• १३ वैशाख २०८१, बिहिबार

अछामको लयाँटीमा मतदान जारी

blog

शिवराज ढुङ्गाना
अछाम, जेठ ३ गते ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीस्थित मतदान केन्द्रमा मङ्गलबार मतदान कार्य भइरहेको छ । वैशाख ३० गते झडपका कारण लयाँटीस्थित मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अर्का मतदान अधिकृत तोकेर पुनः मतदान भइरहेको पञ्चदेवल विनायक नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सुरक्षा व्यवस्था कडा पारेर मतदान भइरहेकोमा हालसम्म ९८३ मत खसेको मतदानस्थलमा रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिनुभयो । 

लयाँटीमा कांग्रेस र स्वतन्त्र उम्मेदवार पक्षबीच शुक्रबार करिब १२ बजेबाट मतदान केन्द्रमा झडप भएको थियो । उक्त झडपमा तीनजना घाइते भएका थिए ।

लयाँटीस्थित नवज्योति माविको ‘क’ र ‘ख’ केन्द्रमा एक हजार ५७५ मतदाता रहेकोमा शुक्रबार ४२१ मत मात्र खसेका थिए ।

वैशाख ३० गते नवज्योति माविमा भएको स्थानीय तहको निर्वाचन रद्द गरेर पुनः निर्वाचन गर्न शनिबार आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । आयोगको निर्देशन अनुसार स्थानीय सर्वदलीय बैठकले जेठ ३ गते मङ्गलबार लयाँटीमा पुनः मतदान गर्ने सहमति भएको थियो ।

लयाँटीमा मतदान कार्य सकिएर मतपेटिका ढुवानी भएलगत्तै पञ्चदेवल विनायक नगरपालिकाको मतगणना गरिने सहायक निर्वाचन अधिकृत पदमबहादुर माझीले जानकारी दिनुभयो ।

‘‘आजै तीन बजे सर्वदलीय बैठक राखेका छौं । लयाँटीको मतपेटिका पुग्नेबित्तिकै मतगणना सुरु गछौं ।’’ अधिकृत माझीले भन्नुभयो । लयाँटीमा पुनः मतदान हुने भएपछि पञ्चदेवल विनायक नगरपालिकाका अन्य मतदान केन्द्रको मतगणना हुन सकेको छैन ।

सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले) पक्षबीच झडपका कारण रद्द भएको साँफेबगर नगरपालिका–१३ बाब्लामा भने जेठ ६ गते मतदान हुने भएको छ ।