• १७ कात्तिक २०८२, सोमबार

अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालन अब सूचना विभागबाटै

blog

काठमाडौँ, कात्तिक १६ गते। अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ । अनलाइन दर्ता, नवीकरण र प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि कागजात विभिन्न निकायलाई बुझाउनुपर्ने झन्झट अन्त्य भई अबदेखि एकै ठाउँमा कागजात बुझाए पुग्ने भएको हो । 

सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणलगायतका काम सूचना तथा प्रशारण विभागबाटै हुने जनाएको छ । 

विभागले अनलाइन सञ्चार माध्यमको दर्ता तथा सञ्चालनको अभिलेख राख्ने र सो अभिलेख विभागले नै नियमित रुपमा काउन्सिललाई उपलब्ध गराउने छ । यसले विभिन्न निकायमा कागजात बुझाउनुपर्ने झन्झटको अन्त्य भएको छ । 

साथै प्रेस काउन्सिलले रु तीन हजार शुल्क लिई अभिलेख सूचीकरण र अभिमुखीकरण गर्दै आएकोमा अब सो रकम पनि तिर्न नपर्ने भएको छ ।

यसअघि सोही कामका लागि भिन्न–भिन्न कागजपत्र बुझाउनुपर्ने झन्झटबारे गुनासो आए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा विभागले एकद्वार प्रणाली लागू गरेको हो । यसले सेवाग्राहीलाई सहज हुनका साथै सेवा प्रबाह पनि प्रभावकारी हुने मन्त्रालयको विश्वास छ । 

सूचना विभागले आइतबार सूचना प्रकाशित गरी अनलाइन सञ्चारमाध्यमको अभिलेख विभागले नै नियमित रुपमा प्रेस काउन्सिललाई उपलब्ध गराउने र अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि सेवाग्राहीले पुनः दर्ता प्रमाण पत्र सहितका कागजात प्रेस काउन्सिलमा बुझाउनु नपर्ने जानकारी गराएको छ ।

नेपाल राजपत्रमा विस २०८२ कात्तिक १३ मा प्रकाशित सूचना अनुसार नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ जारी भएको छ । 

उक्त नियमावलीमा अनलाइन सञ्चार माध्यम दर्ता तथा सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ । सोही नियमावलीको नियम ‘८ज’ मा सूचना तथा प्रसारण विभागले नियम ‘८ क’ को उपनियम (४) बमोजिम प्रमाणपत्र प्राप्त गरेका अनलाइन सञ्चार माध्यमको अभिलेख राख्नु पर्ने व्यवथा गरेको छ । सोही व्यवस्था बमोजिम सञ्चारमाध्यमको अभिलेख विभागले नै नियमित रुपमा काउन्सिललाई उपलब्ध गराउने छ ।

यता प्रेस काउन्सिल नेपालले पनि आजै सूचना प्रकाशित गरी संशोधित छापाखाना तथा प्रकाशन नियमावली, २०८२ नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएकाले अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण प्रेस काउन्सिलले गर्ने गरी कानुनी व्यवस्था नभएको हुँदा उक्त कार्य प्रेस काउन्सिल नेपालबाट नहुने र अबदेखि सूचना तथा प्रशारण विभागबाटै हुने स्पष्ट पारेको छ ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले संशोधित नियमावली अनुसार अनलाइनको अभिलेख सूचना विभागले राख्ने र काउन्सिलले अनुगमनको काम गर्ने बताउनुभयो । उहाँका अनुसार यसभन्दा अगाडि पत्रकारले विभिन्न निकायमा छुट्टा–छुट्टै कागजात बुझाउनुपर्ने प¥थ्यो । अब अभिलेख विभागले राख्ने र काउन्सिलले अनुगमनको काम गर्नेछ । 

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोध, २०७४) मा दर्ता भएका अनलाइन सञ्चार माध्यमको अभिलेख प्रेस काउन्सिलले राख्नुपर्ने साथै पत्रकार आचारसंहिता पालना गरे÷नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षण समेत गर्ने व्यवस्था बमोजिम काउन्सिलले मापदण्ड बनाई रु तीन हजार शुल्का लिई अभिलेख, सूचीकरण र अभिमुखीकरण गर्दै आएकोमा केही नेपाल ऐन संशोधन गर्ने ऐन संशोधन गरी सोही बमोजिम छापाखाना तथा प्रकाशन (दोस्रो संशोधन) नियमावली आएको हो ।

यसअघि प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको रुपमा सञ्चालन हुने अनलाइनलाई व्यवस्थित गर्दै जाने उद्देश्यका साथ २०७० साउन १६ गते देखि अनलाइन सूचीकरण प्रारम्भ गरेको थियो । ततपश्चात नेपाल सरकारले २०७३ चैत ७ गतेबाट लागु हुने गरी अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ जारी गरी कार्यान्वय हुँदै आएको थियो ।

सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सञ्चारमन्त्री जगदीश खरेलले सञ्चार माध्यमसँग सम्बन्धित काम कारबाहीलाई सहज र प्रभावकारी बनाउन एकद्वार प्रणाली लागू गर्न निर्देशन दिदैँ आउनुभएको छ । मन्त्री खरेलले विभिन्न सञ्चार माध्यमका पत्रकार तथा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा छलफल निरन्तर गर्दै आउनुभएको छ