• ६ कात्तिक २०८२, बिहिबार

बालिकको चित्रकला यात्रा

बाल्यकालको सोख, युवावस्थामा मुख्य पेसा

blog

रेसुङ्गा नगरपालिका–८ का चित्रकार बालिक विश्वकर्मा । तस्विर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), कात्तिक ६ गते । गुल्मीको रेसुङ्गा नगरपालिका–८ का ३६ वर्षीय बालिक विश्वकर्माको सानैदेखिको सोख हो चित्रकला । उहाँलाई सुरुमा चित्रकलाबाटै जीवन चल्छ भन्ने लाग्थेन । बालिकले जीवनका अनेक उतार–चढाव पार गर्दै आज चित्रकलालाई आफ्नो पहिचान र पेसाको रूपमा स्थापित गर्नुभएको छ । उहाँ विद्यालय उमेरबाटै चित्र कोर्न खप्पिस भएकाले कक्षामा धेरै पटक उत्कृष्ट हुनुहुन्थ्यो । 

सानै उमेरमा आमाको मृत्यु भएकाले पढ्दा–पढ्दै २०६५ सालमा विवाह भयो । सुरुमा २०६६ देखि ०७० सम्म स्थानीय बोर्डिङ्ग स्कुलमा पठाउनुभयो । तर, धेरै कमाउने लोभले भारत पुर्‍यायो । भारतको बसाई र कमाइ पनि साँचे अनुसार भएन् । बालिक घर फर्किएपछि पुन : परदेश जाने रहरमा काठमाडौँ कद्नुभयो । यो बिचमा बालिकले बुवा पनि गुमाउनुभयो । आमा, बुवा गुमाएको पीडाका बिच परिवारको जिम्मेवारीले बालिक उम्कने उपाय थिएन् । तर, २०७२ सालको भूकम्पले देश तहसनसह बनेपछि गाउँ नफर्किनुको विकल्प रहेन् । भूकम्पले बालिकको परदेश मोहमा पनि ठुलो धक्का दियो। 

केहि समय तम्घासमा किराना पसल सञ्चालन गरेसँगै चित्रकलालाई निरन्तरता दिने साेच आयो । सोही क्रममा बालिकले बनाएको स्थानीय महेश काउछाका बुवाको चित्र र काउछा परिवारबाट प्राप्त प्रेरणाले अलमलमा परेको चित्रकला पुन ः लयमा फर्कियो । उहाँमा चित्रकलाको निखारताको दौड सुरु भयो ।

बालिकलाई अधिवक्ता मुना पौडेलले काठमाडाैँमा चित्रकार रचना बज्राचार्य भेटाइदिनु भयो । विस्तारै गुल्मेली वरिष्ठ कलाकार भुवन थापासँगको भेट, सुझाव, हौसला र जिवित खड्का मगरको सहयोगले बालिकको कलामा उर्जा भरियो । तर, परदेशकै चक्करमा पैसा डुबेपछि घर र पसल बेच्नु भएको थियो । उहाँले परदेशका सवै बाटाहरू बन्द भएपछि २०७६ सालमा बुटवल झरेर आकाश आर्ट मार्फत हस्तलेखन र डिजिटलमा थप काम सिक्नुभयो । कोभिड–१९ सकिएपछि २०७७ माघबाट बालिकको चित्रकलामा व्यावसायिक यात्रा प्रारम्भ भयो ।

उहाँले अहिले वाल पेन्टिङ, क्यानभास, साइनबोर्ड लेखन, नम्बर प्लेट, बोर्ड, ब्यानर, शिलापत्र, ताम्रपत्र र टिसर्ट प्रिन्टिङ जस्ता काम गर्दै आउनु भएको छ । उहाँका अनुसार साइनबोर्ड र क्यानभास पेन्टिङ कठिन भएकाले सानो मिहिनेतले सबैलाई आउँदैन् । उहाँले भन्नुभयो,“डिजिटल आर्ट सबैले सिक्न सक्छन् । हस्तलेखनमा ठुलो मिहिनेत र सीप जरुर छ ।” कामको आधारमा खर्च आउने भएकाले व्यवसायमा लगानी धेरै पर्दैन । 

करिब १० लाखको व्यवसायबाट परिवारसँगै बसेर मासिक सरदरमा ७०-८० हजार रुपियाँ कमाइ भइरहेका बालिकको दाबी छ । उहाँका अनुसार चित्रकला सबैभन्दा बढि समयको लगानी हुन्छ । समयले डिजिटलबाट एआईतिर समय कोल्टे फेरेपनि तम्घासमा डिजिटल र हस्तलेखन दुवै काम आफुले मात्रै गर्दै आएकाले तत्काललाई व्यवसायबाट विस्थापित हुने अवस्था नरहेको बालिक विश्वकर्माको विश्वास छ । 

उहाँले कुनैबेला फेलेक्स प्रिन्टको दौड निकै भए पनि अन्तत : अहिले सवैले साइनबोर्डनै बनाउन थालेको बताउनुभयो । बालिकलाई पेसामा गर्व छ । बालिक भन्नुहुन्छ,“लेखन रगतमा थियो, समयले डिजिटल बनायो । अहिले विदेश मोह छैन, बरु आफ्नै देशमा सोखलाई पेसा र पहिचान बनाउन पाएकोमा गर्व छ ।”