श्रीलङ्कामा पहिलो पटक वामपन्थी नेतालाई राष्ट्रपति निर्वाचित गरिएको छ । ५५ वर्षीय अनुराकुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएका हुन् । चरम आर्थिक सङ्कट परेको मुलुकलाई निकास दिने, लाखौँ नागरिकलाई गरिबीबाट मुक्त गर्ने, बेरोजगारी समस्या समाधान गरी नागरिकलाई राहतको अनुभूति दिलाउने चुनौतीको भारी उनीसामु रहेको छ ।
श्रीलङ्कामा सन् २०२२ को जनविद्रोहले तत्कालीन सरकार सत्ताच्युत भएपछि पहिलो पटक सेप्टेम्बर २१ मा राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा दिसानायक, सजिथ प्रेमदासा, रनिल बिक्रमासिङ्घेसहित ३८ जना चुनावी मैदानमा थिए । सेप्टेम्बर २२ मा भएको पहिलो चरणको मतगणनामा कसैको पनि बहुमत नआएपछि सोही दिन दोस्रो चरणको मतगणना गरियो । अग्रस्थानमा रहेका दुई उम्मेदवार दिसानायके र पे्रमदासाबीच मतगणना गरिँदा दिसानायके निर्वाचित भए । सन् २०२२ देखि राष्ट्रपति बनेका बिक्रमासिङ्घे भने पहिलो चरणमै पराजित भए ।
श्रीलङ्काको इतिहासमा पहिलोपटक राष्ट्रपति निर्वाचन दोस्रो चरणको मतगणनामा पुगेको हो । त्यहाँको संविधान अनुसार राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ । निर्वाचनमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ । पहिलो मतगणनामा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिए । त्यसपछि ती उम्मेदवारलाई प्रदान गरिएको मतमध्ये दोस्रो र तेस्रो प्राथमिकता दिइएको मतगणना गरेसँगै विजेताको टुङ्गो लगाइएको थियो ।
पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२.३१ प्रतिशत मत, दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२.७६ प्रतिशत मत पाएका थिए । दोस्रो कार्यकालका लागि दौडमा रहेका तत्कालीन राष्ट्रपति रनिल विक्रमासिङ्घेले भने १७.२७ प्रतिशत मत पाए । निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो ।
श्रीलङ्का आर्थिक रूपले टाट पल्टिएपछि सन् २०२२ मा देशव्यापी जनविद्रोह भएको थियो । जनविद्रोह थेग्न नसकेर देश छाडेर भागेका तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षले सिङ्गापुर पुगेर राजीनामा दिए । त्यसपछि तत्कालीन विपक्षी नेता रनिल विक्रमासिङ्घेलाई राष्ट्रपति बनाइयो । उनले सत्ता समालेपछि मुलुकको आर्थिक अवस्थामा सुधार हुनुपर्ने अपेक्षा अनुसार प्रगति भएन ।
दिसानायके नेसनल पिपुल्स पावर गठबन्धनबाट राष्ट्रपति पदका लागि उम्मेदवार बनेका थिए । गठबन्धनमा माक्र्सवादप्रति झुकाव राख्ने उनको दल जनथा भिमुक्ति पेरामुना (जेभिपी) आबद्ध छ । सन् २०१९ यता गठबन्धनको नेतृत्व गरिरहेका दिसानायके सन् २०१४ यता जेभिपीका प्रमुख छन् । उनले २०१९ को राष्ट्रपति चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए ।
