सिराज खान
नेपालगन्ज, असोज १९ गते । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दी मध्ये ३२ जनालाई पक्राउ गरिएको छ भने ४६ जना अझै फरार छन् ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसंग भिडन्त गरेर ७८ जना बालबन्दीहरू सो बाल सुधार गृहबाट भागेका थिए ।
भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
घाइते भएका दुवै जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले भागेका मध्ये ४६ जना बालबन्दी अहिलेसम्म सम्पर्कमा नआएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भागेका मध्ये २९ जनालाई पक्राउ गरेर बाल सुधार गृहमा ल्याईसकिएको र तीन जना चितवनमा पक्राउ परेकोले ल्याउने क्रममा रहेको तथा अझै ४६ जना पक्राउ पर्न बाँकी रहेका छन् ।’
अझैपनि फरार रहेका ४६ जनाको खोजी कार्य भइरहेको जनाउँदै प्रमुख रानाले खोजीका लागि प्रहरीले नेपाल भारत नाकाहरुदेखि पहाडि जिल्लामा समेत निगरानी बढाएको बताउनुभयो ।
दसैँमा उनिहरु आफ्नो घरमा जान सक्ने संभावना रहेकोले फरार रहेकाहरुको ठेगानामा समेत प्रहरीलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
फरार भएका बालबन्दी लगायत सबै प्रकारका कैदीबन्दीहरूलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि यही असोज २० गतेसम्मको समयसीमा दिइएको भएपनि सो समयसीमा पुरा हुन एक दिन मात्र बाँकी रहँदासम्म फरार बालबन्दीहरु नफर्किएको नौबस्ता बाल सुधार गृहले जनाएको छ ।
असोज २० गतेभित्र बाल सुधार गृहको सम्पर्कमा नआए उनीहरूलाई कारागार ऐन अनुसार कारबाही हुने बताईएको छ ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट भागेको समाचार बाहिरिएपछि नौवस्ता बाल सुधार गृहमा पनि दिउँसोदेखि नै होहल्ला सुरु भएको थियो ।
रवि लामिछाने नख्खु जेलबाट निस्केपछि आफुहरुलाई पनि छाड्नुपरयो भन्दै बाल बन्दीहरुले आन्दोलन सुरु गरेको जनाउँदै बासुधार गृहका प्रमुख रानाले सोही राति ७८ जना भागेको केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र भाग्ने क्रममा पाँच जनाको मृत्यु भएको बताउनुभयो ।