• १२ कात्तिक २०८१, सोमबार

साफ महिला फुटबल च्याम्पियनसिप २०२४

सम्झनलायक जितसहित नेपाल फाइनलमा

blog

जितपछि उत्साह साट्दै नेपाली खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौँ, कात्तिक १२ गते ।  रातो कार्ड, एक गोलले पछाडि, प्रीति राईको गोल अमान्य र तनावले करिब एक घण्टाको खेल रोकिनु जस्ता प्रतिकूल परिस्थितिलाई चिर्दै नेपालले आइतबार परम्परागत प्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा ४–२ ले हराएर साफ महिला फुटबल च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल १–१ ले बराबरीमा सकिएपछि जितहारको निर्णय सिधै टाइबे्रकरमार्फत गरिएको थियो ।

नेपालले लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो । नेपालले अब बुधबार साबिक विजेता बङ्गलादेशविरुद्ध उपाधि भिडन्त गर्ने छ, जुन पछिल्लो संस्करणको पुनरावृत्ति हुने छ । सो समय बङ्गलादेशले नेपालको पहिलो पटक साफ च्याम्पियन बन्ने सपना चकनाचुर पारेको थियो । नेपालले अब पछिल्लो फाइनलको हारको बदलासहित च्याम्पियन बन्ने अर्को अवसर पाएको छ ।

दशरथ रङ्गशालामा खचाखच दर्शकको समर्थनबिच पेनाल्टी सुटआउटमा नेपालका चारै खेलाडी सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिसा कार्कीले गोल गर्नुभयो । भारतका लागि मनिषा र सिरभोइकरको पेनाल्टी प्रहार मात्र सफल भयो । कप्तान आशालता देविकको पहिलो पेनाल्टी प्रहार गोलपोस्टमा लागेर फर्कियो भने छानु सोरोखाइबमको प्रहारलाई स्थानापन्न गोलरक्षक अन्जना रानामगरले विफल पार्नुभयो । प्रशिक्षक राजेन्द्र तामाङले टाइब्रेकरका लागि पेनाल्टी विशेषज्ञ गोलकिपर अन्जनालाई मैदानमा छिराउनुभएको थियो ।

यसअघि खेलको ७२ औँ मिनेटमा सङ्गीता बासफोरको गोलबाट भारतले अग्रता बनाएपछि नेपाल हारतर्फ गएको थियो । सङ्गीताले डिबक्सबाहिरबाट दर्शनीय प्रहारमार्फत गोल गर्नुभएको हो । उत्तरार्धको सातौँ मिनेटमै रेखा पौडेलले दोहोरो पहेँलो कार्डसहित मैदान छोडेपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । यद्यपि नेपालले एक मिनेटपछि नै प्रीति राईको गोलबाट खेल बराबरीमा ल्यायो तर सो गोलले मान्यता पाएन ।

रेफ्री चोकी ओमले सुरुमा गोल भएको इसारा गरे पनि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल अवैध भएको निर्णय गर्नुभयो । नेपालले गोल गर्दा भारतीय अफिसियल मैदानभित्रै रहेको कारण देखाउँदै गोल रद्द गरिएको थियो । रेफ्री चोकीले सेन्टरबाट बल चलाउने सिठी फुक्दा भारतीय खेलाडी गोलको खुसी मनाउनमा व्यस्त थिए । नेपालकी सावित्राले फटाफट बल चलाएर प्रीतिलाई पास दिनुभयो र प्रीतिले खाली गोलपोस्टमा बल छिराएर गोल गर्नुभयो । सावित्राले बल चलाउँदा भारतका कुनै खेलाडी विपक्षी हाफमा थिएनन् । सो गोललाई मान्यता नदिएकोमा नेपाली टिमले विरोध गर्दा खेल एक घण्टा १५ मिनेट रोकिएको थियो । यसअघि रेखाले रातो कार्ड पाउँदा पनि खेल १० मिनेटभन्दा बढी रोकिएको थियो । दोस्रो पटक  रोकिएर पुनः सुचारु भएको खेल एक मिनेट नबित्दै सावित्राले प्रीतिको पासमा अनपेक्षित रूपमा बराबरी गोल फर्काएर नेपाललाई जीवनदान दिनुभयो । भारतीय गोलकिपर एल. देवी वाङ्खेम डिबक्सबाहिर आएको मौका छोपी सावित्राले खाली गोलपोस्टमा बल छिराउनुभएको हो । त्यसपछि नेपालले पेनाल्टी सुटआउटमा खेल जित्यो ।

नेपालका प्रशिक्षक तामाङले दर्शकको साथ र खेलाडीको अविस्मरणीय प्रदर्शनले खेल जित्न सफल भएको बताउनुभयो । “पाउनुपर्ने गोल नदिँदा हामीले खेल्न मानेनौँ तर नेपाली फुटबललाई नै कारबाही हुने भनेपछि हामी खेल्न राजी भएका हौँ,” उहाँले भन्नुभयो, “हामीमा जितेरै छाड्ने इगो थियो । सावित्रा हुँदा गोल फर्काउने विश्वास पनि थियो । सबैले खेलेरै जित्ने मनोभावनामा खेले ।” प्रशिक्षक तामाङले यस खेलमा रेफ्रीबाट नेपाली टिमलाई घात भएको पनि बताउनुभयो ।

पछिल्लो संस्करणमा नेपालले भारतलाई नै हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो, जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ । नेपाल पछिल्ला चार खेलमा भारतसँग हारेको छैन । समग्रमा भने यी दुईबिच भएका कुल १८ भिडन्तमा भारतले ११ र नेपालले तीन खेलमा जित हात पारेका छन् । साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।