• १५ वैशाख २०८१, शनिबार

बेलडाँडीमा गुम्यो एमालेको विरासत, काँग्रेसका राना विजयी

blog

लक्ष्मणदत्त पन्त

महेन्द्रनगर, जेठ १ गते । कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका हरिशचन्द्र राना निर्वाचित हुनु भएको छ । एमालेले जित्ने गरेको उक्त पालिकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टलाई १ हजार ८०२ मत अन्तरले पराजित गर्दै काँग्रेसका राना अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

२०५४ र ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले अध्यक्षसहित राम्रो उपस्थिति जनाएको छ । ०७४ को चुनाउमा ५ वडा रहेको उक्त पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित चारवटा वडा जितेको थियो । यस पटक भने एमाले एक वडामा सिमित हुन पुगेको हो ।

निर्वाचित अध्यक्ष रानाले ४ हजार १०३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टले २ हजार ३०१, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले १ हजार ७६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनुभयो ।

बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका शान्ति नाथ निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका शान्ति नाथले ३ हजार ६७३ मत प्राप्त गर्नुभयो .

नेकपा एमालेका फुलदेवी रानाले ३ हजार २२७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले ९७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका बसन्ती चौधरीले २३० मत प्राप्त गर्नुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली काँग्रेस तथा वडा नम्बर ४ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत केसीले बताउनुभयो ।