चौधरी

धनगढी, कात्तिक १७ गते । छसय किलोमिटर फन्को मारेर बिरामी भएपछि कैलालीमा उपचार पश्चात पुनर्जीवन पाएको अत्ति सङ्कटापन्न सानो खैरो गिद्धको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल बडीमालिकामा अवसान भएको छ । 

निको भएपछि चिकित्सकबाट जाँचगरी साउन २७ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिएको सानो खैरो गिद्धले पुनः फन्को लगाउँदै बाजुरास्थित बडीमालिका पुगेर देहत्याग गरेको हो । 

केही समय शुक्लाफाँटाको अर्जुनी क्षेत्रमा बिताएको जिपिएस ट्याग लगाइएको सो गिद्ध कैलालीको मसुरियाहुँदै सुर्खेतसम्म पुगेको थियो । त्यसपछि अछामको पायलहुँदै बाजुराको बडीमालिका मन्दिरसम्म पुगेको जिपिएस ट्रयाकिङमार्फत सो गिद्धको उडान अनुगमन गर्नु भएका चराविद हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । 

भदौ १० गते बडीमालिका पुगेको सानो खैरो गिद्ध पुनः बिरामी परेर मरेको हुन सक्ने उहाँको भनाइ छ । “समयमै उद्धार हुन नसक्दा गिद्ध बाँचेन” उहाँले भन्नुभयो । असार २७ गते पूर्वी नवलपरासीको जटायु रेस्टुरेन्टबाट उडेको सो गिद्ध नेपाल–भारत–नेपाल गरी छसय किलोमिटर फन्को मारेर बिरामी परेको थियो । 

साउन १९ गते कैलालीको लम्कीचुहा नगरपालिका –६ बामनपुरस्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा बिरामी अवस्थामा भेटिएको गिद्धको उद्धार गरेर डिभिजन वन कार्यालयले उपचार गरेको थियो । आठ दिनसम्म उपचार गरेर गिद्धलाई प्राकृतिक बासस्थानमै छोडिएको थियो । 

खुट्टामा लेग ट्याग (रिङ) ‘जे १६’ लेखिएको आधारमा सानो खैरो गिद्ध पूर्वी नवलपरासीको जटायु रेस्टुरेन्टबाट आएको पहिचान गरिएको थियो । कावासोती नगरपालिका –१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेस्टुरेन्टबाट असार २७ गते उडेको गिद्ध २५ दिनको यात्रापछि कैलाली पुगेको थियो । 

जटायु रेस्टुरेन्टबाट उडेको गिद्धले कपिलवस्तु हुँदै भारतको बहराइच, नानपारा, लखिमपुर, तिकुनियाँ, बेलरायाँ हुँदै कैलालीको भजनीबाट नेपाल प्रवेश गरेको थियो । 

बिरामी अवस्थामा भेटिंदा सानो खैरो गिद्धको शरीरमा सुलसुले किरा अत्यधिक मात्रामा देखिएका थिए भने शरीरमा पानी कम थियो । बर्खा यामको झरीमा लामो दूरी तय गर्दा गिद्ध कमजोर हुने गरेको जनाइएको छ । यसैगरी, सुलसुले किराका कारण पनि बिरामी पर्ने गरेका जनाइएको छ । 

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को रातो सूचीमा रहेको अतिसङ्टापन्न सानो खैरो गिद्ध नेपालमा ५० देखि ७५ वटासम्म रहेको नेपाल पन्छी संरक्षण संघ (बिसिएन) ले जनाएको छ । सो संस्थाका अनुसार नवलपरासीस्थित जटायु रेस्टुरेन्टमा रहेका छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चारवटा सानो खैरो गिद्धमा जिपिएस ट्याग लगाइएको छ । त्यसको आधारमा गिद्धहरुको विचरण अनुगमन गर्ने गरिएको छ ।