• ६ कात्तिक २०८२, बिहिबार

वीरगन्जमा हरियो तरकारीको भाउ आकाशियो

blog

फाइल तस्बिर

कन्हैयालाल केसरी

पर्सा, कात्तिक ६ गते । वीरगञ्जको स्थानीय बजारमा हरियो तरकारीको मूल्य हालसम्मकै उच्च भएको छ । गत असोज १८ गते आएको बाढीका कारण किसानहरूले लगाएको तरकारी नष्ट भएपछि मागअनुसार हरियो तरकारी बजारसम्म पुग्न नसक्दा तरकारीको मूल्य आकासिएको व्यवसायीहरूको भनाइ छ।

वीरगन्जको तरकारी बजारमा आलु र प्याज बाहेक हरियो तरकारी किलोको एक सयभन्दा बढीमा बिक्री हुँदा र्सवसाधारण तथा गृहिणीहरू मारमा परेका छन्। गृहिणी लक्ष्मीदेवी गुप्ताले तराईमा प्रायजसो मघेशी मुलका परिवारमा लगभग दसैंदेखि छठसम्म माछा मासु नखाने भएकाले पनि हरियो तरकारीको माग बढेको बताउनुभयो ।  

गृहिणी रमितादेवी साहले तरकारीको मूल्य उच्च भएपछि भान्सामा पाक्ने गरेको दुई थरिका तरकारी झरेर एक थरीमा सीमित भएको छ । तरकारी महँगिएपछि भान्सामा चना र गेडागुडीले प्रवेश पाएको उहाँको भनाइ छ।

तरकारी व्यवसायी रमेश तुरहाले नेपाली बजारबाट मागअनुसार तरकारी आपूर्ति हुन नसक्दा भारतीय सीमा रक्सौल नाकाबाट भित्रिने हरियो तरकारीले मूल्य सन्तुलन राख्न ठुलो भूमिका खेलेको बताउनुभयो।

वीरगन्जको स्थानीय बजारमा गोलभेडा ठुलो (भारतीय) प्रतिकिलो  १०० रुपियाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १२० रुपियाँ,  आलु रातो प्रतिकिलो ६० रुपियाँ, आलु रातो (भारतीय) प्रतिकिलो ५० रुपियाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५ रुपियाँ रहेको छ ।  

यस्तै, गाजर (लोकल) प्रतिकिलो १४०, गाजर (तराई) प्रतिकिलो १२०, लोकल बन्दा प्रतिकिलो ६५, काउली स्थानीय प्रतिकिलो १६०, सेतो मूला (लोकल) प्रति मुठा ६० रुपियाँ,  भन्टा लाम्चो प्रतिकिलो १२० रुपियाँ, भन्टा डल्लो प्रतिकिलो १६० रुपियाँ पुगेको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो ६००, तितो करेला प्रतिकिलो १२०, लौका प्रतिगोटा १०० देखि १४० रुपियाँ, परबर (लोकल) प्रतिकिलो १४०, परबर (तराई) प्रतिकिलो १२०, घिरौँला प्रतिकिलो १०० रुपियाँ पुगेको छ । त्यस्तै, रायोसाग प्रतिमुठा २०, पालुङ्गो साग प्रतिमुठा ४०, तोरीको साग प्रतिकिलो १८०,  काँक्रो (लोकल) प्रतिकिलो  ८०, खुर्सानी हरियो प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिमुठा २० रुपियाँमा बिक्री भइरहेको छ । तरकारी व्यवसायी हीरा साहका अनुसार छठसम्म तरकारीको मूल्य बढ्ने बताउनुभयो ।