• ३० असोज २०८१, बुधबार

ड्रोनबाट बाँडियो राहत

blog

काठमाडौँ, असोज २२ गते । ड्रोन भन्नेबित्तिकै धेरैले क्यामेरा बुझ्छन् तर यसको प्रयोग त्यतिमा मात्रै सीमित छैन । अरू देशमा विभिन्न क्षेत्रमा यसको व्यापक प्रयोग रहँदा नेपालमा पनि अत्यावश्यक मानवीय सहायता सेवामा यो प्रयोग हुन थालेको छ । 

पनौतीका बाढी र पहिरो प्रभावित बासिन्दालाई ड्रोनको सहायताले राहत वितरण गरिएको छ । भौगोलिक विकटताका कारण खाद्यान्नलगायतको सामग्री लैजान नसक्ने र प्रभावित क्षेत्रका बासिन्दा राहत लिन आउन नसक्ने अवस्थामा सहजै राहत सामग्री पुर्‍याएको छ । 

पहिरो प्रभावित ८५ घरधुरीका लागि चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइएको हो । हिँडेर राहत लिएर जाने अवस्था नदेखेपछि ड्रोनको माध्यमबाट राहत पठाइएको हामी नेपाली संस्थाका प्रतिनिधि सुदन गुरुङले बताउनुभयो । 

मानिसका लागि जोखिमयुक्त मानिएको ठुला विद्युत्का परियोजनामा ड्रोनको प्रयोग सफलसमेत भएको छ । हालै मात्र चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणमा तार तान्न ड्रोनको प्रयोग भएको थियो तर यो नै सुरुवात भने होइन ।

२०७२ सालको भूकम्प र हालैको बाढीपहिरोमा मानवीय सेवामा यसको प्रयोग त भयो तर सीमित मात्र रह्यो । औषधी, रगत र खानेपानी जस्ता अत्यावश्क सुविधाका लागि ड्रोनको प्रयोग हुनु आफैँमा राम्रो सुरुवात भने हो । प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको नेपालमा यस्तो प्रयोगले राहत र उद्धारलाई सहज बनाउने विज्ञ र प्रयोक्ताको विश्वास छ । 

सडक सुविधाबाट वञ्चित हुने ग्रामीण तथा पहाडी क्षेत्रका लागि ड्रोन निकै उपयोगी देखिएको छ । २०७४ साल माघमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा औषधी बोकेको ड्रोनको सफल उडान भएको थियो । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले पहिलो पटक मेडिकल ड्रोनको प्रयोग गरेको थियो । 

त्यसयता ड्रोनको प्रयोग बढिरहेको छ । सेन्सरको सहायताले पाइलटबिनाको नै एक ठाँउको अत्यावश्यक सामग्री अर्को ठाउँसम्म पुर्‍याउन ड्रोन उपयोगी साबित बनेको काठमाडौँ विश्वविद्यालयका इन्जिनियर गोविन्द बानियाँले बताउनुभयो । 

उहाँका अनुसार ड्रोन रेडियो फ्रिक्वेन्सी वा जिपिसएसमार्फत नियन्त्रण हुने मानवरहित विमान जस्तै हो । आकार उपयोगिताका आधारमा सानोठुलो हुन्छ । 

नेपाल प्रहरीले अत्यधिक भिडभाड हुने ठाउँमा ड्रोनको प्रयोगमार्फत निगरानीसमेत गर्ने गरेको छ । ट्राफिक जाम तथा सुरक्षा संवेदनशीलताका समयमा प्रहरीले यसको सफल प्रयोग गरिसकेको छ । 

सहरमा मात्रै होइन, ग्रामीण तथा उच्च जोखिमका हिमाली क्षेत्रमा ड्रोनको प्रयोग सामान ओसार्न तथा मानवीय सहायताका लागि हुन थालेको छ । सगरमाथा आधारशिविरमा सामान तथा फोहोर व्यवस्थापनमा यसको प्रयोगको अन्तिम तयारी थालिएको छ । सगरमाथा आधारशिविरदेखि क्याम्प–१ सम्म सामान ओसारपसारका लागि प्रयोग गरिएको ड्रोनको परीक्षण उडान सफल भएपछि प्रविधि प्रयोगका लागि बाटो खुलेको पथप्रदर्शक पूजन सापकोटाले उल्लेख गर्नुभयो ।  खुम्बु पासाङल्हामु गाउँपालिकाको समन्वयमा चिनियाँ ड्रोन कम्पनी डिजिआईले गरेको परीक्षण उडान सफल भएको गाउँपालिकाले जनाएको छ । त्यसको परीक्षण सफल भएको र सगरमाथा बेसक्याम्पदेखि क्याम्प–१ सम्म सामान ओसारपसारमा ड्रोनको प्रयोग गर्न सकिने कुराको पुष्टि भएको गाउँपालिकाको वेबसाइटमा उल्लेख छ । 

गाउँपालिकाले गृह मन्त्रालयलगायतका सरकारी निकायबाट स्वीकृति लिएर ड्रोनको परीक्षण गरेको थियो । ड्रोनको प्रयोगले क्याम्प–१ मा सामान लैजान र माथिबाट बेसक्याम्पसम्म फोहोर ल्याउन सहज हुने आशा गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।  

कृषिमा पनि ड्रोनको अधिक सम्भावना छ । ड्रोनमा रहेको उच्च क्षमताको क्यामराबाट बालीको रेखदेख गर्न सकिने वरिष्ठ बागवानी विकास अधिकृत दीपकप्रसाद पौडेलले बताउनुभयो । यसको प्रयोग चीन, भारत र अमेरिकामा अत्यधिक हुने गरेको र नेपालमा पनि प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो । उहाँका अनुसार बालीमा कुनै पनि कीटनाशक औषधि वा अन्य कुनै पनि भिटामिन हाल्नु परे धेरै पर सतहसम्म छिट्न ड्रोनको प्रयोग गर्न सकिन्छ । कीटनाशकको जोखिमपूर्ण प्रयोगले गम्भीर बिरामीसमेत हुने भएकाले ड्रोनको प्रयोगले मानव स्वास्थ्यलाई समेत जोगाउने छ ।

त्यसका साथै ठुलो चरन क्षेत्रमा ड्रोनको प्रयोग गरेर सहजै पशुपालन गर्न सकिने लामो समयदेखि चीनमा यही विषयमा अध्ययन गरिरहेका प्रतीक घिमिरेले बताउनुभयो ।