• १७ माघ २०८२, शनिबार

कोदालो चलाउने हातमा किताब, कापी

blog

चौँरीदेउराली गाउँपालिकाका कृषक विज्ञसँग प्राविधिक ज्ञान लिँदै ।

 काभ्रेपलाञ्चोक (चौँरीदेउराली), माघ १७ गते । चौँरीदेउराली गाउँपालिकाका वडा नम्बर ५ की अग्रणी किसान भमीकुमारी तिवारीका हातमा बर्सौंपछि कलम र कापी परेको छ । अधिकांश समय हँसिया, कुटो र कोदोलो बोक्ने हातमा किताब, कापी परेपछि उहाँको दिनचर्या फेरिएको मात्र छैन केही सिकौँ भन्ने हुटहुटी पनि थपिएको छ । 

यो कुनै विद्यालय र विश्वविद्यालय होइन, मध्यपहाडी जिल्ला काभ्रेपलाञ्चोकको चौँरीदेउरालीमा सञ्चालन भएको कृषक पाठशाला हो । हातमा किताब र कापी साथमा मौसमी पात्रो भएका उहाँहरूको ध्येय शुद्ध बिउ उत्पादनमार्फत आत्मनिर्भर बन्नु हो । उहाँ जस्ता २७ जना किसान मङ्सिर १९ देखि सञ्चालन भएको कृषक पाठशालामा अध्ययन गरिरहनुभएको छ । २७ जना उहाँ जस्तै कृषक स्वस्थ गहुँको बिउ उत्पादनमा कसरी सफलता हात पार्न सकिन्छ भन्नेबारे अध्ययन गर्नुहुन्छ । 

एउटा गहुँको बोटबाट कति उत्पादन हुन्छ भन्ने ज्ञानसँगै त्यसलाई समुदायसम्म पु¥याउने कला पाठशालाले सिकाएको अर्का कृषक टेकप्रसाद चौलागार्इं बताउनुहुन्छ । “सुरुमा हामीले बर्सौंदेखि खेती गरिरहेकै हो नि, गहुँ छर्न पनि के सिकाएको होला जस्तो लागेको थियो,” उहाँले थप्नुभयो, “व्यावसायिक रूपमा गहुँ खेतीका लागि यो निकै आवश्यक पो रहेछ, यसले अरू बालीमा पनि प्रयोग गर्ने आधार सिर्जना गरिदियो । खनजोतदेखि बाली भित्र्याउने अवधिसम्म पाठशालामा सिकाइन्छ । खाद्यवस्तु, शत्रुजीव र मित्रजीवका फाइदा र बेफाइदाबारे पढाइ हुन्छ ।” ३० वर्ष खेतबारीमा काम गर्दा थाहा नपाएको कुरा कृषक पाठशालाले सिकाएको उहाँहरूको अनुभव छ । पाठशालका अर्का कृषक विद्यार्थी राजकुमार सापकोटाले गुणस्तरीय बिउ उत्पादनमा कृषक पाठशाला निकै सहयोगी बनेको बताउनुभयो । उहाँले मध्यपहाडी भेगमा पनि उत्कृष्ट बिउ उत्पादन गर्न सकिन्छ भन्ने शिक्षा पाठशालाबाट पाइएको बताउनुभयो । किसानकै खेतबारीमा गएर बाली उत्पादन अवधिभर सामूहिक रूपमा किसानलाई सिकाइने कृषक पाठशाला किसानमाझ प्रभावकारी बन्दै गएको आफूले अनुभव गरेको सहजकर्ता अञ्जना चौलागार्इंले उल्लेख गर्नुभयो । 

कृषिमा अधुनिक खेती प्रणाली भित्रिरहेको समयमा जिल्लाकै विकट गाउँपालिकाका किसानले कृषक पाठशालामार्फत प्राविधिक ज्ञान बटुलिरहेको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले उल्लेख गर्नुभयो । पाठशालाले समग्र कृषि विकासमा मद्दत पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । किसानकै खेतबारीमा गएर बिउ छर्नेदेखि भित्र्याउने समयसम्म देखापर्ने समस्यामा केन्द्रित भई खोज र प्रयोगका आधारमा बाली उत्पादन गरिने अभ्यासले किसानमा प्राविधिक ज्ञान बढ्दै गएको तथा बिउमा आत्मनिर्भर बनाउने ढोका खोलेको उहाँले स्पष्ट पार्नुभयो । 

बारीदेखि बजारसम्मबारे किसानलाई पाठशालामा सिकाइ हुने हुँदा कृषक पाठशालामा बढी आकर्षित हुन थालेको कृषि विकास कार्यालय काभ्रेका अधिकृत लक्ष्मी आचार्यले उल्लेख गर्नुभयो । उहाँले निरन्तर रूपमा बाली छर्नेदेखि भित्र्याउने समयसम्मको सम्पूर्ण ज्ञान किसानलाई दिने बताउनुभयो । किसानलाई व्यावहारिक, प्रयोगात्मक र खोजपूर्ण तरिका अपनाएर बाली अवधिभर गरिने अवलोकन, विश्लेषण र समूह छलफल गराई तत्काल आएका समस्या समाधान गर्न पाठशाला कृषकलाई दक्ष थलो बनेको उहाँले विश्वास व्यक्त गर्नुभयो । पाठशालामा फरक फरक रूपमा बाली उत्पादनको विधिसमेत प्रयोग गरिने बताउनुभयो । प्राङ्गारिक र रासायनिक पदार्थ प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्नमा हुने अन्तरसमेत पाठशालाबाट किसानले सिक्ने उहाँले बताउनुभयो । 

पाठशालामा कृषि प्राविधिकको सहयोगमा किसानले आफैँ रोग, किरा पहिचान गर्नेदेखि बाली उत्पादनसँग सम्बद्ध समस्यामा केन्द्रित भई सामूहिक खोज गर्ने हुँदा किसानमा प्राविधिक र प्रविधिको ज्ञान बढ्दै गएको अनुभव मिलेको कृषक लक्ष्मी चौलागाईंले बताउनुभयो । पाठशालामा किसान भौतिक रूपमै उपस्थिति भएर सिकाइ हुने हुँदा उनीहरू खेती गर्न अब्बल हुँदै गएका छन् । 

कृषक समूहमा गरिने अभ्यासले समूहबाहिरका किसानसमेत लाभान्वित हुँदै आएको र आफूहरूले सिकेको सिप समुदायस्तरमा लगेर सिकाउने गरिएको छ । लक्ष्मी चौलागार्इंले कुन जातको बिउ लगाउँदा राम्रो हुने ज्ञान सिकेको उल्लेख गर्दै समस्या आएमा जैविक र रासायनिक विषादी प्रयोग गर्नेबारे थाहा पाउने बताउनुभयो । चौँरीदेउरालीमा मात्र होइन, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा जिल्ला कृषि विकास कार्यालय काभ्रेले कृषक पाठशाला सञ्चालन गर्दै आएको छ । 

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।