• १३ साउन २०८१, आइतबार

हवाई दुर्घटनासम्बन्धी प्रतिवेदन : कार्यान्वयन नै हुँदैन सुझाव

blog

काठमाडौँ, साउन १३ गते । सरकारले हवाई दुर्घटना न्यूनीकरण गर्न अनेकौँ प्रयास गर्दै आए पनि अपेक्षित प्रगति हासिल हुन सकेको छैन । भौगोलिक अवस्थिति, मानवीय त्रुटि र प्राविधिक कमजोरीका कारण राज्यको आर्थिक स्रोत र जनशक्ति प्रयोग गरेर अध्ययन गरी उड्डयन क्षेत्रलाई सुरक्षित र विश्वासिलो बनाउनका लािग गरिएका प्रयास सार्थक हुन सकिरहेको छैन । 

हवाई दुर्घटनापछि पटक पटक जाँचबुझ आयोग र छानबिन समिति गठन हुन्छन् । जाँचबुझ संयन्त्रले दुर्घटनाको कारण पहिल्याउने र न्यूनीकरणका उपायसहित राज्यका संयन्त्रलाई निर्देशन पनि दिन्छन् तर यस्ता विमान दुर्घटनालगत्तै बन्ने जाँचबुझ आयोग र छानबिन समितिले बुझाउने प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन नहुँदा दर्दनाक दुर्घटनाका घटना दोहोरिने गरेका छन् ।

विभिन्न हवाई दुर्घटनापछि गठित आयोगले हालसम्म प्राधिकरणलाई ६०, पर्यटन मन्त्रालयलाई १४ र वायु सेवा कम्पनीलाई ५४ वटा सुझाव कार्यान्वयनका लागि सिफारिस गरिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गरेर आगामी दिनमा अपनाउनुपर्ने विषयबारे सुझावसहितको प्रतिवेदन बुझाए पनि उक्त प्रतिवेदन दराजमा थन्क्याएर राख्ने प्रवृत्तिमाथि नियमनकारी निकायको हस्तक्षेप शून्य जस्तै छ । कार्यान्वयन नहुने प्रतिवेदन बनाउन छानबिनका नाममा राज्यको स्रोतसाधन मात्रै खर्च हुने गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गठित जाँचबुझ आयोगले बिहीबारदेखि काम सुरु गरेको छ तर यसअघि गठित छानबिन समिति र आयोगका प्रतिवेदन सरकारी अड्डामा धुलो लागेको अवस्थामा भेटिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा प्रतिवेदन (एभिएसन सेफ्टी रिपोर्ट) अनुसार नेपालमा हालसम्मका दुर्घटनापछि 

गठन भएका आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएका सुझावमध्ये ५७ प्रतिशत सुझाव कार्यान्वयन गरिएको छैन । प्रतिवेदनमा प्राधिकरणलाई दिएका सुझावमध्ये ८५ प्रतिशत सुझाव कार्यान्वयनमा आए पनि १५ प्रतिशत सुझाव कार्यान्वयनमा नआएको उल्लेख छ । 

आइकाओको ध्यानाकर्षण 

यसै गरी हवाई कम्पनीलाई दिएकामध्ये दुई प्रतिशत सुझाव कार्यान्वयन गरिएको छैन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्दै आएको छ तर दुर्घटना न्यूनीकरण हुनुको साटो बढ्दै गएकाले कुनै न कुनै रूपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको विज्ञहरूको सुझाव छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले यसअघिका सुझाव र प्रतिवेदनले औँल्याएका समस्याको समाधान भए नभएकोबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हवाई दुर्घटना न्यूनीकरणका लागि जाँचबुझ आयोगलाई स्वतन्त्र नियमन निकायका रूपमा खडा गर्नु पर्छ । जाँचबुझ आयोगले दिएका निर्देशन र सिफारिस कुन तहसम्म कार्यान्वयन भएको छ वा किन कार्यान्वयन भएन भन्नेबारे नियमन निकायले हेर्नु पर्छ ।” उहाँले यसअघि बनेका आयोगले बुझाएका प्रतिवेदनमा उल्लेख गरिएका सुझावलाई सरकार, नियामक निकाय र सम्बन्धित वायु सेवा कम्पनीले कार्यान्वयनको पक्षमा जोड दिँदै पुनः त्यस्ता घटना नदोहोरिन समयमै समीक्षा गर्दै सरकारले ठोस नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले दुर्घटना जाँच आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने जिम्मेवारी नियामक निकाय र वायु सेवा कम्पनीको भएकाले प्राप्त सुझाव कार्यान्वयन गरे कि गरेनन् भनेर नियमन नै नभएको बताउनुभयो ।

यसै गरी नेपाल वायु सेवा निगमका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले आइकाओको मापदण्ड पूर्ण पालनासहित प्रतिवेदनमा प्रस्तुत सुझाव अक्षरशः कार्यान्वयन गर्नैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हवाई दुर्घटना न्यूनीकरणका लागि आइकाओको मापदण्ड पूर्ण पालना गर्न नियमनकारी निकायको दक्षता वृद्धि हुनुपर्ने देखिन्छ । हवाई सुरक्षाका लागि संरचनागत सुधारका काममा पनि सरकारले ध्यान दिनु पर्छ ।” हवाई क्षेत्रका विज्ञहरूले नेपालको आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्था, चालकदललाई दिने प्रशिक्षणबारे समेत अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।

स्थायी संयन्त्र आवश्यक : प्राधिकरण

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सन् २०२३ सम्म नेपालमा भएका १०७ दुर्घटनापछि गठन भएका जाँचबुझ आयोगले प्राधिकरणलाई दिएको सुझावमध्ये ८५ प्रतिशत सुझाव कार्यान्वयन भएको बताउनुभयो । उहाँले बाँकी १५ प्रतिशत सुझाव मौसम विभागलगायतका संस्थासँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्घटना न्यूनीकरणका लागि ४५ दिनको सीमा तोकेर बन्ने आयोगको आफ्नै अस्तित्व नभएकाले दुर्घटना भएपछिको अनुसन्धानका लागि मात्रै नभएर दुर्घटना हुन नदिन स्थायी संयन्त्र आवश्यक देखिन्छ ।” उहाँले सुझाव सिफारिसका लागि स्वतन्त्र, स्वायत्त, स्रोत, साधन र दक्ष जनशक्ति भएको स्थायी संयन्त्र हुनुका साथै विगतका घटना र प्रगतिलाई निगरानीमा राख्ने हैसियतको हुनुपर्ने बताउनुभयो ।

सुझाव लागु भइरहेको छ : मन्त्रालय

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रवक्ता हेमराज तामाङले दुर्घटना आयोगले दिएको विषयले मात्रै दुर्घटना नहुने बताउँदै अहिलेसम्मका जाँचबुझ आयोगले दिएका निर्देशन र सुझाव पालना हुँदै आएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का अनुसार प्रतिवेदन परिपालनाको समय यतिभित्रै गरिसक्नुपर्छ भन्ने स्पष्ट निर्देशन छैन । जाँचबुझ आयोगले निर्देशन गरेका सिफारिसलाई नियामक निकाय र वायुसेवा कम्पनीले गहन अध्ययनपछि सुझाव लागु गर्दै आएका छन् ।”

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।