काठमाडौँ, मङ्सिर १ गते । राजवीर प्रधान र शिभाली गुरुङ खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शनिबार पहिलो हुनुभएको छ ।
राजवीर छात्र तथा शिभाली छात्रामा पहिलो हुनुभएको हो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्र फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२, ६–० को सोझो सेटमा हराउनुभयो ।
छात्राको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ६–२, ६–७, ७–६ ले हराउनुभयो । नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा शिभालीले दोहोरो स्वर्ण जित्नुभयो । शिभाली यु–१४ मा पनि पहिलो हुनुभयो ।
यस स्पर्धाको फाइनलमा पनि शिभालीले स्वस्तिकालाई नै हराउनुभयो । यु–१४ छात्र सिंगल्समा वृजेश शीर्ष स्थानमा रहनुभयो । आठदिने प्रतियोगितामा एक सय २७ खेलाडीले भाग लिएका थिए ।