• १० कात्तिक २०८२, सोमबार

हल भिजिटमा अनमोल, जसिता र आँचल

blog

दमौलीका दर्शकका साथ कलाकार । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १० गते । असोज ३१ गतेदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित नेपाली फिल्म ‘जेरी अन टप’ देशभर उत्साहका साथ प्रदर्शन भइरहेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै सिनेमा हलहरू दर्शकले भरिएका छन् र चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया झन् बलियो बन्दै गएको फिल्म युनिटले जनाएको छ ।

दर्शकको माया र समर्थन प्रत्यक्ष रूपमा अनुभूत गर्ने उद्देश्यले फिल्म टोली मोफसल टुरमा निस्किएको छ । यही क्रममा अभिनेता अनमोल केसी, अभिनेत्री जसिता गुरुङ र आँचल शर्मा सोमबार दमौलीस्थित क्युएफएक्स एपेक्स हलमा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न आउनु भएको छ । दिउँसो साढे २ देखि ३ः३० बजेसम्म आयोजित कार्यक्रममा कलाकारहरूले दर्शकसँग संवाद गर्दै फिल्मका आफ्ना अनुभव बाँडेका छन् ।

“दर्शकको प्रतिक्रिया नै हाम्रो सबैभन्दा ठुलो प्रेरणा हो,” अभिनेता अनमोल केसीले बताउनुभयो, “यस्ता भेटघाटहरूले हामीलाई अझ उत्कृष्ट सिर्जना गर्न ऊर्जा र उत्साह दिन्छन् ।” दमौलीकी दर्शक सन्ध्या खनालले पर्दामा देखिने प्रिय कलाकारहरूलाई प्रत्यक्ष भेट्न पाउँदा अत्यन्त उत्साहित महसुस भएको बताउनुभयो । त्यसैगरी, क्युएफएक्स हलका व्यवस्थापक किरण श्रेष्ठका अनुसार, फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै हल लगातार हाउसफुल चलिरहेको छ । “दर्शकको उत्साह असाधारण छ, सिट नै खाली हुने अवस्था छैन,” श्रेष्ठले हर्षका साथ भन्नुभयो ।