• १६ चैत २०८२, सोमबार

गुल्मी अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया

blog

गुल्मी अस्पताल । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), चैत १६ गते ।
गुल्मी अस्पताल तम्घासमा स्तन क्यान्सरको सफल शल्यक्रिया भएको छ । स्तन क्यान्सर र आर्थिक अवस्थाबाट पीडित रेसुङ्गा नगरपालिका–८ की ७२ वर्षीया वृद्धाको शल्यक्रिया सफल भएको गुल्मी अस्पताल प्रशासनले जनाएको छ । गुल्मी अस्पतालले डेढ वर्षदेखि प्रत्येक महिनाको दोस्रो शनिबार क्यान्सर रोगको परीक्षणको काम गरिरहेको छ । गुल्मी अस्पतालमा आएकी वृद्धाको क्यान्सरको शंका लागेपछि बुटवल पठाइएको थियो ।

आवश्यक सबै परीक्षण गरेर क्यान्सर भएको प्रमाणित भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्तन तथा क्यान्सर रोग शल्य चिकित्सक विशेषज्ञ डा. सन्जय पाण्डे नेतृत्वको टोलीले वृद्धाको स्तन क्यान्सरको शल्यक्रिया गरेको थियो । अहिले महिलाको सबै स्वास्थ्य अवस्था सामान्य रहेकोे डा. पाण्डेले बताउनुभयो ।

उहाँले समाजमा क्यान्सर लागेपछि मरिन्छ भन्ने चिर्न, बाहिर जाने, धेरै खर्च गर्ने र उपचारको झन्झट कम गर्न गुल्मी अस्पतालमा शल्यक्रिया गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै उपचार पाए क्यान्सरले ज्यान जाँदैन, खर्च पनि धेरै हुँदैन । क्यान्सर लागेपछि निको हुँदैन भन्ने मानसिकतानै गलत छ ।” वृद्धाको शल्यक्रियाको खर्च गुल्मी अस्पतालले गरेको थियो । शनिबार गुल्मी अस्पताल प्रशासनले शल्यक्रिया सफल भएपछि चिकित्सक र बिरामी दुवैलाई सम्मान गरेको छ ।

गुल्मी जिल्लामै पहिलो पटक स्तन क्यान्सरको शल्यक्रिया सम्भव बनाएर अस्पताललाई नागरिकको बिचमा अझ विश्वासिलो बनाएपछि डाक्टर र पहिलो सेवाग्राहीलाई अभिनन्दन गरिएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिनुभयो । स्तन क्यान्सरको शल्यक्रिया जिल्लामै गर्न पाउँदा परिवार निकै खुसी रहेको छ । बृद्धावस्थामा स्तन क्यान्सर आर्थिक बोझको पीडा थियो । आफ्नै जिल्ला अस्पतालमा आमाको क्यान्सरको शल्यक्रिया गरेर सामान्वय जीवनमा फर्काउन पाइएको ठुलो राहत भएको नातिती रेखा विश्वकर्माले प्रक्रिक्रिया दिनुभयो ।

५० शय्यामा स्तरवृद्धि भएसँगै उपचार प्रविधीको विकास र जनशक्तिहरुको वृद्धिले गुल्मी अस्पतालले सेवाग्राहीको विश्वास आर्जन गरिरहेको छ । अस्पतालबाट दैनिक सरदर २५० जनाले सेवा पाउँछन् । बाल, हाडजोर्नी र प्रसुती लगायतका विशेषज्ञ सेवासहित मिर्गौलाको डाइलाइसिस पनि गुल्मी अस्पतालमा हुन थालेको छ । तर, दुई वर्षमा निर्माण हुनुपर्ने भवन साढे चार वर्षसम्म निर्माण नहुँदा सेवा प्रवाहमा असहजता र विस्तारमा ठुलो चुनौति रहेको छ । चौतर्फी आलोचना र ताकेता हुँदा पनि रङ्गरोगन, विद्युतीय काम तथा फिनिसिङ्गको काममा निर्माण व्यवसायी अल्झिरहेका छन् ।

अन्तिम पटक थपिएको समय गत पुस १६ गते सकिएपनि कामले पूर्णता नपाएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो । भारत सरकारको पूर्ण आर्थिक सहयोगमा अहिले सडक सहरी तथा भवन निर्माण आयोजना पाल्पाबाट योजना कार्यान्वयन भइरहेको छ । अस्पताल भवन निर्माणको काम २०७८ असार १८ गते स्वच्छन्द/बानिया जे.भी. मकवानपुरले सम्झौता गरेको थियो ।