• ११ पुस २०८१, बिहिबार

बाकुमा कोप २९ सुरु

blog

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिने क्रममा अजरबैजानको बाकुस्थित हैदर अलिएभ अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : रासस

काठमाडौँ, कात्तिक २७ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २९) सोमबारदेखि अजरबैजानको बाकुमा सुरु भएको छ । अजरबैजानका पारिस्थितिक तथा प्राकृतिक स्रोतमन्त्री मुक्तार बावयबलाई अध्यक्ष चयन गर्दै सम्मेलन सुरु भएको हो । उहाँलाई कोप २८ का अध्यक्ष डा. सुल्तान अहमद अल जाबेरले पद हस्तान्तरण गर्नुभएको थियो । नयाँ अध्यक्ष मुक्तार बावयबले सहभागी मुलुकहरूलाई स्वागत गर्दै कोप २९ लाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । 

जलवायु परिवर्तनसम्बन्धी विगतका धेरै समझादारीहरू कार्यान्वयनका लागि सबै मुलुकको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिँदै उहाँले भन्नुभयो, “दीर्घकालीन योजना, सामूहिक कार्यान्वयनले त्यसलाई सफल पार्न सकिन्छ ।” विश्वले सामना गरिरहेको जलवायु परिवर्तनको सङ्कटलाई कम गर्न यस सम्मेलनले प्रयास गर्ने उहाँले बताउनुभयो । जलवायु परिवर्तनसँग सम्बन्धित सङ्कटसँग जुध्नका लागि सन् २०३० सम्ममा कम्तीमा वर्षको २४ खर्ब अमेरिकी डलर बराबरको वित्त आवश्यक पर्ने बताइएको छ । 

विश्वमा प्रतिवर्ष २५० बिलियन डलर बराबरको कार्बन बिक्रीको सम्भावना रहेको भन्ने पेरिस सम्झौता अनुसार अगाडि बढ्न पनि यस सम्मेलनले जोड दिने छ, साथै अराजक बन्दै गएको जलवायु सङ्कटको न्यूनीकरणमा केन्द्रित रहँदै विश्वका मुलुकले कार्बन उत्सर्जन कटौतीका लागि नयाँ पहलबारे सम्मेलनमा छलफल गर्ने छन् । कार्बन उत्सर्जनमा धेरै भूमिका खेल्ने विकसित मुलुकलाई बढी जिम्मेवार बनाउने विषय पनि सम्मेलनको एजेन्डा बन्ने छ । उद्घाटनलगत्तै कोप २९ को महत्वपूर्ण सत्र सामेबारदेखि नै सुरु भएको छ । पेरिस सम्झौताका पक्षराष्ट्र १९५ वटा रहेका छन् । कोप २९ सम्मेलनमा अधिकांश मुलुकको उपस्थिति रहेको छ ।