• २४ मंसिर २०८१, सोमबार

दूतावासबाट श्रम स्वीकृतिको तयारी

blog

काठमाडौँ, कात्तिक २९ गते । सरकारले मलेसिया र खाडी मुलुकमा लामो समयदेखि कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई नेपाली दूतावासबाट श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको भदौमा उक्त विषयमा निर्णय गरेर हाल कार्यान्वयनमा ल्याएको हो । 

निर्णय अनुसार अबदेखि श्रम गन्तव्यका लागि वैध भए पनि नेपालको हकमा अवैध भएका नेपाली श्रमिकलाई वैध बनाउन ती देशमा रहेको दूतावास, गैरआवासीय नेपाली सङ्घको सहकार्यमा अभियान सञ्चालन गरिने छ । ती देशमा भ्रमण भिसामा गन्तव्य मुलुकमा पुगेर काम गरिरहेका श्रमिक र घरेलु श्रमिकले पनि विदेशस्थित नेपाली दूतावासबाट श्रम स्वीकृति पाउने व्यवस्था मन्त्रालयले गरेको छ । 

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गन्तव्‍य देशमा वैधानिक रूपमा काम गरिरहेका श्रमिकलाई नेपाल सरकारले अवैध बनाउनु उचित नहुने भएकाले विदेशबाटै वैधानिक हुन श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो । एक पटक श्रम स्वीकृति लिएर गएकालाई श्रमिकले पुनः श्रम स्वीकृति दूतावासबाट लिन सकिन्छ तर एक पटक पनि श्रम स्वीकृति नलिई गएका श्रमिकको हकमा भने काम भइरहेको उहाँको भनाइ छ । 

“श्रम नगरी भ्रमण भिसामा गएका श्रमिकको बायोमेट्रिक नभएका कारण दूतावासबाट पुनः श्रम स्वीकृति दिन नमिल्ने भएपछि दूतावासमा बायोमेट्रिकको वैकल्पिक व्यवस्था गर्दैर्छौं,” उहाँले भन्नुभयो “राष्ट्रिय परिचयपत्र र राहदानी लिँदा बायोमेट्रिक गरेका आधारमा पनि श्रम स्वीकृति दिन सकिन्छ कि भनेर प्राविधिक रूपमा तयारी गरिरहेका छौँ, छिट्टै टुङ्गो लगाउँछौँ ।”

मन्त्री भण्डारीले आकर्षक रोजगारीका लागि भ्रमण भिसामा श्रम स्वीकृति नलिई गएर गन्तव्य देशमा वैध भएर काम गरेकालाई नेपालको कानुन अनुसार वैध बनाउनु पर्छ भन्ने सरकारको अभियानमा सबैलाई साथ दिन आग्रह गर्नुभयो । नेपालबाट भ्रमण भिसामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर श्रम भिसा लिँदै काम गर्नेको सङ्ख्या ठुलो भएको दाबी गरिन्छ । आधिकारिक तथ्याङ्क के कति छ भन्ने विषय कसैलाई पनि जानकारी छैन । 

वैदेशिक रोजगारीमा गएका महिलाको अधिकारको क्षेत्रमा काम गर्ने संस्था पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले विभिन्न माध्यमबाट ऐजेन्टको प्रलोभनमा परेर विदेश पुगेका श्रमिक र घरेलु श्रमिकका रूपमा श्रम स्वीकृतिको व्यवस्था नभएकाले विभिन्न बाटोबाट विदेश पुगेका महिलाले सरकारको यो निर्णयबाट लाभ उठाउन सक्ने बताउनुभयो । 

मलेसिया र खाडीका (साउदी अरब, कुवेत, ओमान, कतार, संयुक्त अरब इमिरेट्स (युएई बहराइन) मा पनि विभिन्न तरिकाबाट अवैध रूपमा पुगेर काम गरिरहेका छन् । युरोपका विभिन्न गन्तव्‍य मुलुकमा समेत श्रम स्वीकृति नलिई जानेको सङ्ख्या ठुलो छ । 

युएईमा घरेलु श्रमिक पठाउने तयारी

श्रम मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) मा नमुना कार्यक्रमका रूपमा घरेलु काममा पठाउने तयारी भएको जनाएको छ । युएईमा नेपाली महिलालाई घरेलु श्रमका लैजाने गरी धेरै माग रहेकाले नेपाल र युएईका प्रतिनिधि सम्मिलित प्राविधिक समितिले के कसरी कति सङ्ख्या श्रमिक लैजाने भन्ने विषयमा काम गरिरहेको श्रममन्त्री भण्डारी जानकारी दिनुभयो । समितिले युएईमा कुन क्षेत्रमा घरेलु काममा पठाउने भन्ने स्पष्ट पार्ने छ । 

सरकारले महिलालाई घरेलु श्रमिकका रूपमा खाडी मुलुक जान प्रतिबन्ध लगाएपछि वर्षौंदेखि ती देशमा काम गरिरहेका महिला श्रमिक रोजगारी गुम्ने डरले बिदामा समेत घर आउन पाएका थिएनन् । प्रतिबन्धका बिचमा पनि अवैध बाटो हुँदै गएका घरेलु श्रमिक नेपाल फर्केपछि श्रम स्वीकृति नपाउने भएकाले फर्किन सकेका थिएनन् ।