काठमाडौँ, असोज ८ गते । चाडपर्व नजिकिँदै जाँदा विदेशबाट स्वदेश र शहरबाट गाउँघर फर्कने क्रम बढ्ने गर्दछ । चाडपर्वलक्षित हवाई उडानको तयारी एवम् यसको सुरक्षा व्यवस्थाका सन्दर्भमा वायुसेवा सञ्चालक सङ्घ, नेपालका प्रवक्ता मुरलीधर जोशी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा र नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक जगन्नाथ निरौलासँग गोरखापत्र अनलाइनका लागि गरिएको संवाद :
सुरक्षा मापदण्ड घटीबढी भन्ने हुँदैन : मुरलीधर जोशी–प्रवक्ता, नेपाल वायुसेवा सञ्चालक सङ्घ, नेपाल
दुई, तीन महिना अगाडिदेखि टिकट काट्न पाइने व्यवस्था छ । सबै एयरलायन्सहरुको अनलाइन सिस्टम छ । अहिले ट्राफिक चाहिँ बढ्दो छ । ट्राफिक भन्नाले पेसेन्जरको इन्क्वाइरी बढेको छ ।
हन्ड्रेड पर्सेन्ट अकुपेन्सी नै हुन्छ होला दुई, चार दिन । यो दसैँ सँगसँगै पर्यटनको सिजन पनि भएकाले हिमाली भेगमा पर्यटन गर्न जाने मान्छेहरुको पनि राम्रै बुकिङ छ । यहाँबाट धनगढी, भद्रपुर, विराटनगर जाने नेपालीहरु हुनुहुन्छ ।
हवाई सुरक्षामा हामीले अपनाउनुपर्ने मापदण्डहरु हामीले अपनाइरहेकै छौं । मौसम सुधार हुँदै गइरहेको छ, झन् राम्रो हुँदै गइरहेको छ । कुनै बेला दुर्घटना पनि भएको छ, यसले दुःख पनि परेको छ । तर मापदण्ड कहिले बढी, कहिले घटी भन्ने हुँदैन । जहिल्यै त्यही स्ट्याण्डर्डमै हुन्छ । विदेशबाट विज्ञहरु ल्याएर टेक्निकल, नन्–टेक्निकल तालिमहरु सञ्चालन गरिरहेका हुन्छौं । कम्पनीपिच्छे आ–आफ्नो सेफ्टी डिपार्टमेन्ट छ ।
यात्रुको सेवामा कुनै कमी आउन दिँदैनौं : रिन्जी शेर्पा–प्रवक्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
विमानस्थल त पहिलेदेखि नियमितरुपमा चलिरहेको छ । नियमित सेवा प्रवाह भइरहन्छ । चाडपर्वसँगै विस्तारै चाप बढ्दै जाला । दसैँ, तिहारमा उडान बढ्दै गयो भने सेवा, सुविधा चुस्त–दुरुस्त राख्ने काम हुन्छ । यो हामीले विगतदेखि नै ह्याण्डल गर्दै आएको हो ।
चाडपर्वलाई विचार गरेर सबै स्ट्याण्डबाइ राख्ने । यात्रुहरुको सेवा, सुविधामा कुनै कमी आउन नदिने भनेर निरन्तर रुपमा बैठक, छलफल भइरहेको छ ।
अब स्वाभाविकरुपमा उडानहरु बढ्दै जान्छ । उडानहरु र यात्रुको चाप बढ्दै गइसकेपछि त्यही अनुसारको सुविधा इन्ट्याक् राख्ने काम हाम्रो तर्फबाट हुन्छ ।
हाम्रो भनाइ के छ भने, यहाँहरुको यात्रा गर्ने योजना छ भने अहिलेदेखि टिकट बुक गर्नुप र्य ाे । कुनै ठाउँमा दश वटा उडान राखेको छ, त्यो उडानभित्र यात्रुले टिकट पाउन सकेनन् भने ११ औं उडान त राख्ने अवस्था आउँदैन । त्यही अनुसार यात्रुले पनि आफ्नो पाइक पर्ने ठाउँबाट टिकट बुक गर्नुप र्य ाे । अहिले अनलाइन, टेलिफोन विभिन्न माध्यमबाट टिकट बुक गर्न सकिन्छ ।
हवाइ टिकटमा प्राधिकरणले नियमन गर्छ : जगन्नाथ निरौला–महाप्रबन्धक, नागरिक उड्डयन प्राधिकरण
अब, समर सिजनको भन्दा उडानहरु बढ्छन् । नेपालीको चाडवाड आउन लाग्यो, पर्यटनको सिजन पनि सुरु भयो । हामी ती सबैलाई ह्याण्डल गर्न सक्छौं ।
सुरक्षा व्यवस्था सधैँभरि एकनास रहन्छ । तराईका विमानस्थलहरुमा रात्रिकालीन उडानको सेवा सुविधा छ । तराइका जस्तै, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज, धनगढीमा रात्रिकालीन सुविधा छ । ती क्षेत्रमा राति १२ बजे अबेरसम्म पनि हामी सेवा दिन सक्छौं । अरु दुर्गम क्षेत्रको विमानस्थलमा दिउँसोसम्म, सूर्यास्तसम्म मात्रै उडान हुन्छ ।
विदेशीहरुको हवाई टिकट नेपाल सरकारले तोक्न सक्दैन । विदेशीहरुको एयरलायन्सको आफ्नै नियम अनुसार भाडा निर्धारण हुन्छ । आन्तरिकको हकमा नेपाल सरकारले तय गर्ने हो । हवाई भाडामा न्यूनतमदेखि अधिकतम रेन्ज हुन्छ । भाडाको अधिकतम रेन्जभन्दा माथि गयो भने हामी कारवाही गर्छौं, प्राधिकरणले कारवाही गर्छ ।
नेपालको मौसम अनुमान गर्न नसकिने खालको छ । जस्तो कि, एक, आधा घण्टा अगाडि एक किसिमको मौसम हुन्छ । एकछिनपछि परिवर्तन भइरहेको हुुन्छ । मौसमलाई त हामी केही गर्न सक्दैनौं र पनि दुर्गम क्षेत्रको उडानमा साना प्रकारका जहाज जाने हुँदा भिज्युअल फ्लाइट नै गर्नुपर्ने हुन्छ । अर्थात्, आँखाले हेरेर मात्र उडान गर्नसक्ने हुन्छ । आइफारमा सेफ्टी अपनाउनुस्, भीआरमा त सेफ्टी गर्नुपरिहाल्यो भनेर हामी निर्देशन गरिरहेका हुन्छौं ।