• २४ वैशाख २०८१, सोमबार

बलात्कारविरुद्ध कडा कानुन बनाउन डा. आरजुको अनुरोध

blog

फाइल तस्बिर

काठमाडौं, जेठ ६ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध गर्नुभएको छ।

उहाँले बलात्कारको कानून संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र उक्त कानून छिटो प्रक्रिया (फास्ट ट्रयाक) बाट पारित गर्न पनि संसद्लाई अनुरोध गर्नुभएको छ।

यसबारे सामाजिक सञ्जालमार्फत् धारणा शुक्रबार सार्वजनिक गर्नुहुँदै डा. देउवाले भन्नुभएको छ, ‘‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन्। उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुन्छ।’’

बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने कुनै समय सीमा नभएको उहाँको भनाइ छ। डा. देउवाले न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन धेरै वर्ष लाग्नसक्ने बताउनुभयो। 

उहाँले भन्नुभएको छ, ‘‘अन्य राष्ट्रहरूले दशकौंपछि पनि बाल यौन दुराचारी र बलात्कारीमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानूनहरू परिवर्तन गरेका छन्।’’

बलात्कारको उजुरी दिने समय सीमाबारे प्रश्न गर्दै डा. देउवाले भन्नुभएको छ, ‘‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २० औं वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ?’’

नेपालले अब कानून परिवर्तन गर्दै समय सीमा हटाएर महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिलाइ गर्नु नहुने उहाँको भनाइ छ। ‘‘एकजना बैनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन्, म उनको साहसलाई कदर गर्छु’’, उहाँले थप्नुभयो।

यससम्बन्धी कानुनलाई शीघ्र पारित गर्न आग्रह गर्नुभएको छ। साथै उहाँले महिला हिंसाबाट बचाउन सम्बन्धित निकायलाई अनुरोधसमेत गर्नुभएको छ। 

उहाँले थप्नुभएको छ, ‘‘म नेपाल सरकार र विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानून संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानून फास्ट ट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु।’’