बोमलाल गिरी
नवलपुर, कात्तिक १७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड झण्डै दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ ।
नारायणघाट–बुटबल सडक आयोजनाले सोमबार एक सूचना जारी गर्दै पुष १५ गतेसम्म सडक एकतर्फी मात्र सञ्चाल हुने जनाएको हो ।
केहीदिन अघि आकस्मिक रूपमा भएको निरन्तर वर्षात्ले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाई भएको तथा आगामी दिनहरूमा पुन: वर्षात् भएमा थप समस्या हुने भन्दै झण्डै दुई महिना एकतर्फी सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।
यो अवधिमा कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको बताइएको छ । त्यसैले उक्त कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अर्थात कम्तिमा पुष १५ गतेसम्म सडक पूर्ण रुपमा सञ्चालन नहुने सूचनामा उल्लेख छ ।
सडक आयोजनाले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न पनि सबैसित आग्रह गरेको छ । यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किवाससँग समन्वय गर्न सडक आयोजनाको आग्रह छ । बाटो असहज हुँदा सवारी साधनको बाक्लो जाम हुने गरेको छ ।
यो सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरेर मात्र यात्रा गर्न पनि सडक आयोजनाले सबैसित अनुरोध गरेको छ ।
दुईदिन अघिसम्म परेको झरीका कारण दाउन्ने सडक खण्ड निरन्तर अवरोध भइरहेको छ । जसका कारण यात्रुले १४ किलोमिटरको दाउन्ने खण्ड पार गर्न घण्टौं लाग्ने गरेको गुनासो गरेका छन् ।