• ४ जेठ २०८१, शुक्रबार

युवामा कालो चस्माको क्रेज

blog

काठमाडौँ, वैशाख २७  गते ।

कालो चस्मा लाऊ है मैयाँ विशाल बजारको 

नगर्नु है चिन्ता मैयाँ दुई चार हजारको...

कुनै समय निकै चर्चामा रहेको यो गीतको भावझैँ हाल युवा पुस्तामा कालो चस्माको क्रेज निकै बढ्दो छ । अझ गर्मीयाममा त कालो चस्माको प्रयोग व्यापक हुनु स्वाभाविक हो । आसन्न स्थानीय चुनावमा नगरप्रमुखको उम्मेदवार बालेन शाहको चस्मा (सन ग्लास)को चर्चा जताततै भएजस्तै युवा पुस्तामा गर्मी मौसममा चस्मा फेसनको प्रमुख अङ्ग बनेको छ ।धुलो तथा घामको विकिरणबाट आँखालाई सुरक्षित राख्न चस्माले महत्त्वपूर्ण भूमिका खेल्छ । जताततैको धुलोका कारण मास्कसँगै चस्माको प्रयोग अनिवार्यजस्तै हुन पुगेको छ ।

यसले समर फेसनमा नयाँ फ्लेबर त दिन्छ नै, साथसाथै आँखालाई सुरक्षा पनि । गर्मीयाममा सन ग्लासको प्रयोग फेसनेबल देखिनुका साथै आँखाको रक्षाका लागि उपयोगी हुन्छ । घामको चर्को प्रकाश, धुलो, धुवाँ आदिको सोझो प्रभावबाट सन ग्लासले आँखालाई जोगाउँछ ।

नायिका प्रियङ्का कार्की चस्मा (सन ग्लास)को निकै सोखिन हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आँखाका लागि कालो चस्माको प्रयोग निकै उपयोगी मानिन्छ । कालो चस्माले आँखालाई धुलो, धुवाँ, किटाणुबाट बचाउनुका साथै अल्ट्रा भाइलेट विकिरणबाट समेत सुरक्षा प्रदान गर्छ ।” जसरी शरिरलाई लुगा चाहिन्छ, त्यसरी नै आखाँलाई चस्मा चाहिन्छ । “बाहिर निस्कन चस्माबिना त कल्पना पनि गर्न सकिँदैन,” कार्कीले भन्नुभयो । उहाँले राम्रो ब्रान्डको चस्मा मात्र प्रयोग गर्ने बताउँदै यसले आफूलाई फेसनेबल देखाउनुका साथै आँखाको पनि सुरक्षा गर्ने बताउनुभयो । 

चस्माले मानिसको व्यक्तित्व पहिचान गर्न महŒवपूर्ण भूमिका खेल्ने गर्छ । कार्कीले आफ्नो धारणा व्यक्त गर्दै चस्मा लगाउने केही मानिसलाई राम्रो सुहाउने तर कसैलाई भने फिटिक्कै नसुहाउने बताउनुभयो । “आफ्नो मुहारको बनोटलाई ख्याल नगरी बजारको फेसनअनुसार छान्दा लगाएको चस्माले सुहाउँदैन, त्यसैले आफ्नो अनुहारअनुसार चस्मा लगाउनुपर्छ,” उहाँले सुझाव दिनुभयो । 

विगत ३० वर्षदेखि चस्माको व्यापार गरिरहनुभएका अर्जुन श्रेष्ठका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट, छालाको रङ तथा कपालको शैलीमा निर्भर हुन्छ । श्रेष्ठले चारपाटे वा गोलो अनुहार भएका व्यक्तिलाई रेक्टेङ्गुलर तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा सुहाउने जानकारी दिनुभयो । ओभल आकारको मुहार भएका व्यक्तिलाई भने प्रायः सबैखाले फ्रेमको चस्मा सुहाउने उहाँको भनाइ छ । नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा अडिने खालको र छोटो नाक भएकाहरूलाई भने नाकको सिरानमै अडिने खालको चस्मा राम्रो सुहाउने उहाँको सुझाव छ ।

नायिका आँचल शर्मा पनि चस्माको अर्का सोखिन हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सन ग्लासको नाता स्टाइलसँग मात्र छैन, आँखाको स्वास्थ्यसँग पनि छ । त्यसैले चस्मा गुणस्तरीय हुनुपर्छ । यसले आँखामा सुरक्षा प्रदान गर्छ ।” उहाँले गर्मी मौसममा घामको पराबैजनी किरणलाई अवशोषित गर्ने क्षमता भएको सन ग्लास लगाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि सकेसम्म राम्रो र चलेको ब्रान्डको सन ग्लास छनोट गर्नुपर्छ । 

नेपाली बजारमा थुप्रै ब्रान्डका सन ग्लास पाइन्छ यद्यपि असली ब्रान्ड भने चिन्न सक्नुपर्छ । फुटपाथमा उपलब्ध हुने सन ग्लास गुणस्तरीय हुँदैन । नेपाली बजारमा गुची, रेबन, भरसिज, जारा, फुजी, क्रिस्टिन डाई, अर्मानी, पोलिस आदि ब्रान्डका सन ग्लास उपलब्ध छन् । 

कमसल वा पराबैजनी किरणलाई अवशोषित गर्ने क्षमता नभएको सन ग्लासले आँखालाई बेफाइदा गर्छ । तसर्थ चस्मा रोज्दा सकेसम्म गुणस्तरयुक्त रोज्नु राम्रो हुन्छ । चस्माको सिसामा अलिकति पनि पावर हुनु हुँदैन । निधारमा चस्मा अड्याएर राख्दा यसले फ्रेम खुकुलो बनाउँछ । चस्माको प्रयोग गर्दा आँखामा अल्ट्राभाइलेट रेको प्रभाव कम हुने र मोतीबिन्दु तथा आँखाको ढकनीको झिल्लीमा हुने क्यान्सरसमेत घटाउने चिकित्सकहरू बताउँछन् ।