अनिल पराजुली
हेटौँडा, चैत १८ गते । राष्ट्रिय आर्थिक गणना २०८२ का लागि मकवानपुरमा ५९ गणक परिचालन गरिने भएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय आर्थिक गणनामा तथ्याङ्क सङ्कलनका लागि जिल्लामा ५९ जना गणक र ९ जना सुपरीवेक्षक परिचालन गरिने भएको हो ।
आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानहरूको विद्यमान सङ्ख्या, अर्थतन्त्रका क्षेत्र, संरचना अनुसार आधार र वितरणसम्बन्धी तथ्याङ्क उत्पादन तथा प्रकाशन गर्ने उद्देश्यले नेपालमा दोस्रो आर्थिक गणना हुने भएको छ । २०८३ वैशाख २ गतेबाट असार ७ गतेसम्म हुने आर्थिक गणनाका लागि कार्यालय स्थापना, गणक तथा सुपरीवेक्षण नियुक्ति, तालिम लगायतका तयारी पूरा भइसकेको जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा आर्थिक गणना सञ्चालनको तयारीका लागि सरोकारवालाहरूसँग बुधबार हेटौँडामा छलफल तथा अन्तर्क्रिया गर्दै गणनालाई प्रभावकारी बनाउनका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालयका सुपरीवेक्षक रुद्र बोगटीले जिल्लामा गणक र सुपरीवेक्षक नियुक्त गरी गणनाको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक गणनाका लागि हेटौँडा उपमहानगरपालिकामा ३२, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा ५/५ जना, बकैयामा ४ जना, बागमती र मकवानपुरगढीमा ३/३ जना, भीमफेदी, राक्सिराङ र इन्द्रसरोवरमा २/२ जना र कैलाश गाउँपालिकामा १ जना गणक खटाइने आर्थिक गणना कार्यालय मकवानपुरले जनाएको छ ।
उहाँका अनुसार प्रत्येक प्रतिष्ठानमा प्रश्नावली अनुसार प्रत्यक्ष अन्तरवार्ता वा इ–सेन्सस प्रणालीबाट तथ्याङ्क सङ्कलन गरिने छ । औद्योगिक वर्गीकरण अनुसार आर्थिक क्रियाकलापका १८ वटा क्षेत्रहरूलाई आर्थिक गणनाले समेट्ने बोगटीले जानकारी दिनुभयो । जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजकसमेत रहेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आर्थिक गणनाका लागि आउने गणकहरूलाई वास्तविक तथ्याङ्क उपलब्ध गराउन सहजीकरणका लागि सबै सरोकारवाला निकायलाई अनुरोध समेत गर्नुभएको छ ।
जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, प्याब्सनलगायतका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी अन्तर्क्रियामा अधिकारीले यथार्थ तथ्याङ्क सङ्कलन गर्न सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । गणकलाई उपलब्ध गराइएको तथ्याङ्ककको सामुहिकतामा मात्रै उपयोग हुने तथा व्यक्तिगत रूपमा दुरुपयोग नहुने कानुनी सुनिश्चितता रहेको भन्दै उहाँले सबैले निर्धक्क तथ्याङ्क उपलब्ध गराउन पनि अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाटले आर्थिक गणनाका क्रममा उद्योगी व्यवसायी गणकलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । नेपालमा पहिलो पटक २०७५ सालमा आर्थिक गणना भएको थियो ।