देशको अर्थतन्त्र ध्वस्त हुनुमा देशमा व्याप्त भ्रष्टाचार र कमजोर अर्थनीति नै प्रमुख कारण भएको उनको दाबी छ । यस पटक उनी देशमा व्याप्त भ्रष्टाचार रोक्न कडा नीति अवलम्बन गर्नुपर्ने बताउँदै सुशासन कायम गर्ने वाचासहित चुनावी मैदानमा उत्रिएका थिए । उनले संसद् भङ्ग गरी आफूले अघि सारेका नीति कार्यान्वयनका लागि आउँदो नोभेम्बर १४ मा ताजा जनमत लिने तयारी गरेका छन् । विघटित दुई सय २५ सदस्यीय संसद्मा उनी नेतृत्वको जेभिपीका तीन सदस्य थिए ।
दिसानायके लामो समयदेखि राज्यले कडा हस्तक्षेप गर्नुपर्ने, करको दायरा घटाउनु पर्ने, बजार र अर्थतन्त्रसम्बन्धी नीतिमा केही कडा व्यवस्था ल्याउनुपर्ने पक्षमा छन् । मुलुक आर्थिक सङ्कटमा फसेपछि उहाँले निरन्तर उठाएका गरिब पक्षधर नीति र भ्रष्टाचारविरुद्ध उभिने प्रतिबद्धताका कारण उनको लोकप्रियता बढेको भन्न सकिन्छ ।
आर्थिक सङ्कटपछि श्रीलङ्काको विदेशी मुद्रा सञ्चिति कमजोर भएको थियो । जसका कारण देशले औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तुहरू आयात गर्न सकेको थिएन । त्यसका साथै सार्वजनिक ऋण ८३ अर्ब डलरभन्दा बढी पुग्नुका साथै मुद्रास्फीति ७० प्रतिशतसम्म पुगेको थियो ।
कतिपय नीतिगत कमजोरी, घट्दो निर्यात, वर्षौंदेखि कर प्रणालीमा रहेका समस्या र कोभिड सर्वमहामारीपछिको खस्कँदो पर्यटनका कारण अर्थतन्त्र सङ्कटमा परेको आमबुझाइ थियो । साथै देशमा व्याप्त भ्रष्टाचार र अस्तव्यस्तताका कारण उत्पन्न आर्थिक सङ्कटका लागि दुई दशकसम्म शासनसत्ता समालेको राजपाक्ष परिवार जिम्मेवार रहेको भन्दै त्यहाँ देशव्यापी जनविद्रोह भयो । जनविद्रोह चर्केपछि सन् २०२२ को जुलाईमा राष्ट्रपति गोटाबाया राजपाक्ष देश छाडेर भागे । त्यसको एक सातापछि रनिल बिक्रमासिङ्घे संसद्बाट राष्ट्रपतिमा नियुक्त भए तर उनले जनआन्दोलनको भावना अनुसार काम गर्न सकेनन् ।
श्रीलङ्कामा कोभिड सर्वमहामारीबीच सन् २०२० मा संसदीय आमनिर्वाचन सम्पन्न भई नयाँ सरकार बनेको थियो । तत्कालीन राष्ट्रपति गोटाबाय राजपाक्षले चुनाव गराउँदा सत्तारूढ श्रीलङ्का पिपल्स फ्रन्ट र साझेदार दलहरूले दुई तिहाइ बहुमत प्राप्त गरेका थिए । अनि राष्ट्रपति गोटाबायले दाइ महिन्दा राजपाक्षलाई प्रधानमन्त्री नियुक्त गरे ।
दाजुभाइको संयुक्त प्रयासमा श्रीलङ्काको राजनीति सुखद चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको थियो । श्रीलङ्काको राजनीति पछिल्लो दुई दशक राजपाक्ष परिवारमा केन्द्रित थियो । महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति बनेका थिए । उनको कार्यकालमा सबैभन्दा ठूलो चुनौती तमिल विद्रोह अन्त्य भयो । तमिल विद्रोह अन्त्य गर्दा गोटाबाय रक्षामन्त्री थिए । दाजुभाइको साहसिक कदमले श्रीलङ्का चरम हिंसाबाट मात्र मुक्त भएन मुलुक विखण्डन हुनबाट पनि जोगियो ।
महिन्दाले बहुसङ्ख्यक सिंहाली समुदायको प्रतिनिधित्व गर्दै तमिल विद्रोहप्रति कठोर नीति लिए पनि अन्त्यमा उनले अल्पसङ्ख्यक तमिल समुदायप्रति उदार नीति लिए । पश्चिमा मुलुकले राजपाक्ष दाजुभाइलाई नरुचाए पनि श्रीलङ्कालीहरूले रुचाएका कारण उनीहरू पटक पटक सत्तामा पुगे तर आर्थिक सङ्कट चुलिएपछि जनताले नै विद्रोह गरी उनीहरूलाई सत्ताच्युत गरे ।